हाटबजार बन्द हुँदा तरकारी मूल्य महँगो



कृष्णउदास खनाल, वीरगन्ज

पर्साको ठोरी गाउँपालिकाभित्र लाग्ने हाट बजार सञ्चालन नहुँदा स्थानीयबासी महँगो मूल्यमा तरकारी किन्न बाध्य भएका छन् ।

गाउँपालिकाभित्र साप्ताहिक लाग्ने हाट बजार कोरोना भाइरसको कहर शुरु भएयता बन्द भएपछि स्थानीयहरु महँगो मूल्यमा तरकारी खरिद गर्न बाध्य भएका हुन् । कोरोना कहरका कारण हाट बजार बन्द भएपछि गाउँघरमा साइकलमा राखेर तरकारी व्यापार गर्ने व्यापारीले महँगो मूल्यमा तरकारी बेच्ने गरेको स्थानीयको गुनासो छ ।

भारतीय सिमावर्ती बजार भङ्गाहा र जीरा भवानी गाउँपालिकाको सेढवामा काउली प्रतिकिलो ३० रुपियाँदेखि ४० रुपियाँसम्म किन्न सकिने भए पनि गाउँघरमा साइलकमा राखेर बिक्री गर्ने व्यापारीले ८० रुपियाँ प्रतिकिलोसम्म लिने गरेको ठोरी गाउँपालिका वडा नम्बर ४ का स्थानीय सूर्य श्रेष्ठले बताउनुभयो ।

उहाँले हाटबजार सञ्चालन नहुँदा तरकारीको मूल्य आकाशिएको बताउनुभयो । साप्ताहिक हाट बजारमा व्यापारीको प्रतिस्पर्धाको कारण तरकारीको मूल्य सस्तो हुने भए पनि गाउँघरमा व्यापारीको प्रतिस्पर्धा नहँुदा मूल्य महँगो हुने गरेको अर्का स्थानीय कान्छा तामाङले बताउनुभयो ।

तामाङले सिमावर्ती भङ्गाहामा टमाटर ६० रुपियाँ प्रतिकिलो किन्न सकिने भए पनि गाउँघरमा अहिले १ सय रुपियाँभन्दा बढि मुल्य तिरेर किन्नुपर्ने अवस्था भएको बताउनुभयो । विशेषगरी कोरोना रोकथाम र नियन्त्रणका लागि सरकारले भारतसंँगको सिमा नाका बन्द गरेपछि लामो समय भारतीय तरकारी व्यापारीहरु ठोरी जान नपाएका हुन् ।

ठोरीका सबैजसो हाट बजारमा भारतीय व्यापारीले तरकारी र फलफूल बिक्री गर्ने गरेका छन् । केही साता यता भने सिमा क्षेत्र सहज बन्दै गएपछि विस्तारै भारतीय व्यापारीहरुको चहलपहल बढ्न थालेको छ । तर, हाट बजार सञ्चालन नहुँदा व्यापारीले साइकलमा राखेर तरकारी बिक्री गर्ने गरेका छन् । छिटपुट भित्रिएका भारतीय व्यापारीले गाउँघरमा तरकारी महँगो मूल्यमा बिक्री गरिरहेको स्थानीयको गुनासो छ।

ठोरीको सुर्वणपुरमा आइतबारका दिन र बाघमोर्चामा बिहीबारका दिन साप्ताहिक हाट लाग्ने गरेको थियो । यस्तै साताको मंगलबार वडा ४ को आठघरेमा र शनिबार त्यही वडाको विजयवस्ती चोकमा हाट बजार लाग्ने गरेको थियो । तर, मुलुकमा कोरोना नियन्त्रणका लागि गत वर्षको चैतमा सरकारले लकडाउन गरेयता ठोरीका सबै हाट बजार बन्द भएका हुन् । उता ठोरीसँंगै सिमाना जोडिएका जीराभवानी, जगरनाथपुरलगायतका गाउँपालिकामा भने निर्वाध रुपमा साप्ताहिक हाट बजार सञ्चालनमा छन्।

प्रतिक्रिया दिनुहोस्