टेलिकमको फोरजी सेवा ७७ जिल्लामा



काठमाडौं, (नेस)

नेपाल टेलिकमको फोरजी मोबाइल सेवाको पहुँच मुलुकका ७७ जिल्लामा पुगेको छ । मोबाइल सेवाको स्वाभाविक विशेषता अनुसार सेवाको गुणस्तरमा भौगोलिक अवस्था, धरातलीय अवस्था आदिले प्रत्यक्ष प्रभाव पार्ने हुनाले सेवाको गुणस्तरमा निरन्तर एकरुपता नहुन सक्ने नेपाल टेलिकमले जनाएको छ ।

कम्पनीको फोरजी सेवा १८ सय मेगाहर्ज (ब्यान्ड ३) र ८ सय मेगाहर्ज (ब्यान्ड २०) मा उपलब्ध छ । तुलनात्मक रुपले कम जनघनत्व र फराकिलो भुगोल भएका क्षेत्रमा ८ सय मेगाहर्ज र बढी जनघनत्व भएका क्षेत्रमा १८सय मेगाहर्ज ब्यान्डमार्फत फोरजी सेवा उपलब्ध भइरहेको छ ।

यसको अर्थ, फोरजी मोबाइल सेवाका कुनै पनि प्रयोगकर्ता एउटा ब्यान्डको फैलावट क्षेत्रबाट अर्को ब्यान्डको प्रभाव क्षेत्रमा प्रवेश गर्दा कम्पनीको नेटवर्कको पहुँचका अतिरिक्त प्रयोग गरिने मोबाइल सेटले ८ सय मेगाहर्ज र १८ सय मेगाहर्ज दुवै ब्यान्ड उपयोग गर्न सक्ने भएमा थप गुणस्तरीय फोरजी सेवा उपयोग गर्न सकिन्छ ।

नेपाली बजारमा उपलब्ध अधिकांश मोबाइल सेटले १८ सय मेगाहर्ज ब्यान्डको फोरजी सेवालाई सहजै उपयोगमा ल्याउन सक्ने भए पनि केही मोबाइल सेटले ८ सय मेगाहर्ज ब्यान्डबाट प्रशारित फोरजी सेवालाई ग्रहण नगर्ने पाइएको छ । दुवै ब्यान्डमा चल्ने मोबाइल सेटको अभावमा फोरजी सेवाबाट अधिकतम फाइदा लिन नसकिने हुन्छ । यस्तो समस्या आएपछि कम्पनीको फोरजी सेवाको गुणस्तर राम्रो नभएको भ्रम ग्राहकवर्गलाई हुने गरेको पाइएको छ ।

प्रतिक्रिया दिनुहोस्