अनुगमन भत्ता नहुँदा भएन बजार अनुगमन



गणेश घिमिरे, इलाम ।

अनुगमन भत्ता खाने पैसा नभएपछि चाडबाडको समयमा समेत इलाममा बजार अनुगमन भएको छैन । प्रदेश सरकारबाट बजार अनुगमनका लागि बजेट नआएपछि अनुगमन नभएको हो ।

बजेट अभावकै कारण बजार अनुगमन गर्न नसकेको बजार अनुगमनको जिम्मा पाएको घरेलु तथा साना उद्योग कार्यालय इलामका सूूचना अधिकारी युवराज घोरासाईंले बताउनुभयो । बजार अनुगमन गर्दाे चिया, खाजालगयतमा खर्च आउने भन्दै उहाँले यो वर्ष बजार अनुगनमका लागि भनेर बजेट नआएकाले घरेलु कार्यालयले मात्र बजार अनुगमन गर्ने अवस्था नभएको उहाँले भन्नुभयो ।

बजार अनुगमनका लागि घरेलु कार्यालय, जिल्ला प्रशासन कार्यालय र स्थानीय सरकारसँग समेत समन्वय नभएको पाइएको छ ।

अनुगमन गर्ने स्थानीय सरकार, जिल्ला प्रशासन र घरेलु कार्यालयकै समन्वय नहुँदा यो वर्षको दशैं शुरु भइसक्दा पनि बजार अनुगमन हुन नसकेको हो । प्रशासनले गत वर्षबाट घरेलु कार्यालयको अगुवाइमा बजार अनुगमन गर्ने जिम्मा दिएको बताउँदै आएको छ । घरेलु कार्यालयले बजेट नभएको तर प्रशासन र स्थानीय सरकारले अनुगमन गरे कार्यालयको तर्फबाट सहभागिता जनाउने घोरासाइनेले जनाउनुुभयो ।

मुलुक संघीय संरचनामा गएसँगै बजार अनुगमनको जिम्मा स्थानीय तहलाई पनि दिइएको छ तर जिल्लाका अधिकांश स्थानीय तहले बजार अनुगमन गरेका छैनन् । विगतमा इलाममा बजार अनुगमन चाडबाडमा मात्रै केन्द्रित हुने गरेको थियो । जसले गर्दा वर्षभरि केही व्यवसायीबाहेक अधिकांशले मनपरी मूल्य राखेर उपभोक्तालाई ठग्दै आएका इलाम नगरपालिका उपभोक्ता सुदर्शनप्रसाद काफलेले बताउनुभयो ।

जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा जिल्ला अनुगमन समिति रहेको छ । यो समितिले जिल्लाभरका बजारका बजार अनुगमन गर्दै आएको थियो । तर, अनुगमनको अगुवाइ भने घरेलु तथा साना उद्योग कार्यालयले गर्दै आएको थियो । जिल्लास्तरीय बजार अनुगमन समितिका संयोजक सहायक प्रमुख जिल्ला अधिकारी भने कार्यालयबाट बिदा लिएर काठमाडौं गइसक्नुभएको छ ।

यता व्यवसायीले भने सामान ल्याउने ठाउँबाटै मूल्य बढेर आएको मूल्यवृद्धि हुन पुगेको बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्