पुस्तक समीक्षा : कतै जार पनि जोगियो कतै लाग्यो मृतकको भीड



  • लक्ष्मण अधिकारी

१. महारानी

‘सुन खान सकिँदैन । हेरिकन नयनसुख लिइन्छ । मेरा निमित्त युवराज पनि सुनजस्तै मनमोहक वस्तु मात्र होइस्यो…।’
‘हेर्दा चौपट्ट राम्रो, टिपेर टाउकोमा सिउरन भने नसकिन्या विशाल तलाउको मध्येमा फुल्याको कमलजस्तो मकन ठानिसेला । टिप्न नसकिए पनि पोखरीको बीचमा फुल्याको फूल मेरो भनिसेला…।’

गत दशैँ विदामा पढिएका तीनवटा पुस्तकमध्ये सवैभन्दा बढी मन परेको पुस्तक ‘महारानी’ उपन्यासको केन्द«ीय भूमिकामा रहेकी राजकुमारी पात्रले आफ्नो पे्रेमी राजकुमारसँग गरेको संवादमा उल्लेख भएको योे प्रणययुक्त भाषा अहिलेका सिनेमामा नायकनायिकाले बोल्ने रोमान्टिक डायलग वा प्रेमी प्रेमिकाबीच हुने प्रेमसंवादको भाषाभन्दा उत्कृष्ट लाग्छ ।

करीब तीन सय वर्ष अघिको बाइसी चौबीसी राज्यकालकोे इतिहासलाई आधार बनाएर ‘महारानी’ उपन्यासको रचना गरिएको छ । यो कथा चौबीसी राज्यहरुमध्येको ‘मलेवम प्रदेश’ भनेर लोकप्रिसिद्ध १६ हाजर पर्वत राज्यको हो ।कथाको पृष्ठभूमि इतिहास भएपनि सम्पूर्ण कथानक चाहिँ इतिहास नभएको लेखकको भनाइ छ ।

लेखकले सामाजिक उपन्यास नै लेख्न खोजेको जिकिर गरे पनि यो इतिहासको पृष्ठभूमीमा उभिएर इतिहासकै मेरुदण्ड टेकेर अघि बढेको उपन्यास हो । लेखकले अधिकांश घटनावली, पात्र र भाषा इतिहासबाट लिने कोशिश गरेको बताएका कारणले पनि यस कुरालाई पष्टि गर्छ ।
कालीगण्डकी र म्याग्दीको संगममा रहेको बेनीबजारको पश्चिमतिर अवस्थित कुरिलाखर्कमा ‘महारानी स्थान’ (मन्दिर) छ र यी महारानीको इतिहास खोज्दै जाँदा तीन शताब्दी अघि पुगिन्छ ।

कुरिलाखर्कको ‘महारानी स्थान’मा देवी पुजिन्छ र यी देवीको लोकप्रचलित नाम ‘महारानी’ रहेको छ । यी महारानीको इतिहास हेर्दा यिनलाई कुनै राजाले विवाह गरेको पाइन्न तर पनि यिनलाई महारानी भनेर पुजिनुको कारण के हो ? यी महारानी को थिइन ? कुरिलाखर्कसँग यीनको सम्बन्ध के थियो ? इतिहासको गर्भमा लुकेर बसेको यही रहस्यमयी कौतुहलपूर्ण ऐतिहासिक विषयलाई उपन्यासकारले रोचक, कलात्मक, मनोरञ्जनात्मक एवं सुरम्य तरिकाले प्रस्तुत गरेका छन् ।

उपन्यासको मूल भाषा सरल नेपाली भएता पनि त्यसवेलाका पात्रहरुका संबादहरुमा पश्चिमाञ्चल क्षेत्रको तत्कालीन स्थानीय भाषाको मौलिक स्वाद पस्किने प्रयास गरेका छन् । त्यसका लागि लेखकले पर्वत राज्यकालका उपलब्ध दुई दर्जनभन्दा बढी लेखोटहरुको अध्ययन गरी त्यसकै आधारमा पात्रहरुको सम्बादलाई स्वभाविक बनाउने प्रयास गरेको छनक पाइन्छ ।

