आयात घट्दा पनि वीरगन्जबाट साढे ६ अर्बका गाडी भित्रिए



कृष्णउदास खनाल, वीरगन्ज

प्रमुख नाका वीरगन्जबाट चालू आर्थिक वर्ष २०७७/७८ को पहिलो चौमासिक अवधिमा साढे ६ अर्ब रुपियाँ बराबरका सवारी साधन भित्रिएका छन् । चालू वर्षको साउनदेखि कात्तिकसम्ममा ६ अर्ब ५५ करोड रुपियाँ बराबर मूल्यका विभिन्न सवारी साधन आयात भएको वीरगन्ज भन्सारले जनाएको छ ।

चालू वर्षमा आयात भएको सवारी साधन गत वर्ष २०७६÷७७ को समीक्षा अवधिको तुलनामा निकै कम हो । गत वर्षको पहिलो चार महिनाको तुलनामा यो वर्ष गाडी आयात करिब ४ अर्ब रुपियाँले घटेको भन्सार अधिकृत रमेश सुकमनीले जानकारी दिनुभयो । आयातकर्ताले वीरगन्ज नाकाबाट गत वर्ष शुरुआतका ४ महिनामा १० अर्ब ४४ करोड रुपियाँ मूल्यबराबरका गाडी ल्याएका थिए ।

वीरगन्ज गाडी आयात हुने मुख्य नाका हो । हलुका सवारी साधनको आयात करिब आधामा खुम्चिएको छ । अघिल्लो वर्षको पहिलो ४ महिनामा २ हजार ९२२ ओटा जीप, कार र भ्यान भित्रिएका थिए । यो वर्ष १ हजार ५१० वटा मात्रै आएको भन्सारको तथ्यांकले देखाएको छ ।

मोटरसाइकल आयात २७ प्रतिशत घटेको छ । यो वर्ष २१ हजार मोटरसाइकल आयात भएको छ । यो संख्या अघिल्लो वर्ष ३३ हजार ४२२ थियो । ट्रक र मिनी ट्रकको आयात पनि घटेको छ ।

गत वर्ष साउनदेखि कात्तिकसम्ममा ४६८ वटा यस्ता साधन आयात भएकोमा यो वर्ष २८२ मा खुम्चिएको छ । अघिल्लो वर्ष ४ महिनामा ९९ वटा मिनी बस आयात भएकोमा यो वर्ष ५ वटामात्र आएको भन्सारको तथ्यांकले देखाउँछ ।

वीरगन्ज नाकाबाट १३ प्रकारका सवारी साधन आयात भएको छ । सबै साधनको आयात घटेको छ । यो नाकाबाट भित्रिएका साधानमा १६ देखि ९७ प्रतिशतसम्म कमी आएको छ । सबै खालका सवारी साधनको आयातमा उल्लेख्य कमी आएको अधिकृत सुकमनीले बताउनुभयो ।

सरकारले महँगा गाडी आयातमा लिएको नीतिगत कडाइ, ऋण सीमा र कोरोना संक्रमणका कारण देखिएको बजार मन्दीका कारण गाडी आयात घटेको हो ।

प्रतिक्रिया दिनुहोस्