पोस्टपेडको बिलिङबारे टेलिकमद्वारा स्पष्ट



काठमाडौं, (नेस) ।

नेपाल टेलिकमले जीएसएम पोस्टपेड मोबाइलको बिलिङ प्रणालीका सम्बन्धमा प्रयोगकर्तालाई प्रष्ट पारेको छ । कम्पनीका अनुसार पोस्टपेड मोबाइल प्रयोगकर्ताले प्रत्येक महिना न्यूनतम् ३८३ दशमलव शून्य ७ रुपियाँ रेन्टल शुल्क तिर्नुपर्दछ । यसको अर्थ ग्राहकले योभन्दा थोरै रकमको सुविधा प्रयोग गरे पनि रेन्टलवापत त्यतिनै रकम तिर्नुपर्छ । यद्यपि, कम्पनीले उपलब्ध गराएको कर्पोरेट युजर ग्रुप (सीयूजी) अफर वा अन्य विशेष पोस्टपेड अफर लिएका ग्राहकको हकमा भने यो रकम फरक हुनसक्छ ।

पोस्टपेड मोबाइल प्रयोगकर्ताले धेरै सुविधा उपयोग गर्ने भएकाले यो व्यवस्था पहिलेदेखि नै गरिएको कम्पनीको दाबी छ । रेन्टल चार्ज वापतको रकम पोस्टपेड प्याक खरिद गर्न, कुनै पनि प्याक खरिद नगरी फोन गर्न, एसएमएस गर्न वा डाटा चलाउन पाइन्छ ।

त्यस्तै पछिल्लो समयमा टेलिकमले उपलब्ध गराइरहेका विभिन्न प्याक प्रयोग गर्दा यो रेन्टल चार्जभन्दा छुट्टै रकम काटिन्छ । सस्तो दरका डाटा र भ्वाइस प्याक उपलब्ध भएकाले ग्राहकले यो रेन्टल चार्ज वापतको रकममा खासै ध्यान नगएको देखिएको छ । नेपाली महिनाको अन्त्य अर्थात् अंग्रेजी महिनाको १५ तारिखमा पोस्टपेड मोबाइलको बिल हिसाब हुन्छ । यो अवस्थामा महिनामा थोरै मात्र रकम प्रयोग गरेको भए पनि रेन्टल शुल्क जोडेर त्यो महिनाको हिसाब हुन्छ । कुनै ग्राहकले महिनामा सय रुपियाँ मात्र प्रयोग गरेको भए पनि रु। ३८३ दशमलव शून्य ७ रुपियाँ नै काटिन्छ । आफ्नो २८३ दशमलव शून्य ७ रुपियाँ कता हरायो भनी झुक्किएको पाइन्छ ।

पोस्टपेड मोबाइल प्रयोगकर्ताले २ सयको प्याक प्रयोग गरेको छ भने प्याक वापतको २ सय र रेन्टल चार्ज वापतको ३८३ दशमलव शून्य ७ गरी ५८३ दशमलव शून्य ७ रुपियाँ तिर्नुपर्छ । मानौ, १४ तारिखका दिन ग्राहकको मोबाइलमा बाँकी रकम ४ सय रुपियाँ थियो भने सो रकम समेत काटिएर थप १८३ दशमलव शून्य ७ रुपियाँसमेत तिर्नुपर्ने हुन्छ । पोस्टपेड प्याक लिंँदा ग्राहकले रेन्टल चार्जवापतको रकम पनि प्याक खरिदमा उपयोग गर्नसक्ने भएकाले ग्राहक झुक्किने सम्भावना हुँदैन । सो प्याक प्रयोग गरी कम्पनीको नेटवर्कभित्र र बाहिर कल गर्न, एसएमएस पठाउन र डाटा चलाउन सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्