उद्योगी व्यवसायीलाई राहत दिन माग



कास्की, (नेस)
पोखरा उद्योग वाणिज्य संघले गण्डकी प्रदेश सरकारले घोषणा गरेको व्यवसाय जीवन रक्षा कोष तत्काल प्रयोगमा ल्याउन माग गरेको छ । संघले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष दामु अधिकारीले प्रदेश सरकारले घोषणा गरेको कोषबाट राहत पाउने आशामा रहेका व्यवसायी कार्यविधि नै नबन्दा निराश भएको बताउनुभयो।

‘मृत्युपछि ओखतीको काम हुँदैन’,अध्यक्ष अधिकारीले भन्नुभयो–‘घोषणाको लागि मात्र कोष बनेको हो भने एउटा कुरा, होइन भने सो कोष तत्काल कार्यान्वयनमा आउनुपर्छ भन्ने पोखरा उद्योग वाणिज्य संघको माग रहेको छ ।’ उहाँले ढलेका व्यवसाय उठाउन राज्यबाट सहयोगको टेकोे दिइयोस् भन्ने निजी क्षेत्रको माग रहेको बताउँदै सरकारले आर्थिक वर्ष २०७७÷०७८ को मौद्रिक नीतिमार्फत् घोषणा भएको राहत प्याकेज वास्तविक पीडित व्यवसायीले पाउनुपर्नेमा जोड दिनुभयो।

लकडाउन र निषेधाज्ञा त खुले पनि उद्योग व्यवसायले गति लिन नसकेको उहाँको भनाइ थियो । अध्यक्ष अधिकारीले कोभिड–१९ ले सिर्जना गरेको विषम परिस्थितिका कारण कतिपय व्यवसायी पलायन भएका तथा धेरैजसो व्यवसायी बैंकबाट लिएको कर्जाको साँवा र ब्याज कसरी बुझाउने भन्ने तनावमा रहेको बताउनुभयो ।

यता पोखरा उद्योग वाणिज्य संघले गएको बर्षमा आयोजना गरेको राष्ट्रिय औद्योगिक व्यापार मेलाबाट करिब ८ लाख ९० हजार ९२१ लाख वचत भएको जनाएको छ । अध्यक्ष अधिकारीका अनुसारले संघले प्रवेश टिकटबाट १५ लाख ३१ हजार तथा विभिन्न शीर्षकमा भएका प्रायोजक लगायतका स्रोतबाट ८२ लाख ९२ हजार ४ सय गरी ९८ लाख २३ हजार ४ सय आम्दानी गरेको थियो । सबै खर्च कटाउँदा उत्त, रकम बचत भएको जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्