खानादेखि छानासम्म बने विकेश



कोरोना भाइरसको महामारीबाट मकवानपुर जिल्ला मात्र किन अछुतो हुन सक्थ्यो र १ मकवानपुरका धेरै मजदुर, आर्थिकरूपले विपन्न र असहाय नागरिकलाई कोरोना महामारीले बढी नै सतायो । तर, सबै मिलेर समस्याको समाधान गरे स्थानीय नागरिकले । असहायका लागि देवदूतजस्तै बने हेटौंडा–१ का ३३ वर्षीय युवा विकेशलाल श्रेष्ठ ।

कोरोना भाइरसका कारण सरकारले समेत झ्यालढोका थुनेका बेला विकेश भने डर र त्रासलाई एकातिर पन्छाउँदै भोको पेटको खाना बन्न पुगे, घर नभएकाका लागि छाना बन्न पुगे र आँखा नभएकाको दृृष्टि बन्न पुगे । उसो त उनी अन्य समयमा पनि सामाजिक कार्यबाट पछि हट्ने युवा होइनन् । तर, कोरोना भाइरसजस्तो महामारीबाट डराएर सबै कतै कुनामा बस्दा उनी घरबाट बाहिर निस्केर बेसहाराको सहारा बने ।

घरमा नाबालिक छोरीलाई छाडेर बुबाआमा र पत्नीले महामारीको समयमा घरबाहिर नजान गरेको आग्रहलाई समेत बेवास्ता गर्दै रोग र भोकको अभाव र दबाबमा बाँचिरहेका कयौं बुबाआमा र तिनका छोराछोरीका लागि खाना लिएर निस्किने गरेका उनले अमेरिकामा रहँदै आएका नेपालीको एक सस्ंथाबाट हिरो अवार्डसमेत प्राप्त गरिसकेका छन् । कोरोना न्यूनीकरणका लागि सरकारले गरेको लकडाउनको पाँच दिन घरभित्र रहेका उनी छैठौं दिनबाट भोकाहरुका लागि दाल र चामललगायत खाद्यान्न जुटाउन लागिपरेका थिए । उनी आफ्नो र परिवारको पर्वाह नगरी भोकाहरुका लागि राहत वितरण गर्न निस्कँदा कति छाक आफू भोकै बसेको बताउँछन् । ‘दिनभर राहत वितरण गरेर बेलुका घर फर्कन्थें, रोग आफ्नो हुँदैन । मनमा डर थियो । त्यसैले सानी छोरीलाई काखमा राख्न मन हुँदाहँुदै पनि पर बस्ने गर्थें । तीन दिनसम्म त घरमा खाना पनि खाइनँ ।’ –उनले भने ।

विकेश केही वर्षदेखि सामाजिक क्षेत्रमा सक्रिय छन् । उनी केही वर्षअघि लन्डनबाट फर्किएर आफ्नै व्यावसायिक क्षेत्रमा छन् । विकेश व्यावसायिकरूपमा भन्दा पनि सामाजिक व्यक्तित्वका रूपमा परिचित छन् । उनले फेसबुकमा सामाजिक कार्यबारे केही न केही शब्द राखिरहेका हुन्छन् जसका कारण उनलाई म्यासेन्जरमा दैनिकजसो केही न केही सहयोग गर्नुप¥यो भन्दै म्यासेज आउने गरेका छन् ।

भोकाको भोजन

कोरोना नियन्त्रणका लागि सरकारले लकडाउन गरेपछि दैनिक ज्यालादारी गरेर छाक टार्नेहरु समस्यामा परेको चाल पाएपछि विकेश उनीहरुलाई खाद्यान्न वितरण गर्न लागिपरे । शुरुमा फेसबुकमा आफूले त्यस्ता व्यक्तिका लागि राहत वितरण गर्ने योजना बनाएको जानकारी गराएपछि धेरैले विकेशको अभियानमा साथ दिए । कतिले आर्थिकरूपमा त कतिले हौसलाका रूपमा । कोरोना कहरले गर्दा दैनिक गुजारा चलाउन समस्यामा परेका ३ सय ४७ घरधुरीलाई उनले खाद्यान्न सहयोग गरेका थिए । विकेशले हालसम्म आफ्नो दुई लाख ३० हजार र सहयोग प्राप्त २ लाख ३७ हजार रुपियाँ गरी ४ लाख ६७ हजार बराबर खाद्यान्न सहयोग गरिसकेको बताए ।

बिरामीलाई एम्बुलेन्स

विकेशले अस्पतालहरुमा पुगेर एम्बुलेन्स व्यवस्था गरेका थिए । बिरामीको अवस्था नाजुक देखेपछि नगदसमेत सहयोग गरे । हेटौंडामा सधैंजसो बिरामी बोक्ने एम्बुलेन्सचालकको आनाकानी हुने गरेको छ । हेटौंडामा रहेका अस्पतालमा उपचार हुन नसके रिफर गरिएका बिरामी बाहिरी जिल्लाका अस्पताल लैजान एम्बुलेन्स पाउनै मुस्किल पर्ने विगत देखिकै समस्या हो ।

