फेबु्रअरीसम्ममा कोरोना समाप्त हुने भारतका सरकारी विज्ञहरुको दावी



नयाँदिल्ली (एजेन्सी) ।

कोरोना भाइरस महामारीलाई लिएर शुरुमा हल्काफुल्का बयान दिने विश्वका प्रमुख नेताहरुमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, ब्राजिलका राष्ट्रपति जैर बोल्सोनारो र भारतका प्रधानमन्त्री नरेन्द्र मोदी हुन् । युरोपका केही नेताहरुमा पनि यो देखिएको हो ।

भारतका प्रधानमन्त्रीले कोरोना संक्रमणलाई दियो र थालीले नै हराउने बताएका थिए भने अमेरिकी राष्ट्रपतिले यो भाइरस आवधिक हुने र गर्मीयाममै सखाप हुने बताएका थिए । ट्रम्पले पटक पटक अमेरिकामा भाइरस संक्रमित संख्या तोक्ने पनि गरिरहेको थियो । त्यसै गरी भारतका प्रधानमन्त्री मोदी पनि यो महामारी भारतमा ठुलो विनासकारी बन्न नसक्ने आसयका टिप्पणी गरिरहेका हुन्थे ।

यसैबी भारतमा कोरोना भाइरस महामारी चरम स्थितिबाट पार भइसकेको सरकारका तर्फबाट गठन गरिएको वैज्ञानिकहरु एक समितिले जनाएको छ । उक्त प्यानलका अनुसार कोरोना महामारी सन् २०२१ को फेब्रुअरीसम्ममा समाप्त हुने सम्भावना छ । टोलीले भारतमा कोरोनाको १ करोड ६० लाख भन्दा धेरै संक्रमित नहुने अनुमान गरेको छ । अहिले भारतमा कोरोनाको कुल ७५ लाख भन्दा धेरै संक्रमित पुष्टि भइसकेको छ । यद्यपी भाइरसबाट बच्न उपाय जारी राख्नु पर्ने बताइएको छ । समितिले महामारीको ब्यवहार नक्सांकन गर्न कम्प्युटर मोडल्सको पनि प्रयोग गरेको छ ।

सरकारका प्रमुख वैज्ञानिक सल्लाहकार के. विजयराघवनले उक्त समितिको गठन गरको थियो । आईआईटी हैदराबादका प्रोफेसर एम विद्यासागर समितिका प्रमुख हुन् । समितिका अनुसार यदि भारतले मार्चमा लकडाउन नलगाएको हो भने देशभरी २५ लाख भन्दा धेरैको ज्यान गइसकेको हुन्थ्यो । अहिलेसम्म भारतमा यस महामारीबाट १ लाख १४ हजार विरामीको मृत्यु भइसकेको छ ।

तीन खोप एडभान्स स्टेजमा : मोदी

यसैबीच भारतका प्रधानमन्त्री मोदीले कोरोना महामारीलाई नियन्त्रण लिने अभियान अन्तर्गत भारतमा तीन खोप विकसित हुने क्रममा एडभान्स स्टेजमा रहेको बताए । ती मध्य एक खोप क्लिनिकल ह्युमन ट्रयलको दोस्रो र अर्को एक खोप परीक्षणको तेस्रो चरणमा रहेको उनले जानकारी दिए ।

प्रधानमन्त्रीले देशका सबै नागरिकसम्म खोप चाँडै पुर्याउने तयारी सुनिश्चित गर्ने पनि बताए । प्रधानमन्त्री मोदीले भने, जसरी हामी चुनावको तयारी गर्छौं, त्यसै गरि खोप वितरणको तयारी पनि गर्नेछौं ।

कोरोना भाइरसको जिनोम सम्बन्धी दुई अध्ययनमा भारतमा यो विषाणुको आणुवंशिक रुप स्थिर रहेको पाइएको छ । यसको स्वरुपमा कुनै ठुलो परिवर्तन नदेखिएको अध्ययनले देखाएको छ । यो नहुनु भारतका लागि राम्रो खबर भएको बताइएको छ । किनभने वैज्ञानिकहरुका अनुसार कोरोना भाइरस आफनो रुप परिवर्तन गरेको हो भने खोपको प्रभाव कम हुन सक्छ ।

निति आयोगका सदस्य तथा कोविड विज्ञ टोलीका प्रमुख डाक्टर भीके पलले समाचार एजेन्सी पीटीआईसँग भने – विगत तीन हप्तामा नयाँ मामिला, मृत्युको संख्या घटेको छ तर हामी जाडो मौसममा भारतमा कोरोना संक्रमणको दोस्रो लहरको सम्भावनालाई अस्विकार गर्न सक्दैनौं ।

देशमा विगत २४ घन्टामा ६१ हजार ८ सय ७१ नयाँ संक्रमित पुष्टि भएका छन् । यसले कुल संक्रमित संंख्या ७४ हजार ९४ हजार ५ सय ५१ पुगेको छ । केन्द्रिय स्वास्थ्य तथा कल्याण मन्त्रालयका अनुसार विगत २४ घन्टामा कोरोना भाइरसबाट १ हजार ३३ को मृत्यु भएको छ ।

त्यसपछि देशमा अहिलेसम्म मृत्यु हुनेको संख्या १ लाख १४ हजार ३१ पुगेको छ । देशमा संक्रमणबाट ठीक हुने ८८ प्रतिशत नाघेको छ भने मृत्युदर १ दशमलव ५३ प्रतिशत छ । भारतमा दैनिक कोरोना संक्रमित संख्या अब अमेरिकाको भन्दा कम भएको छ ।

भारतमा अहिले ७ लाख ८३ हजार ३ सय ११ सक्रिय विरामी छन् जुन शनिबारको तुलनामा ११ हजार ७ सय ७६ को कमी आएको हो । एक दिनमा ७२ हजार विरामी यस रोगबाट ठीक भएका छन् । भारतमा संक्रमणबाट ठीक हुनेको संख्या ६५ लाख ९७ हजार नाघेको छ ।
महाराष्ट्र अहिलेपनि कोरोना भाइरसबाट सबैभन्दा प्रभावित राज्य बनेको छ । यहाँ अहिलेसम्म १५ लाख ८६ हजार ३ सय २१ संक्रमित पुष्टि भइसकेका छन् भने ४१ हजारले यो रोगबाट ज्यान गुमाइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्