क्वारेनटाइन व्यवस्थापनमा सकस : सरकारी निर्णयले पालिकाहरू समस्यामा



सरुनानु चलाउने, सल्यान

सरकारी निर्णयसँगै विद्यालयमा निर्माण गरिएका क्वारेनटाइन कहाँ व्यवस्थापन गर्ने भन्नेमा सल्यानका स्थानीय पालिकाहरू अन्यौलमा परेका छन् । सल्यानका अधिकांश आइसोलेसन र क्वारेनटाइन विद्यालयमा निर्माण गरिएका छन् ।

सरकारले विद्यालय असोजमा सञ्चालन गर्ने निर्णय गरेसँगै अब क्वारेनटाइन कहाँ निर्माण गर्ने भन्ने समस्या उत्पन्न भएको शारदा नगरपालिकाका नगरप्रमुख सुरेश अधिकारीले बताउनुभयो । ‘एकतिर चाडपर्व नजिकिएसँगै तेस्रो मुलुक र भारतबाट आउने नागरिक बढ्न थालेका छन् ।

अर्कोतिर सरकारले विद्यालय सञ्चालन गर्ने भन्दै छ । यसलाई कसरी व्यवस्थापन गर्ने समस्या उत्पन्न भयो ।’

अहिले पनि विद्यालयको क्वारेनटाइनमा मान्छे बसिरहेकाले एकैपटक ठूलो संख्याको व्यवस्थापन गर्न समस्या हुने उहाँको तर्क छ । भएका सार्वजनिक भवनमा बढीमा १५ जनासम्मलाई मात्र व्यवस्थापन गर्न सकिन्छ’, उहाँ भन्नुहुन्छ– ‘चाडपर्वलाई लक्षित गरी खुला चौरमा पाल राख्ने कि भन्ने सोच भए पनि चिसोको सिजन पनि आएकाले जोखिम झनै बढ्ने देखिन्छ ।’

पालिकामा क्वारेनटाइन निर्माण गर्न सार्वजनिक भवनहरूको अभाव भएकाले कि त बाहिरबाट आएका नागरिकलाई सीधै घर पठाउने या त विद्यालयमा नै राख्नुको विकल्प नरहेको दार्मा गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अमृत खड्का बताउनुहुन्छ ।

दशैं–तिहारमा कम्तीमा पनि ५ सयदेखि ७ सय बाहिरबाट आउने अनुमान गरिएको बताउँदै खड्का भन्नुहुन्छ– ‘यति धेरै नागरिकलाई सामुदायिक भवनमा व्यवस्थापन गर्न सकिँदैन । विद्यालयमा व्यवस्थापन गर्नुको विकल्प छैन ।’

आउँदै गरेको चाडपर्वमा जिल्लामा भित्रिन सक्ने सम्भावित जनसंख्याका आँकलन गरी सबै स्थानीय तहलाई प्रयाप्त मात्रामा क्वारेनटाइन निर्माणको व्यवस्था मिलाउन अनुरोध गरिएको प्रमुख जिल्ला अधिकारी हेमराज तामाङले बताउनुभयो ।

मन्त्रालयले यसबारे कुनै परिपत्र नगरे पनि शिक्षण संस्थामा रहेका आइसोलेसन र क्वारेनटाइन शिक्षण संस्थाबाट हटाई खुला स्थान, रंगशालामा निर्माण गर्ने तयारी भएको उहाँको भनाइ छ ।

सल्यानमा ४८ क्वारेनटाइनमा २८ महिलना र १ सय ४१ पुरुष गरी १ सय ६८ जना क्वारेनटाइनमा बसिरहेका छन् । ती सबै क्वारेनटाइनमा विद्यालयमा रहेका छन् । चार स्थानमा आइसोलेसन रहेका छन् ।

जिल्लाका ३ सय ४० कोरोना संक्रमितमध्ये ३ सय निको भएर घर फर्किसकेका छन् भने जम्मा ४० जना मात्र आइसोलेसनमा बसीरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्