महासंघको कोषाध्यक्षमा हिराचन निर्वाचित



नेपाल समाचारपत्र, काठमाडौं

नेपाल उद्योग वाणिज्य महासंघको कोषाध्यक्ष पदको निर्वाचन भएसँगै महासंघको पदाधिकारी समितिले पूर्णता पाएको छ । सुकुन्तलाल हिराचन कोषाध्यक्षमा निर्वाचित भएसँगै पदाधिकारी समितिले पूर्णता पाएको हो ।

महासंघको विधानअनुसार निर्वाचित कार्यकारिणी समिति सदस्यहरू डीबी बस्नेत र सुकुन्तलाल हिराचनले कोषाध्यक्ष पदको लागि उम्मेद्वारी दिनुभएको थियो । कार्यकारिणी समितिका सदस्यहरुको मतदानको मत परिणामअनुसार सुकुन्तलाल हिराचन कोषाध्यक्षमा निर्वाचित हुनुभएको छ । नवनिर्वाचित कोषाध्यक्ष्ँ हिराचनले सोमबार पद तथा गोपनीयताको सफथ ग्रहण गर्नुभयो ।

यसैबीच नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले सोमबार नै अध्यक्षको पदबहाली गर्नुभयो । त्यसअघि महासंघका निमित्त महानिर्देशक मीना श्रेष्ठको नेतृत्वमा महासंघ सचिवालयका सम्पूर्ण कर्मचारीहरूले अध्यक्ष गोल्छालाई स्वागत गर्नुभएको थियो ।

पद बहालीपश्चात अध्यक्ष गोल्छाले सचिवालयका कर्मचारीलाई सम्बोधन गर्दै आफ्नो कार्यकाललाई सफल पार्न सचिवालयका कर्मचारीको महत्वपूर्ण भूमिका रहेकाले सचिवालयबाट सोही अनुसारको अपेक्षा आफूले गरेको बताउनुभयो ।

अध्यक्ष गोल्छाले भन्नुभयो–‘महासंघमा तपाईहरूको विज्ञता र तपाईहरूले दिने सेवा अमुल्य छ । राष्ट्रिय अर्थतन्त्रको सुदृढिकरणमा निजी क्षेत्रको भूमिकालाई प्रभावकारी बनाउंँदै जाने आफ्नो मुख्य लक्ष्य र उद्देश्य रहेकाले आफूले अगाडि बढाएका कार्ययोजनालाई प्रभावकारीरूपमा सम्पादन गर्न आग्रह गर्दछु । ’

अध्यक्षले अगाडि भन्नुभयो–‘उचित वातावरण भयो भने साधारणबाट पनि असाधारण काम लिन सक्ने कुराप्रति म पूर्ण विश्वस्त छु । सचिवालयलाई पूर्णरुपमा सुदृढिकरण गर्ने मेरो मुख्य प्राथमिकता रहेकाले सोही अनुसार वातावरण निर्माण गर्नेछु,’ कर्मचारीहरूको वृत्ति विकास, सचिवालयको प्रभावकारी सञ्चालन, सेवा सुविधालगायतमा पनि आफूले ध्यान दिई समग्रमा महासंघ सचिवालयलाई एक प्रोफेशनल अर्गनाइजेशकारूपमा सञ्चालन गर्ने पनि उहांले स्पष्ट पार्नुभयो ।

प्रतिक्रिया दिनुहोस्