बिरामीको अवस्था नाजुक भएर एम्बुलेन्सचालकलाई सम्पर्क गर्दा चालकले विभिन्न बहाना बनाउने र नआउने समस्याले सताइरहेको हेटौंडामा रौतहटका ४० वर्षीया महिलालाई काठमाडौं लैजान एम्बुलेन्स आवश्यक थियो । सोहीे स्थानमा सामाजिक अभियन्ता विकेशलाल पुगे, विभिन्न स्थानमा फोन गरेर राति ११ बजे एम्बुलेन्स व्यवस्था भयो । बिरामीको अवस्था नाजुक देखेपछि एम्बुलेन्स व्यवस्था गराइनुका साथै उनले नगद ४ हजार ५ सय रुपियाँ सहयोग गरे । सहयोगपश्चात् उनले एम्बुलेन्स समस्याका विषयमा चर्चा गर्दैगर्दा जिल्ला प्रशासन कार्यालयले चासो देखाएको थियो । उनले उठान गरेको विषयलाई प्रमुख जिल्ला अधिकारीले आकस्मिक बैठक बोलाएर समस्या समाधानतर्फ लागेका थिए ।

बास नभएका लागि घर

विकेश पहलमा हेटौंडा–१ भैरवडाँडाका पाण्डु विकले नयाँ घर पाएका थिए । जीर्ण घरमा कष्टपूर्ण ढंगले बस्दै आएका विकको घर निर्माणका लागि श्रेष्ठले पहल गरेका थिए । शौचालयसहित दुईकोेठे पक्की घर निर्माण गरी हस्तान्तरण गरिएको थियो । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवं पार्टी मकवानपुर सभापति इन्द्रबहादुर बानियाँले विकलाई घर हस्तान्तरण गरेका थिए । घर निर्माणपछि तीन जनाको परिवारको दैनिकी सहज भएको भन्दै विकले खुसी व्यक्त गर्दै विकेशलगायतलाई धन्यवाद दिएका थिए । घर निर्माणका लागि २ लाख ४४ हजार १ सय ३६ रुपियाँ खर्च भएको थियो ।

आँखाको दृष्टि

हेटौंडा–१७ राजदेवीका ६ वर्षीय सन्तोष कार्कीको उपचारका लागि उनले आर्थिक सहयोग गरेका थिए । दाजुभाइ खेल्ने क्रममा आँखामा चोट लागेर गम्भीर अवस्थामा पुगेका कार्कीलाई उपचार गर्न आर्थिक समस्या भएकाले विकेश र हेटौंडा–६ को शान्ति टोल निवासी मिलन सापकोटाले रकम सहयोग गरेका थिए । बालकलाई सामुदायिक आँखा अस्पताल हेटौंडामा उपचार सम्भव नभएपछि थप उपचारका लागि काठमाडौं रिफर गरिएको थियो भने विकेशले जानकारी गराएर काठमाडौं पठाउन जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक सुजन पाठकले गाडीको समन्वय गरेका थिए ।

मिसनलाई आर्थिक सहयोग

टाउकोसम्बन्धी समस्याबाट ग्रसित १४ वर्षीय बालकलाई उनले आर्थिक सहयोग गरे । विकेशले सहयोगी हातहरुको सहकार्यमा हेटौंडा–१३ पदमपोखरीका बालक मिसन क्षेत्रीलाई १ लाख १० हजार नगद सहयोग गरेका थिए । आर्थिक अभावमा बालक हेटौंडा अस्पतालमा रोगसँग लडिरहेको जानकारी पाएपछि व्यक्तिगतरूपमा १० हजार ५ सयसहित सहयोगी दाताहरुको सहकार्यमा रकम संकलन गरी पीडित बालकका परिवारलाई नगद १ लाख १० हजार सहयोग गरिएको हो । हेटौंडा अस्पतालका बालरोग विशेषज्ञ डा। हरिबहादुर खड्कासँग बुझ्दा बालकको शल्यक्रिया गर्नुपर्ने र यसका लागि १ लाख ५० हजार भन्दा बढी लाग्ने जानकारी पाएपछि उनले दाताहरुबाट सहयोग जुटाएका थिए ।

यी हुन् कोरोना कहरको समयमा विकेशले देखाएका उत्साहका नमुना कार्यहरु । हेटौंडामा युवाले आयोजना गर्ने जुनसुकै कार्यक्रममा पनि उनको उपस्थिति रहने गर्दछ । उनलाई हेटौंडाका धेरै किशोर–किशोरी र युवाले अभिभावकका रूपमा हेर्ने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्