बजेट र मौद्रिक नीति कार्यान्वयन गर्न माग



नेपाल समाचारपत्र, काठमाडौं
प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीहरूले भेटर्वार्ता गरेका छन् । महासंघका अध्यक्ष शेखर गोल्छाको नेतृत्वमा गएको महासंघका पदाधिकारीहरू सम्मिलित प्रतिनिधिमण्डलले प्रधानमन्त्रीसमक्ष महासंघको नयाँ नेतृत्वले निजी क्षेत्र र समुन्नत मुलुक निर्माणका लागि भिजन पेपर तयारीमा लागेको बताउनुभयो । अध्यक्ष गोल्छाले कोभिडका कारण मुलुकको आर्थिक विस्तारमा निकै ठूलो समस्या आएकाले अबका दिनमा समग्र अर्थतन्त्रको सुदृढीकरणका लागि महासंघले विज्ञसमेतको सहयोगमा आवश्यक गृहकार्य गरिरहेको जानकारी गराउनुभयो ।
अध्यक्ष गोल्छाले केही समयदेखि उद्योगहरूमा विभिन्न माग राखेर उद्योग बन्द गर्ने कार्य भएको, जिल्लाका उद्यमी व्यवसायीहरूबाट चन्दा आतंक बढेको गुनासो आएको, काम गर्ने वातावरण नभएको र व्यावसायिक मनोबल समेत घट्दै गएकाले सरकारले समयमै यसतर्फ उचित कदम चाल्नुपर्ने सुझाव राख्नुभयो । बजेट र मौद्रिक नीतिले उद्यमी व्यवसायीका केही माग सम्बोधन गरेको भए पनि धेरैजसो कार्यान्वयन हुन नसकेकाले नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनसहित कोभिड पुनरूत्थान विशेष कार्यक्रमको आवश्यकतामाथि जोडसमेत दिनुभयो ।
सो अवसरमा महासंघका नवनिर्वाचित पदाधिकारीहरूलाई बधाई दिनुहुँंदै प्रधानमन्त्रीले मुलुकको आर्थिक सुदृढीकरणका लागि महासंघको नवनिर्वाचित टिमले अगाडि सारेको कार्ययोजनाको स्वागत गर्नु हुँदै सरकारले गर्नुपर्ने सहयोगका लागि आफू सधैं तयार रहेको विश्वास दिलाउनुभयो । तपाईहरू उद्योग व्यवसायमा लाग्नुहोस्, के सहयोग गर्नुपर्छ । म आफंै पनि र उद्योग मन्त्रालयका तर्फबाट समेत तपाईहरूलाई चाहेको सहयोग हुन्छ, प्रधानमन्त्रीले भन्नुभयो । साथै प्रधानमन्त्री ओलीले व्यावसायिक एकता र सहकार्यमा पनि जोड दिनुभयो । साथै उहाँले स्वदेशी उत्पादनको प्रवद्र्धनमा लाग्नसमेत आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्