बाख्रा बेचेर भित्राए गाउँमै तीन करोड



सिर्जना पन्त, बागलुङ
बागलुङको काठेखोला गाउँपालिका र जैमिनी नगरपालिकाका ४ वटा सहकारीमा आवद्ध महिलाहरुले बाख्रा बेचेर पौने ३ करोड रुपैयाँ गाउँ भित्राएका छन् ।

काठेखोला गाउँपालिका वडा नं.४ तंग्रामका दुई सहकारीमा आवद्ध महिलाहरुले बाख्रा बेचेर पौने २ करोड र जैमिनी नगरपालिका वडा नं.२ र ३ मा सञ्चालित २ वटा सहकारीमा आवद्ध महिलाहरुले १ करोड ५ लाख रुपैयाँ गाउँ भित्राएका हुन् ।

काठेखोला गाउँपालिका–४ मा सञ्चालित सप्तरंगी सामाजिक उद्यमी महिला सहकारी संस्था र बसन्त सामाजिक उद्यमी महिला सहकारी संस्था तथा जैमिनी नगरपालिका वडा नं. २ मा सञ्चालित भाग्योदय सामाजिक उद्यमी महिला सहकारी र वडा नं. ३ मा सञ्चालित रुद्रताल सामाजिक उद्यमी महिला सहकारीमा आवद्ध महिलाहरु विगत ६ वर्षदेखि बाख्रापालन व्यवसायमा लागेका छन् ।

आर्थिक वर्ष २०७६/०७७ मा सप्तरंगी सहकारी मार्फत ७ सय १३ गोटा खसी विक्री गरी ८६ लाख ६८ हजार २ सय ५७ रुपैयाँ आम्दानी गरिएको संस्थाका सह–प्रवन्धक नरमाया पुनले जानकारी दिनुभयो । बसन्त सहकारी मार्फत ७ सय १४ गोटा खसी बोका विक्री गरी ९२ लाख ९६ हजार ६५ रुपैयाँ आम्दानी गरिएको संस्थाका प्रवन्धक हेमा बिकले जानकारी दिनुभयो ।

सप्तरंगी सहकारीले गत आर्थिक वर्षमा १९ हजार ९ सय ६४ केजी बराबरको खसी बोका विक्री गरेर १ लाख २ हजार ८ सय ३२ रुपैयाँ नाफा गरेको छ । यस्तै, बसन्त सहकारीले २१ हजार १ सय २७ केजी खसी बोका विक्री गरेर ९७ हजार ९ सय १५ रुपैयाँ नाफा गरेको छ ।

काठेखोलाका दुबै सहकारीले आफ्ना सदस्यहरुको खसी बोका प्रति केजी ४ सय ५० रुपैया“मा संकलन गर्ने र र ४ सय ५५ रुपैयामा विक्री गर्ने गरेका छन् । प्रति केजी जम्मा ५ रुपैया बढी लिएर सदस्यहरुका उत्पादन संकलन गरी बजारमा लगेर विक्री वितरणको व्यवस्था गरिएको सहकारीहरुले जनाएका छन् ।

सहकारीका शेयर सदस्य मध्ये कतिपयले २५ वटा सम्म बोका विक्री गर्ने गरेको सप्तरंगी सामाजिक उद्यमी महिला सहकारीका प्रवन्धक मनकुमारी पुनले जानकारी दिनुभयो । उहाँका अनुसार, तंग्रामका खसी बोका बागलुङ बजार र आसपासका क्षेत्रमा विक्री हँुदै आएका छन् ।

यसैबीच, नजिकिदै गरेको दशै तिहारमा दुवै संस्थाले १ हजार गोटा खसी बोका विक्री गर्ने योजना बनाएका छन् । सप्तरंगी सहकारीले ३ सय ९५ र बसन्त सहकारीले ६ सय वटा खसी बोका विक्री गर्ने योजना छ ।