उपन्यासमा लेखकले त्यसबेलाको शासकीय प्रणालीका साथै संस्कृति, न्याय, सुरक्षा, सामाजिक, आर्थिक पक्षलाई सिर्जनात्मक कथानकमा ढालेर प्रस्तुत गरेका छन् । त्यसवेला कसरी छोरीलाई अधिकारविहिन र बस्तुको जस्तो व्यवहार गरिन्थ्यो भन्ने कुराको मार्मिक कथानक प्रस्तुतिले पाठकलाई निकै भावविह्वल बनाउँछ ।

२०७६ सालको मदन पुरस्कारबाट समेत पुरस्कृत ‘महारानी’ उपन्यास तयार गर्ने सिलसिलामा लेखक चन्द्र प्रकाश बानियाँले त्यसकाल खण्डको इतिहासको गहिरो अध्ययन, अनुसन्धान गरेको बुझिन्छ ।

त्यसबेला सक्नेले खुलम्खुल्ला जार काट्न पाउने परम्परा रहेको देखिन्छ । जस्तो एउटा सम्बादः

महाराजले भने, ‘तिमीले जार काट्न नसक्याकै कारणले शूरवीरेको ज्यान जोगियाको होइन त ?’
‘हो सरकार । काट्छु त भन्याकै हो । कैयौँ मेला जात्रा र बिहे पूजामा घत हे¥याकै हो । फेला पार्नै सकिएन ।’
‘तिमीले जार काट्न खुकुरीमा शान लगाइकन हिँड्याकै पनि हो । दुनियाँले देख्याकै पनि हुन् । तिमीले शूरवीरेको टाउको छिन्याल्या पनि नछिन्याला पनि तिमीकन बहादुर मर्द भनी समाजले मान्यकै छ, होइन ?’ महाराजले सोधे ।
‘हो सरकार । भण्डारीकी जोई स्याहा¥यादेखि खायाको आङ नलागन्या गरी लगौटीमा मुत तुक्र्याउँदै हिँड्यो मल्लाजी कार्की विचरो भन्याकै छन् मान्छेले ।’

यो उपन्यासको ऐतिहासिक पक्षलाई आधार मान्दा तीन शताब्दीअघि शक्तिमा रहेका पर्वत वरिपरिका कैयौँ मगरहरुले विधिपूर्वक जनैधारण गरी आपूmहरुलाई ठकुरी बनाएका थिए ।‘निसी मगर राज्य थियो । राजा पनि मगरै, प्रजा पनि मगरै । निसीपश्चिम खस राज्यहरु थिए । पश्चिमका खस राजाहरुले जनै धरिवरी क्षत्री भयाछन् ।

राजा हुन्या सबै क्षत्रीहरुकन ठकुरी भन्न थालिया छ । त्यही सिको गरिकना मगरातका कैयौ मगर राजाहरुले पनि जनै हाल्याछन् र आफूकन ठकुरी भनाउन थाल्याछन् । निसीको मगर राजा मात्रै जनै नलगायाका बाँकी रह्याछन् । जनै नलगायाका हुनाले चेलीवटी लेनदेन गर्न गाह्रो हुन थाल्यापछि निसीको राजखलकले पनि जनै लगाउन्या विचार ग¥याछ । जनै आफूले मात्र लगाएर नहुन्या । राज्यभर मगरै मगरको बस्ती…. ।’

