काठमाडौंको टेलरिङ व्यवसाय छोडेर गाउँमा कृषि व्यवसाय



रामधन राई, खोटाङ

काठमाडौंमा टेलरिङ व्यवसाय सञ्चालन गर्दै आउनुभएका खोटाङस्थित हलेसी तुवाचुङ नगरपालिका–७ महादेवीस्थानका सुविन्द्र गिरी हाल कृषि व्यवसायमा रमाइरहनुभएको छ । चावहिलमा लामो समयदेखि टेलरिङ व्यवसाय सञ्चालन गर्नुभएका गिरीले हलेसी फर्किएर हाल ३२ लाख रुपियाँ लगानी गरेर दूध, मासु तथा तरकारीजन्य उत्पादनमा जुट्नुभएको हो ।

उहाँले हाल दुधजन्य परिकार उत्पादन गर्न गाई फार्म, मासुका लागि स्थानीय जातको कुखुरा र टर्की फार्म स्थापना गर्नुभएको छ । टेलरिङ व्यवसायबाट राम्रै कमाइ भइरहेको भए पनि गाउँमा कृषि पेशाबाट पनि केही गर्न सकिन्छ भन्ने लागेर गाउँ फर्किएको उहाँको भनाइ छ । कृषि फार्ममा शुरुको चरणमा काठमाडौंबाट जर्सी र होलिस्टीन जातको छ वटा गाई ल्याइएको थियो ।

गत वर्षबाट सञ्चालनमा ल्याइएको गाई फर्ममा अहिले दूध दिने माउ गाई र बाच्छाबाच्छीसहित ११ वटा गाई रहेका छन् । करिब ४० रोपनी जग्गामा शुरु गरिएको फार्ममा रहेको सात वटा लैनो गाईले दैनिक ४० देखि ४५ लिटर दूध दिने गरेको उहाँले बताउनुभयो । फार्ममा उत्पादित केही दूध, दही र घ्यू हलेसी बजारमा खपत हुने गरेको गिरीको भनाइ छ ।

पछिल्लो समय कोरोना भाइरसको कारण उत्पादित दूधलाई बजार अभाव भएको छ ।

फलफूल तथा तरकारी खेतीसमेत लगाउनु भएका गिरीको फार्ममा अहिले स्थानीय जातका २ सय कुखुरा बिक्रीका लागि तयारी अवस्थामा छन् । दोस्रो खोरमा ४ सय कुखुरा हुर्किरहेका छन् भने, तेस्रो खोरमा २ सय चल्ला हुर्किरहेका छन् ।

आधिकारिक रुपमा ‘हलेसी कृषि तथा पशुपालन फार्म’ दर्ता शुरु फार्ममा पालिएका कुखुराबाट सबैभन्दा बढी आम्दानी हुने गरेको उहाँको भनाइ छ । स्थानीय जातका कुखुरा फार्मबाटै प्रतिकिलोग्राम भाले सात सय र पोथी ६ सय रुपियाँमा खोरबाटै बिक्री गर्ने गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्