काठमाडौं, (नेस)
राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेपाल पूर्वसशस्त्र प्रहरी संघबीच संघका सदस्यहरुलाई बैंकले पेन्सन र कर्जा प्रवाह गर्ने बारेमा सम्झौता भएको छ । सम्झौतापत्रमा राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र नेपाल पूर्वसशस्त्र प्रहरी संघका अध्यक्ष किशोरकुमार लामाले हस्ताक्षर गर्नुभएको छ ।
उक्त सम्झौता भएपश्चात् नेपाल पूर्वसशस्त्र प्रहरी संघले कर्जा आवश्यक भएका आफ्ना सदस्यहरुलाई बैंकमा सिफारिस गर्नेछ । बैंकले सिफारिस भएर आएका सदस्यलाई बैंकको उपभोक्ता कर्जा निर्देशिका, २०७७ को अधीनमा रही अधिकतम १० लाख रुपियाँसम्म आधार दरमा दुई प्रतिशत थप प्रिमियम जोडेर पेन्सन र कर्जा प्रवाह गर्नेछ ।
समारोहमा बैंंकका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले सशस्त्र प्रहरी सेवाबाट अवकाश प्राप्त गरेपछि पनि साना तथा मध्यम व्यवसाय गरी उत्पादनसँग जोडिई आफ्नो आर्थिक अवस्था सुधार गर्न यो कर्जाले सघाउ पु¥याउने बताउनुभयो ।
त्यैगरी संघका अध्यक्ष लामाले अवकाश प्राप्त सुरक्षाकर्मीहरुले नोकरीपछि वैदेशिक रोजगारीमा नगई नेपालमै केही कार्य गर्न सकिने बताउनुभयो । समारोहमा राष्ट्रिय वाणिज्य बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारी तथा संघकाका वरिष्ठ उपाध्यक्ष डा. ठाकुरमोहन श्रेष्ठले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
उक्त समारोहमा बैंकका उपकार्यकारी अधिकृतहरु सरस्वती अधिकारी, देवेशप्रसाद लोहनी, विभागीय प्रमुखहरु विनयरमण पौडेल, पद्मा जिसी, उपप्रमुख दामोदर ज्ञवाली, प्रबन्धक बालकुमार थापा र संघका तर्फबाट सचिव कविराज श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।











प्रतिक्रिया