‘महारानी’ एउटा खोजमूलक उत्कृष्ट उपन्यास हो । पढ्दा ज्यादै गतिशील लाग्छ । यसको आरम्भ कौतुहलपूर्ण हुँदाहुँदै पनि केही थोरै भाग गाडीको गेयर एकमै कुदेजस्तो लाग्छ तर पृष्ठभूमी बुझेपछि भने यसले पाँचांै गेयरमा गति बढाएपछि टुंगोमा नपुगेसम्म बेपत्ता कुदिरहन्छ, छोड्न मनै मान्दैन । अन्त्यमा मलाई लाग्यो ‘मदन पुरस्कार गुठीले सही निर्णय ग¥या रैच ।

२.पसिनाका पाइला

यस अवधिमा पढेको अर्को उपन्यास हो लक्ष्मण गाम्नागेको ‘पसिनाका पाइला’ । ब्यङ्ग्य कविता पढेर मान्छे हँसाउँदै हिड्ने ती ख्याउँटे मेरा दौँतरी गाम्नागेले के उपन्यास लेखे होलान् भनेको त किताव हातमा परेपछि त खङ्रङ्गै भएँ, पहिलो उपन्यासमै साथीले उधुमै मच्चाएका रहेछन् ।

मैले सोचेँ मात्र उनले राताराता कार्जे फत्ते गरेछन् । अनपेक्षित रुपमा उपन्यासले मन छोयो । हँसाएर आँसु निकाल्न बानी परेको मानिसले त्यस्तै लेखेको होला भनेको होइन रहेछ, मानिसलाई भावुक बनाएर आँसु नै चुहाउने अवस्थामा पु¥यान सक्ने पनि गाम्नागेको क्षमता रहेछ ।
उपन्यासको भाषा अन्यन्तै सरल छ र कतिपय ठाउँमा ग्रामीण जीवनका बोलीचालीका भाषा प्रयोग गरिएका छन् । उपन्यासमा पूर्वेली लवजको नेपाली भाषाको प्रभाव बाग्लै भेटिन्छ ।

‘ए । लु अव छुट्टिऊँ ल ? चिनजान नभए पनि भेटघाट भो । रमाइलै भयो ।’ उनले भने, ‘हाओ, केको अप्ठ्यारो हाओ । सुत्ने त हो एक रात ।’
गाम्नागेले यो उपन्यास उपन्यासकै नायक पात्र सहदेवकी बहिनी कान्तिलाई समर्पण गरेका छन् जो उपन्यासकी एक सशक्त पात्रका रुपमा उपन्यासको आधाजति भागसम्म मात्र साथ दिन्छे र कोशीमा बेपत्ता हुन्छे । यो उपन्यासमा यति धेरै पात्रहरुको मृत्यु हुन्छ कि ती पात्रको श्राद्ध गर्न थाले भने गाम्नागेले सोह्रश्राद्धमा फुर्सद पाउने सम्भावना कम नै हुन्छ ।

२०२० सालदेखि २०७७ जेठसम्मका केही सामाजिक र केही राजनीतिक पक्षलाई समेटेर लेखिएको छ यो उपन्यास । गाम्नागे र उनीजस्ता काठमाडौ बाहिरबाट आएर डेरामा बसी संघर्ष गर्ने र जीवनका उत्तरार्धमा छोराछोरीको सहारामा अमेरिकातिर भासिने मानिसहरुको दैनन्दिन लेखेजस्तो लाग्छ, यो उपन्यास ।

यो इतिहास खोतलेर लेखिएको उपन्यास त होइन, तर बर्तमान युवा पुस्ताका लागि सामाजिक र केही राजनीतिक जीवनको ऐतिहासिक दस्तावेज जस्तो छ । उपन्यास प्रस्तुतिगत मिठासले भरिएको रसिलो छ । उपन्यास सुरुदेखि नै ज्यादै गतिशिल छ, पढ्न थालेपछि खरररर अघि बढ्छ तर अन्तिम एक चौथाइतिर पुगेपछि केही क्षण भौँतारिएर गाडी पिचरोड छोडि ग्राभेल बाटोतिर बरालिएको हो कि जस्तो लाग्यो ।

