कांग्रेसको एजेन्डा हिन्दुराष्ट्र नेपाल : कोइराला



हरिहर नेपाल, विराटनगर ।

नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले आगामी निर्वाचनमा कांग्रेसले बहुमत ल्याए नेपाललाई हिन्दुराष्ट्र बनाउने बताउनुभएको छ । विराटनगरस्थित कोइराला निवासमा पत्रकारहरुसँग कुराकानी गर्दै कांग्रेसको आगामी महाधिवेशनमा समेत हिन्दुराष्ट्रका विषयमा छलफल हुने उल्लेख गर्नुभयो ।

सडकमा केही व्यक्ति कराउँदैमा राजतन्त्र नफर्किने बताउँदै उहाँले नेपालमा हिन्दुराष्ट्र आवश्यक रहेको बताउनुभयो । आगामी निर्वाचनमा कांग्रेसले बहुमत ल्याएमा जनमत संग्रहमार्फत हिन्दुराष्ट्र घोषणा गर्ने उहाँको भनाइ थियो । वर्तमान सरकार पूर्णरूपमा असफल भइसहेको बताउँदै महामन्त्री कोइरालाले राजीतिक बाध्यताका कारण कांग्रेस सडकमा आउनुपरेको उल्लेख गर्नुभयो । कांग्रेसको आन्दोलन शुरु मात्र भएको कोइरालाको भनाइ छ । सरकार नसच्चिए आन्दोलनको थप आँधिबेहरी सिर्जना गर्ने चेतावनीसमेत उहाँले दिनुभयो ।

त्यस्तै, पार्टीको विषयमा धारणा राख्दै उहाँले आगामी फागुनमा कांग्रेसको महाधिवेशन नहुने प्रस्ट पार्नुभयो । जेठ अन्तिम साता महाधिवेशनको मिति तय गर्ने तयारी भइरहेको उहाँ बताउनुहुन्छ । उहाँले संस्थापनइतर समूहबाट सभापतिका लागि धेरै जना दौडमा रहे पनि अन्तिममा एक जनाले मात्रै उम्मेदवारी दिने बताउनुभयो । शेखर कोइराला र आफूमध्ये एक मात्रै उम्मेदवार हुने उहाँको कथन छ । कोइराला परिवारबाट नेतृ सुजता कोइरालाले पनि सभापतिमा दाबी गर्दै आउनुभएको छ ।

नेकपा फुटि हाल्यो भने पनि कांग्रेस सरकारमा गएर हैन बाहिरै बसेर समर्थन गर्ने कोइरालाको भनाइ छ ।

‘मंसिरसम्ममा जिल्ला–जिल्लाबाट क्रियाशील सदस्यता आइपुग्नुपर्नेमा अहिलेसम्म कतैबाट पनि नआएको र त्यसको छानबिन गर्न कम्तीमा तीन महिना लाग्छ’, उहाँ भन्नुहुन्छ– ‘क्रियाशील सदस्यको टुंगो लागेपछि मात्र मतदाता नामावली बन्छ । त्यसपछि जेठ अन्तिम साता वा असार पहिलो साताभित्र महाधिवेशन गर्नुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्