नेपाल टेलिकमको अप्टिकल फाइबर दैलेख पुग्यो



काठमाडौं, (नेस)

नेपाल टेलिकमले दैलेख जिल्लाको सदरमुकाम नारायण नगरपालिकामा तामाको तारबाट सञ्चालनमा रहेको टेलिफोन तथा इन्टरनेट नेटवर्कलाई अप्टिकल फाइबरबाट विस्थापित गरेको छ ।

गत कात्तिक १५ गते स्तरोन्नति सम्पन्न भएपश्चात् सो क्षेत्रका सबै नेटवर्कलाई फाइबर टु द होम (एफटीटीएच)मार्फत सञ्चालन गरिएको हो । पुरानो नेटवर्कलाई सम्पूर्णरुपमा नयाँ अप्टिकल फाइबर नेटवर्कबाट विस्थापित गरिएको नारायण नगरपालिका कर्णाली प्रदेशको पहिलो नगरपालिका भएको छ ।

हाल सो क्षेत्रमा जम्मा १ हजार २४ लाइन एफटीटीएच नेटवर्क क्षमता छ । पुरानो तामाको तार अर्थात् कपरबाट सञ्चालित करिब ४ सय १५ लाइन एफटीटीएचमा रुपान्तरण गरिएका छन् भने नयाँ १ सय ६ लाइनसमेत वितरण गरिएको छ ।

सो नगरपालिकामा एफटीटीएच लाइन प्रयोगकर्ताको संख्या ५ सय २१ पुगेको छ । यसले नारायण नगरपालिकाअन्तर्गतको बजारको सबैजसो भागलाई समेटेको छ ।

यसै वर्ष दैलेखको दुल्लुमा पनि एफटीटीएच सेवा विस्तार गर्ने कार्यक्रम रहेको छ । नेपाल टेलिकमले मुलुकका विभिन्न शहरी र घना बसोबास भएका क्षेत्रमा एफटीटीएच सेवाको विस्तारका लागि आवश्यक पूर्वाधार निर्माणका साथै सेवा वितरणमा पनि जोड दिइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्