पुग्ने बेलाँ चैँ फेरि पिच रोडमै आएर उपन्यासलाई उत्कर्षमा पु¥याएको छ । सुरुदेखि नै उपन्यासमा दुईवटा कथा समानान्तर विजुलीको तारजस्तै अघि बढ्छन् र अन्त्यमा तार जोडिएर करेन्टको एक झड्का दिन्छ अनि उपन्यासले मैझारो गर्छ । उपन्यास पढ्दा काठमाडौको डेरामा बसेर भुक्तमान खेपेका आम नेपालीहरुको आफ्नै कथा जस्तो लाग्छ । त्यहाँका संबादहरु हेर्दा गाम्नागेले आप्mनो पुक्क परेको मुखबाट आप्mनै कथा ओकलेका हुन् कि भन्ने भान पर्छ ।

‘कोठामा मोजाको गन्धले कोठै फुट्लाजस्तो भएको रहेछ । एकजना मान्छे मेरो पलङमा बेसेको, दिनेश रुमालले नाक थुनेर स्टोभमा दम दिँदै गरेको । कोठामा अलि अध्यारो भएकोले मैले मान्छे ठम्याउन सकिनँ ।’
पाहुनाले भन्यो, ‘क्या हो दाजु, काठमाडौ आएपछि मान्छे चिन्न पनि बिर्सिनु भो कि क्या हो ?’
‘बज्याले बोलेपछि मैले प्mयाट्टै चिनिहाले निँ, शेखरे डाँका रहेछ ।’
डेरावाललाई घरपटीले गर्ने व्यवहारको एउटा अंश यसरी लेखेका छन्, जो धेरैले भोगेका हुनसक्छन् ।
घरपटी आमैले भनिन्, ‘तिमीहरु के खान्छौ, ट्वाइले धेरै गनाउँछ .. । पानी पनि छैन । धेरै हग्ने होइन । राम्ररी पानी हालेर सफा गर्ने, गनायो भने भरेदेखि पस्न दिन्नँ ।’

सबै कुरा मञ्जुर गरेर म ट्वाइलेटमा पसेँ । उनले भनेजस्तै थोरै दिसा गरेर सफा गरेर निस्केपछि आमैले भनिन्, ‘ए सदेउ प्वालमै हगिस् के ?’
विगत तीन दशकदेखि हास्यव्यङ्ग्य साहित्यमा कलम चलाउँदै आएका गाम्नागेका आलु र मुला, मेरा बा लगायत थुप्रै कविता चर्चित छन् ।

गाम्नागेका कति धुनु गधाहरुलाई, स्वाहा, छोपछाप निबन्धसङ्ग्रह, घिटिक्घिटक् बाँचेर सहरमा, ३ न १३ पत्याउँदा पत्याउँदै कवितासङ्ग्रह तथा ओजस्वी भट्टराईसँगको सहलेखनमा बाँदरको कोसेली, बिरालाको पुच्छर र रमाइला लोककथा बालकथा कृति प्रकाशित छन् । यो उपन्यास उनको पहिलो उपन्यास हो, जसमा उनी सफल भएको महशुस गरेँ ।

३.काउसो जून


‘सिमानामा बाँध
नेपालमा डुबान
छिमेकी साँध ।’
‘लाम्टा चुसाइ
लोग्नेको करकर
जाँतो थिचाइ ।’
‘नारी संसार
मर्दका ऐँठनमा
आँसु झर्झर ।’
‘आदेश तोक
तजबिजी कानुन
मिलाइ ठोक ।’

यी हुन् दिल पौडेलद्वारा रचित नेपाली हाइकु तथा सेन्यु सङ्ग्रह ‘काउसो जून’का केही हाइकुहरु ।
हाइकु नविनतम र आयातित विधा हो । नेपाली साहित्यमा हाइकु लेखनको प्रारम्भकर्ताका रुपमा प्रसिद्ध निबन्धकार शङ्कर लामिछानेलाई लिने गरिन्छ । करीब डेढ महिना जापान बसेर आएका शङ्कर लामिछानेले २०१९ सालमा हाइकु लेख्न सुरु गरेका थिए ।