परियोजनाले दशै तिहार अर्थात सेप्टेम्बरदेखि नोभेम्बरसम्मका लागि ९ सय ९५ गोटा विक्रीका लागि लक्ष्य लिएर समन्वय गरिएको बिवाइसी बागलुङका सहकारी क्षमता विकास सहजकर्ता रिता शर्माले जानकारी दिनुभयो ।

हेफर इन्टरनेशनलको आर्थिक तथा प्राविधिक सहयोग र भीमापोखरा युवा क्लव (बिवाइसी) बागलुङको व्यवस्थापनमा साविक तंग्राम गाविसमा विगत ८ वर्षदेखि पशु वस्तुको मूल्य श्रृखलामा आधारित साना किसानहरुको संस्था सवलकीरण परियोजना सञ्चालनमा छ ।

उक्त परियोजनाबाट सप्तरंगी सहकारी मार्फत २ सय ९६ जना र बसन्त सहकारी मार्फत ६ सय ११ जना शेयर सदस्यलाई आयआर्जनका काममा केन्द्रीत गरिएको छ ।

दमेकको रुद्रताल सहकारीका शेयर सदस्यहरुले ८ सय ४६ बोका विक्री गरी ५५ लाख २१ हजार २ सय रुपैयाँ गाउँ भित्राएको संस्थाका प्रबन्धक तारा पुनले बताउनुभयो । त्यसैगरी भाग्योदय सहकारीका शेयर सदस्यहरुले ४९ लाख ६८ हजार ६ सय रुपैयाँ गरी चारवटा सहकारीले वार्षिक २ करोड ८५ लाख १६ हजार १ सय २२ रुपैया रकम गाउँ भित्र्याएका छन् ।

दमेकको रुद्रताल सहकारीले गत आर्थिक वर्षमा बाख्रा बेचेर ८४ हजार नाफा गरेको छ र सहकारीका ४ सय २३ जना सेयर सदस्यहरुले बाख्रा पाल्दै आउनुभएको छ । सेयर सदस्यबाट प्रति केजी ४ सय ५० रुपैयाँका दरले सहकारी खरिद गरी ४ सय ५५ रुपैयाँका दरले बजारमा विक्रि वितरण गर्दै आएको प्रबन्धक पुनले जानकारी दिनुभयो । सहकारीले यो वर्ष भरी १२ सय र दशैमा मात्र ६ सय बाख्रा बेच्ने लक्ष्य राखेको छ ।

भाग्योदय सामाजिक उद्यमी महिला सहकारीमा आवद्ध २ सय सेयर सदस्यले बाख्रा पाल्दै आएको संस्थाका प्रबन्धक प्रगति शर्माले बताउनुभयो । मासिक ४० वटा सम्म बाख्रा विक्रि हुने गरेको उहाँको भनाई छ । बागलुङ सँगै पर्वतको कुश्मामा समेत बाख्रा विक्रि गर्ने गरेको उहाँले बताउनुभयो ।

सेयर सदस्यबाट प्रति केजी ४ सय ५० रुपैयाँका दरले सहकारी खरिद गरी ४ सय ५५ रुपैयाँका दरले बजारमा बिक्री वितरण गर्दै आएको छ । सहकारीका सदस्यहरुको पछिल्लो समय भैसी पालनमा आकर्षण बढ्न थालेको भन्दै यो वर्ष दशैंमा १ सय १५ र वर्ष भरी ७ सय बाख्रा वितरण गर्ने लक्ष्य रहेको उहाँले बताउनुभयो ।

सहकारीका शेयर सदस्यहरुलाई बाख्रापालन व्यवसायमा केन्द्रीत गराउने र सहकारी संस्थाले खरिद गरेर बजारमा विक्री वितरणको व्यवस्था गरेपछि बाख्रापालन गर्नेको संख्या समेत बढ्दै गएको छ । आजभोली सहकारीमा आवद्ध रहेकाहरुको घरमा थोरै भएपनि २ वटा बाख्रा अनिवार्य रुपमा पाल्न थालिएको छ ।

प्रतिक्रिया दिनुहोस्