बढ्दो लापरबाही



सरकारले कोभिड–१९ संक्रमण नियन्त्रणको अवस्थामा नपुग्दै बढी भीडभाड हुने क्षेत्र खुला गर्न थालेको छ । कोभिड रोग संक्रमण विज्ञले नेपालमा दोस्रो तहको संक्रमण बढ्नसक्ने चेतावनी दिएकै अवस्थामा बिनातयारी भीडभाड हुने क्षेत्र खुला गर्न थालिएको छ ।

यद्यपि नेपालमा कोरोनाले जति व्यापक स्वरूप लिएको छ, असरका दृष्टिले कठोर भने छैन । घर–घरमा कोरोना भाइरस पुगेर पनि यसका कारण हताहत हुनेको संख्या जति आँकलन गरिएको थियो, त्यसअनुसार देखिन्न, जो सकारात्मक हो । तर, यसले कुनै पनि क्षण कठोर परिणाम देखाउन सक्ने त्रास भने टरिसकेको छैन ।

राजधानीस्थित चिडियाघर बिहीबारदेखि खुला गरिएको छ । अधिकांश स्थानीय तहले विद्यालय खुला गरिसकेका छन् । राजधानी समेट्ने जिल्ला ललितपुर र काठमाडौंले विद्यालय खोल्ने तयारी गरिरहेका छन् ।

ललितपुर महानगरपालिकाले वडाको सिफारिसमा विद्यालय खोल्न सक्ने जनाइसकेको छ । सबै निकायले कडा स्वाथ्य मापदण्ड पालना गरेर मात्र भीडभाड हुने क्षेत्र खुला गरेको जनाएका छन् । सरकारले ती क्षेत्र खुला गर्न अनुमति दिए पनि अनुगमन ठप्प प्रायः छ । यसअघि खुलेका सार्वजनिक साधनमा यात्रु मास्कबिना नै कोचाकोच सवार भएका देखिए ।

पार्टी प्यालेसमा सयौंको उपस्थितिमा भोजभतेर भइरहेको छ । खाना खान मास्क खोल्नैपर्ने र सामाजिक दूरीका लागि स्थानाभाव हुने भएकाले यस्ता ठाउँहरु संक्रमणका स्रोत बनेका छन् । कतिपय विद्यालयले स्वाथ्य मापदण्डबिनै पढाइ सञ्चालन गरिरहेका छन् ।

बजार, सपिङ मलहरु सबै खुलिसकेका छन् । होटेलले व्यवसाय शुरु गरिसकेका छन् । खुल्न बाँकी सिनेमा हल र थिएटर केही दिनमा खुला गर्ने तयारी भइरहेको छ ।

यसरी हेर्दा मानौं नेपालमा कोरोना भाइरसको संक्रमण हटिसकेको छ । अहिले सरकारले कोरोना परीक्षणको दर घटाएको कारण संक्रमितको संख्या घट्दै गएको छ । परीक्षण नै गराउन छाडेका कारण संक्रमितको संख्या घटेको अड्कल छ ।

कतिपय क्षेत्रले त सरकारीे निर्देशनको अटेर गरी मनोमानीरूपमा व्यवसाय खोल्दै गएका छन् । सरकारले कोरोना भ्याक्सिन ल्याउने विषयमा कुनै निर्णय गर्न सकेको छैन । धनी देशले आफ्ना जनतालाई

भ्याक्सिन दिन शुरू गरिसकेका छन् । उता चिकित्सकहरु कोरोना संक्रमणको अवस्था भयावह हुन सक्ने आँकलन गरिरहेका छन् । अर्कोतिर भ्याक्सिन कहिले नेपालीले पाउनेछन् भन्ने टुङ्गो छैन ।

कोरोना संक्रमण बढ्न सक्ने खतराको घण्टी बजिरहेको छ । हामीलाई कोरोना छैन भनेर यसलाई सामान्यरूपमा लिनु घातक हुन सक्छ । नागरिकमा आज चेतनाको कमीभन्दा पनि अटेरपन बढेको छ । सरकारले तोकेको मापदण्ड पूरा नगरी मनपरीरूपमा व्यवसाय खुला गर्ने प्रवृत्ति बढेको छ ।

निष्कर्षमा व्यवसाय खुला गर्नु अनिवार्य आवश्यकताको विषय बनेको छ, तर जुन स्तरमा सतर्कता अपनाउन सकिन्थ्यो, नअपनाउनुचाहिँ बिडम्वना हो । हप्तौंसम्म मैलो मास्क चिउँडोमुनि अड्काएर कोरोनाबाट बच्न सकिने होइन । कम्तीमा फ्रिजको चिसो नखान, आफैंलाई कोरोना संक्रमितसरह भिन्न राखेर बस्न, तातो पानीको बाफ लिन र न्यानो रहन सकिन्छ । लापरबाहीले भयानक परिणाम ल्याउने खतरा छ ।

प्रतिक्रिया दिनुहोस्