यो विधा आज लोकप्रिय बन्दै छ, यद्धपी यस विधामा एक सयभन्दा कम नै पुस्तकहरु प्रकाशित भएको सम्बद्ध साहित्यकारहरु बताउँछन् ।
हाइकु लेखन परम्परा जापानमा उद्भव भएको हो । संसारमै थोरै बोल्ने जातमा पर्ने जापानीहरुको स्वभावअनुसार थोरै शब्द तथा अक्षरको प्रयोग गरी धेरै कुरा भन्ने हाइकुले साङ्केतिक तथा ब्यञ्जनात्मक रुपमा चोटिलो प्रहार गर्छ । विशेषगरी ५, ७ र ५ को संरचनामा हाइकु लेखिन्छ ।
‘हातका ठेला
साहुको तमसुक
विदेश खाडी ।’
‘थाती सपना
कोरोनामा जीवन
फूल यातना ।’

समकालीन नेपाली जीवनका विविध पाटो र पक्षलाई समेटेर लेखिएको काउसो जून नेपाली साहित्यको एउटा महत्वपूर्ण कृति मान्न सकिन्छ । ग्रामीण जीवनका विविध पाटोदेखि राजनीति, न्याय प्रणाली, सीमा विवाद, नारीका व्यथालगायतका राष्ट्रिय मुद्दाहरु र प्रकृति, प्रेमलगायतका विषयलाई हाइकु सङ्ग्रहमा उठाएका छन् ।

हाइकु सङ्ग्रहमा विषयवस्तुलाई लक्षणात्मक तथा ब्यञ्जनात्मक रुपमा प्रतिबिम्बन गरिएको र सामान्य प्रचलनमा नरहेका शब्दहरु पनि यथेष्ठ प्रयोग भएकोले यसको भाषा सरल छ भनिहाल्ने स्थिति चाहिँ रहेन । घरिघरि ओखरको दानै चपाएर रस चुस्न खोजेजस्तो हुन्छ भने घरिघरि छर्लङग हुने गरी आप्mनै कुण्ठा पोखिएको अनुभूति भई मन हलुङगो हुन्छ ।

‘सृष्टि पल्लवी
पुरानिया बाँसुरी
रसालकुञ्ज ।’
‘धवल जाँघ
मसृण मादकता
केही कदली ।’
‘देशको झण्डा
परदेशको कुल्ली
अनन्त पीडा ।’
‘धानको बिउ
रोपाहार बाउसे
प्यारको निहुँ ।’
‘मान्छे असल
सरकारी दबाई
निजी पसल ।’

विगत लकडाउनको सदुपयोग गर्दै लेखेर हालै प्रकाशन गरिएको यस कृतिमा ६६४ वटा रोचक हाइकु तथा सेन्यु सङ्ग्रहित छन् । यस कृतिले पाठकलाई एउटा छुट्टै स्वाद र सन्तुष्टि दिन्छ ।युवा साहित्यकार दिल पौडेलका कविता सङ्ग्रह, हाइकुसङ्ग्रह, गजल सङ्ग्रह, उपन्यास आदि गरी आधा दर्जनभन्दा बढी कृति प्रकाशित छन् ।

‘धेरै बिरामी
गरिब अशक्तको
के निगरानी ।’
‘असङ्ख्य नेता
असङ्ख्य कार्यकर्ता
देशको व्यथा ।’
‘शान्त देशको
सपनाको संसार
बहुत उल्लु ।’
‘नेता महात्मा
जमीन भारतमा
पुर्जा हातमा ।’

प्रतिक्रिया दिनुहोस्