शेयर बजारमा चाडपर्वको प्रभाव



नेपाल समाचारपत्र, काठमाडौं

चाडपर्व शुरू भएसँगै त्यसको प्रभाव पुँजी बजारमा देखा पर्न थालेको छ । बजारमा न्यून कारोबार हुँदै सुस्ताउन थालेपछि चाडपर्वको प्रभाव बजारमा देखिएको हो ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सोमबार दोहोरो अंकले वृद्धि भए पनि कारोबार रकम भने एक अर्ब रुपियाँभन्दा कममा नै सीमित हुन पुग्यो । आइतबार घटेको बजारमा सोमबार १३ दशमलव ५८ अंकले वृद्धि हुँदा परिसूचक १५७० दशमलव ३८ बिन्दुमा पुगेको छ ।

कुल १८९ कम्पनीको ३३ लाख ५३ हजारभन्दा बढी कित्ता शेयर ९७ करोड ९० लाख रुपियाँभन्दा बढीमा कारोबार भएको छ । सोमबार कारोबार भएका १२ समूहमध्ये व्यापार समूहको मात्रै परिसूचक ओरालो लागेको छ ।
यस दिन व्यापार समूह १ दशमलव ६९ अंकले घट्दा बैंकिङ समूह ७ दशमलव ६७, होटल समूह १४ दशमलव १६,

विकास बैंक समूह ३० दशमलव ४३, जलविद्युत् समूह ४३ दशमलव ८६ अंकले बढेका छन् । त्यस्तै वित्त समूह १६ दशमलव २६, निर्जीवन बीमा समूह ९९ दशमलव ५२, उत्पादन समूह ७ दशमलव १७, अन्य समूह ७ दशमलव ६, लघुवित्त समूह १० दशमलव ६४, जीवन बीमा समूह ५० दशमलव ५९ र सामूहिक लगानी कोष समूह शून्य दशमलव शून्य ४ अंकले वृद्धि भएको नेप्सेले जनाएको छ ।

सोमबार कारोबारका आधारमा अपि पावर कम्पनी अगाडि देखिएको छ । सो कम्पनीको चार करोड रुपियाँभन्दा बढीको शेयर कारोबार भयो ।

यस्तै अरुण काबेली पावरको तीन करोड ५२ लाख, एनसीसी बैंकको तीन करोड ५० लाख, नागरिक लगानी कोषको तीन करोड नौ लाख, शिखर इन्स्योरेन्सको दुई करोड ९३ लाख र सिटिजन बैंकको दुई करोड ७४ लाख रुपियाँभन्दा बढीको शेयर किनबेच भएको नेप्सेको तथ्यांक रहेको छ ।

त्यस्तै सोमबारको कारोबारमा जनरल इन्स्योरेन्सको शेयर मूल्य ९ दशमलव ९० प्रतिशत, युनियन हाइड्रोपावर ९ दशमलव ८२ प्रतिशत, घलेम्दी हाइड्रोको ९ दशमलव ७३ प्रतिशत, अपि पावर कम्पनीको ९ दशमलव ६३ प्रतिशत, दिव्येश्वरी हाइड्रोपावर ९ प्रतिशत, बरुण हाइड्रोपावरको ८ दशमलव ७२ प्रतिशतले वृद्धि भएको छ ।

तर, गणपति माइक्रोफाइनान्स, एनसीसी बैंकको संस्थापक समूह, नेपाल सेवा लघुवित्त, सिभिल लघुवित्त वित्तीय संस्थालगायतका कम्पनीको शेयर मूल्य घट्दा लगानीकर्ताले गुमाएको स्थिति छ ।

प्रतिक्रिया दिनुहोस्