कोरोना भाइरसविरुद्ध भेन्टिलेसन सुधार कार्यक्रम



बर्लिन, (एजेन्सी) ।

जर्मन सरकारले कोरोना भाइरस संक्रमण नियन्त्रण गर्ने उद्देश्यले सार्वजनिक भवनमा भेन्टिलेसन प्रणालीमा व्यापक सुधार गर्न ४८ करोड ८० लाख अमेरिकी डलर लगानी गर्ने भएको छ। सरकारी कार्यालय, संग्रहालय, थिएटर, विश्वविद्यालय तथा विद्यालय भवनमा खुला हावा आवतजावतका लागि उक्त पैसा खर्च गरिने बताइएको छ।

हालसम्म निजी क्षेत्रका लागि भने सरकारले यस सम्बन्धमा लगानी गर्नेबारे सोचेको छैन। कोभिड–१९ संक्रमित व्यक्तिले हाच्छिउँ गर्दा वा खोक्दा निस्कने जलीय कणको संसर्गमा परेपछि स्वस्थ व्यक्तिमा कोरोना भाइरस प्रवेश हुने गर्छ।

हालसम्मको वैज्ञानिक अनुसन्धानबाट त्यस्ता जलीय कण कुनै कोठाभित्र कम्तीमा आठ मिनेटसम्म रहन सक्छन्। पूर्णतः नयाँ भेन्टिलेसन प्रणाली जडान गर्दा धेरै खर्च हुने भएकाले हाल यथावत् रहेको प्रणलीलाई मात्र मर्मत र सुधार गरिने सरकारले जनाएको छ।

प्रत्येक भवनका लागि अधिकतम मर्मत खर्च १ लाख यूरो तोकिएको छ। यस परियोजनाअनुसार कार्बनडाइअक्साइड सेन्सरका लागि पनि पैसा खर्च गरिनेछ। त्यस्ता सेन्सरले कोठाको वायु अस्वस्थकर भएको संकेत दिने गर्छ। मंगलबारदेखि नै यो बजेट कार्यान्वयन गरिन लागेको छ। सरकारले सेन्ट्रल एयर कन्डिसन सिस्टम नभएका विद्यालयमा कमसेकम मोबाइल एयर प्युरिफायर प्रयोग गर्न निर्देशन दिइसकेको छ।

बाभारिन प्रसारण केन्द्र बिआर २४ का अनुसार मोबाइल भेन्टिलेटरले केही मिनेटभित्रै कोठाको हावा पूर्णतः सफा गर्न सक्छ र यसका लागि प्रत्येकपटक दुई हजार यूरो खर्च लाग्नेछ। तर, जर्मन विशेषज्ञले युभि लाइट, आयोनाइजेसन वा ओजनमा भरपर्ने यस्ता उपकरण कोरोना भाइरस भगाउन प्रभावकारी नहुने तथा कहिलेकाहीं बरु यसले वायुको गुणस्तर नै खराब बनाउन सक्ने चिन्ता पनि व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस्