विदेशी मुद्राको सञ्चिति बढ्यो, १५ महिनाको आयात धान्ने



नेपाल समाचारपत्र, काठमाडौं ।

गत असार मसान्तसम्म १४०१ अर्ब ८४ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति २ दशमलव ३ प्रतिशतले वृद्धि भई भदौ मसान्तमा १४३३ अर्ब ६७ करोड रुपियाँ पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति असार मसान्तमा ११ अर्ब ६५ करोड रहेकोमा भदौ मसान्तमा १२ अर्ब २० करोड पुगेको छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति असार मसान्तमा १२२६ अर्ब १२ करोड रहेकोमा भदौ मसान्तमा १२५५ अर्ब पुगेको छ ।

बैंक तथा वित्तीय संस्था ९नेपाल राष्ट्र बैंकबाहेक० सँग रहेको विदेशी विनिमय सञ्चिति असार मसान्तमा १७५ अर्ब ७१ करोड रहेकोमा भदौ मसान्तमा १७८ अर्ब ६६ करोड पुगेको छ । भदौ मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २३ दशमलव १ प्रतिशत रहेको छ । आर्थिक वर्ष २०७७/७८ को दुई महिनाको आयातलाई आधार मान्दा बैकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १६ दशमलव ५ महिनाको वस्तु आयात र १४ दशमलव ९ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।

समीक्षा अवधिमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपात क्रमशः ३८ दशमलव १ प्रतिशत, १२४ दशमलव ५ प्रतिशत र ३३ दशमलव ६ प्रतिशत रहेका छन् । असार मसान्तमा यी अनुपातहरु क्रमशः ३७ दशमलव २ प्रतिशत, १०५ दशमलव ७ प्रतिशत र ३३ दशमलव १ प्रतिशत रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्