एनसेलले स्वास्थ्य मन्त्रालय र युनिसेफसँग सहकार्य



काठमाडौं, (नेस)
एनसेल आजियाटाले आफ्नो व्यावसायिक सामाजिक उत्तरदायित्वअन्तर्गत कोरोनाभाइरसको संक्रमणबाट बच्नका लागि जनसचेतना फैलाउने कार्यमा केन्द्रित हुँदै विभिन्न अभियान सञ्चालन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र युनिसेफ नेपालसँग सहकार्य गरेको छ ।
कोरोना भाइरससम्बन्धी जनसचेतना अभिवृद्धिको अभियानमा नेपाल सरकारद्वारा प्रमाणित तथा सिफारिस गरिएको कोरोना भाइरसबाट बच्न र बचाउन अपनाउनुपर्ने तीन मुख्य उपायहरू व्यक्ति व्यक्तिबीच कम्तीमा दुई मिटर दूरी कायम गर्ने, घरबाट बाहिर निस्किँदा अनिवार्य मास्क प्रयोग गर्ने र बेला बेलामा साबुन पानीले मिचिमिची कम्तीमा २० सेकेन्डसम्म हातधुने सन्देशलाई व्यापकरुपमा फैलाइएको छ । यस अभियानअन्तर्गत एनसेलले मास्कको सही प्रयोग, मास्क कसरी लगाउने, कस्तो किसिमको मास्क प्रयोग गर्ने भन्ने लगायतका विभिन्न जानकारीहरु समावेश गरी कोरोना भाइरसको संक्रमणबाट बच्न र बचाउन जनचेतना जगाउने कार्य गरिरहेको छ ।

सहकार्यबारे धारणा राख्दै एनसेलका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङले भने–‘यस विषम् परिस्थितिमा, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र युनिसेफसँग सहकार्य गर्दै हाल तीव्र गतिमा फैलिरहेको कोरोना संक्रमण रोक्न, पत्ता लगाउनर यसको प्रतिकार्यमा लाग्नका लागि जनचेतना फैलाउन हामी प्रतिबद्ध छौं ।’
एनसेलले सरकारको कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा पीपीई, स्वास्थ्य सामग्री, पीसीआर परीक्षण किट किन्न तथा क्वारेन्टाइनका साथै संक्रमित बिरामीको उपचारार्थ १० करोड रुपियाँ योगदान गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्