सामुदायिक होमस्टेको तयारी



दिलकुमार लिम्बू, ताप्लेजुङ

स्थानीय फुङ्लिङ नगरपालिका–९ हाङ्देवाको बुङलुङ गाउँमा होमस्टे (घरबास) १२ घरमा सञ्चालनको तयारी गरिएको छ । पर्यटकीय क्षेत्र सुकेटारसँगै जोडिएको बस्ती बुङलुङमा सामुदायिक होमस्टे सञ्चालन गर्ने तयारी गरिएको हो ।

भोटेगाउँको नामले समेत चिनिने बुङलुङ बस्ती सदरमुकाम फुङ्लिङ बजारदेखि पनि नजिकै छ । फुङ्लिङ बजारदेखि आधा घण्टाजति सवारी साधनको यात्रा र करिब सवा घण्टाको पैदल यात्रामार्फत पुग्न सकिने बुङलुङ पर्यटकीय दृष्टिकोणले रमणीय र सुन्दर तथा आकर्षक गाउँ हो ।

शेर्पा समुदायको मात्र बसोबास रहेको सो गाउँका छ जना मिलेर क्रियटिभ ब्रदर्स प्रालि नामक संस्था दर्ता गरेर होमस्टे सञ्चालनको तयारी थालेका हुन् ।

संस्थाका प्रोपाइटर पासाङरिता शेर्पाका अनुसार असोज महिनाभित्रै सामुदायिक होमस्टे सञ्चालन गर्ने तयारीका साथ हाल आवश्यक काम भइरहेको छ ।

संस्थामार्फत् सञ्चालन हुने भए पनि होमस्टे छुट्टै दर्ता गर्नुपर्ने प्रावधान रहेकाले सोअनुसार प्रक्रिया शुरू गरिएको शेर्पाले बताउनुभयो । शुरुमा १० देखि १२ वटा घरमा होमस्टे सेवा सञ्चालन गर्ने गरी दर्ताको प्रक्रिया अघि बढाएको उहाँले जानकारी दिनुभयो ।

विदेशी पर्यटकलाई समेत आकर्षित गर्ने योजनाका साथ घरको बासबाहेक छुट्टै कटेज तथा पाहुना घर निर्माण गर्दै आएको उहाँले बताउनुभयो । संस्थाले पेश गरेको परियोजना प्रस्तावना स्वीकृत भई गत आर्थिक वर्षमा प्रदेश १ सरकारले उपलब्ध गराएको १४ लाख रुपियाँ अनुदान रकमले सात वटा कजेट, एउटा पाहुना घर र भान्साघर लगायतका संरचना निर्माण गरेको शेर्पाले बताउनुभयो ।

पर्यटन प्रवद्र्धनअन्तर्गत कृषि पर्यटन योजनाका लागि संस्थाको ५० प्रतिशत साझेदारी रहने गरी प्रदेश सरकारले उक्त अनुदान रकम उपलब्ध गराएको शेर्पाले जानकारी दिनुभयो । नमुना सामुदायिक होमस्टे सञ्चालन गर्ने योजना बनाइएकाले सोहीअनुसार संरचना आकर्षक बनाउन कटेज तथा पाहुना घर बारबेरादेखि छाना छाउनमा समेत परेङ बाँसको प्रयोग गरिएको उहाँले बताउनुभयो ।

तीनै संरचना निर्माण गर्न र संस्थामा आबद्धसमेत ३० परिवारमा आलु, बन्दाकोभी, सिस्नु खेती, लोकल कुखुरा पालन लगायतमा प्रदेश सरकारको अनुदान रकम खर्च गरिएको उहाँको भनाइ छ ।

संस्थाका अर्का सदस्य निमाक्रिक्या शेर्पाले होमस्टे छिट्टै सञ्चालनमा ल्याउने योजना बनाएको भए पनि कोभिड–१९ को महामारीका कारण सम्भव नभएको बताउनुभयो । महामारी कायमै रहे पनि आगामी असोज अन्तिमदेखि सामुदायिक होमस्टे सञ्चालनमा ल्याउने योजना रहेको शेर्पाले बताउनुभयो ।

उहाँका अनुसार होमस्टेको विशेषताअनुसार कोदो, जाँै, उवा, पात्ले सिस्नु, आलुसहित अर्गानिक स्थानीय उत्पादनका परिकारलाई मुख्य प्राथमिकता दिइने छ । त्यस्तै पाहुनाको मागअनुसार अन्य परिकार तथा आवश्यक सुविधा पनि उपलब्ध गराउने योजना रहेको उहाँले सुनाउनुभयो ।

प्रतिक्रिया दिनुहोस्