निर्यातमुलक उद्योग पुर्नउत्थान गर्न जोड



नेपाल समाचारपत्र, काठमाडौं

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले कोभिडपश्चात उद्योग व्यवसायसहित समग्र अर्थतन्त्रको पुनरूत्थानका लागि सुझावहरू तयार गर्ने कार्यको शुरूवात गरिएको बताउनुभएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयद्वारा आयोजित कार्यक्रममा अध्यक्ष गोल्छाले समग्र अर्थतन्त्रको सुदृढिकरणका लागि आफनो आगामी कार्ययोजनाबारे जानकारी गराउँदै सो जानकारी दिनुभएको होे । अध्यक्ष गोल्छाले अन्तराष्ट्रिय संस्थाको समेत सहयोगमा मुलुकको भिजन डकुमेन्ट तयार गर्ने कार्यलाई अगाडि बढाएको र डकुमेन्ट तयारीपछि सरकारबाट स्वीकृत गराई सहकार्यमा लगिने बताउनुभयो ।

विभिन्न कारणले यतिवेला गुमनाम हुन पुगेका कुनै समयका नेपालका स्थापित निर्यातमुलक उद्योगहरू जस्तो गार्मेन्ट, पश्मिना, गलैंचालगायतका उद्योगहरूको पुर्नउत्थान गरी युवाहरूलाई रोजगारी दिनसके प्रतिवर्ष ठूलो परिमाणमा भारततर्फ जाने विप्रेषणसमेत रोक्न सकिन बताउनुभयो । अध्यक्ष गोल्छाले भन्नुभयो–‘मौद्रिक नीतिमार्फत साना उद्यमी व्यवसायीका लागि दिइएका सुविधाहरू कार्यान्वयनमा मन्त्रालयले समन्वय गरिदिन पनि आग्रह गर्नुभयो । साथै उहांँले दोहोरो करका कारण स्थानीय तहमा उद्योग व्यवसाय थप समस्या परेको पनि ध्यानकर्षण गराउनुभयो । लामो समयदेखि बन्द चलचित्र उद्योगहरू स्वास्थ्यका सबै प्रोटोकलहरू कायम गरी अविलम्व सञ्चालन गर्नुपर्नेमा पनि जोड दिनुभयो ।

सो अवसरमा महासंघका तर्फबाट अहिलेको संकटमा लगानी ल्याउन र लगानी गर्न चाहनेलाई सहज र सरल तरिकाले लगानी भित्रयाउने वातावरण बनाउनु पर्ने, निर्यात प्रवद्र्धनका लागि विशेष प्याकेज आउनु पर्ने, साना तथा मझौला व्यवसायको दर्ता प्रक्रियामा निकै धेरै समस्या रहेकाले कुनै एक निकायमा दर्ता भइसकेको व्यवसायलाई अन्यत्र दर्ता गर्न नपर्ने व्यवस्था हुनुपर्ने, ऐन कानुनसँगै नियमावली पनि ल्याइनुपर्ने, चेम्वर ल ल्याउनुपर्ने, उद्योग व्यवसायमा हड्ताल नहुने सुनिश्चितता गराउनुपर्ने, सीएसआरबाट उठेको रकममा केही हिस्सा उद्योग वााणिज्य संघहरूको संस्थागत विकासमा खर्च गर्ने गरी दिने व्यवस्था गरिनुपर्ने लगायतका सुझावहरू राखिएको थियो । सो अवसरमा वाणिज्य सचिव वैकुण्ठ अर्यालले मन्त्रालयले सधै महासंघसँंगको सहकार्यलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभयो ।

त्यस्तै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले महासंघका पदाधिकारीहरूबाट आएका सुझावहरू निकै महत्वपूर्ण रहेको र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले छिट्टै नै महासंघका लगायतका अन्य व्यावसायिक संघ÷संस्थाहरू, सरोकारवाला सरकारी निकायहरू समेतको सहभागितामा एक विशेष कार्यक्रमको आयोजना गरी उद्योग व्यवसायको विकासमा ठोस निश्कर्षमा पुग्ने योजना मन्त्रालयको रहेको समेत जानकारी गराउनुभयो ।

त्यस्तै नेपाल उद्योग वािणज्य महासंघका नवनिर्वाचित पदाधिकारीहरुलाई नेपाल उद्योग परिसंघले बिहीबार स्वागत तथा बधाई ज्ञापन गरेको छ । कार्यक्रममा बोल्दै परिसंघका अध्यक्ष सतिशकुमार मोरले महासंघको नयाँ नेतृत्वलाई बधाई दिँदै निजी क्षेत्रका दुई सशक्त संस्थाहरुबीच विगतदेखि नै विभिन्न आयामबाट सहकार्य रहँदै आएको स्पष्ट पार्दै नयाँ कार्यसमितिसँग महासंघसँगको सहकार्यलाई थप सुदृढ र मजबुत बनाउन आजको आवश्यकता रहेको बताउनुभयो ।

अध्यक्ष मोरले निजी क्षेत्रले भोग्दै आएका समस्या तथा समग्र आर्थिक नीतिहरुमा देखिने अस्पष्टता हटाउन हाम्रा प्रयासहरुलाई एकताबद्ध रुपमा संयोजन गर्न सकियो भने निजी क्षेत्रको विकास तथा दिगो औद्योगिक विकासको माध्यमबाट आर्थिक वृद्धिदर बढाउन योगदान पुग्ने उल्लेख गर्नुभयो ।

कार्यक्रममा महासंघका अध्यक्ष शेखर गोल्छाले राष्ट्रिय अर्थतन्त्रमा निजी क्षेत्रको भूमिका र योगदानको उजागर गर्दै निजी क्षेत्रका समस्याहरु उस्तै प्रकारका भए पनि कतिपय अवस्थामा उद्योगको वर्गिकरण र क्षमताका आधारमा समस्याहरु फरक पर्ने भएकाले निजी क्षेत्रले मध्यमार्गी बाटो अपनाई एकताबद्ध भई उद्योग व्यवसायको प्रवद्र्धन र विकासमा सहकार्य नै पहिलो प्राथमिकतामा रहेको बताउनुभयो । विगतमा पनि परिसंघसँग सहकार्य गर्दै आएको स्मरण गराउँदै निजी क्षेत्रको सामूहिक भिजन आजको आवश्यकता रहेको र त्यसलाई मूर्तरुप प्रदान गर्न निजी क्षेत्र एक भएर अगाडि बढ्नुपर्ने बताउनुभयो ।

आर्थिक पुनःउत्थान तथा औद्योगिक विकासको साझा एजेन्डामा परिसंघ र महासंघ मिलेर काम गर्ने बताउनुभयो । निजी क्षेत्रका संस्थाहरु प्रतिस्पर्धीभन्दा साझेदारको रुपमा भएकाले निजी क्षेत्रबाटै समृद्धि सम्भव छ भन्ने महशुस गराउन सहकार्यलाई थप विस्तार र सुदृढ गर्दै जाने बताउनुभयो ।

कार्यक्रममा परिसंघ र महासंघका पदाधिकारीहरुले उच्च आर्थिक वृद्धि, रोजगारी विस्तार, निर्यात बढाउने तथा व्यापार घाटा कम गर्ने लगायत निजी क्षेत्रको विकास तथा सम्मान बढाउने एजेन्डामा आपसी सहकार्यले परिणाम दिन सक्ने भएकाले त्यसतर्फ सहकार्य बढाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्