उत्पादनका लागि तीन अर्बको कोष



हेटौंडा, (नेस)

बागमती प्रदेशमा कुल क्षेत्रफलको करिब १७ प्रतिशत अर्थात ३ लाख ४३ हजार २ सय ७४ हेक्टर जमिन खेतीयोग्य छ । त्यसमध्ये ७३ प्रतिशत क्षेत्रफलमा खेती गरिएको छ ।

प्रदेशको पशुपन्छीजन्य उत्पादनमा माछा, मासु, अण्डा, दूध उत्पादन र मह छन् । पशुपालन क्षेत्रले देशको कुल गार्हस्थ्य उत्पादनमा करिब ११ प्रतिशत र कुल कृषि गार्हस्थ्य उत्पादनमा २६ दशमलव ८ प्रतिशत योगदान गर्दै आएका छन् ।

प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले प्रदेशलाई खाद्यान्न तथा पशुजन्य उत्पादनमा आत्मनिर्भर बनाउँदै प्रदेशबाहिर र विदेशमा समेत निर्यात गर्ने लक्ष्यसाथ कृषि क्षेत्रको प्रवद्र्धनमा काम गर्दै आएको छ । प्रदेशभित्र वार्षिक १ लाख मेट्रिक टन मासु र साढे ५ लाख मेट्रिक टन दूध उत्पादन हुने गरेको छ ।

मासु र दूधमा आत्मनिर्भर नजिक रहेको बागमती प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले आर्थिक वर्ष २०७६÷०७७ मा समूहमा काम गर्न रुचाउने किसान र विदेशबाट फर्किएका युवा लक्षित कृषि तथा पशुपन्छी पालनमा सहयोग गरेको छ ।

चालू आर्थिक वर्षदेखि सरकारले स्थापना गर्न लागेको तीन अर्बको कोषबाट सहुलियत ब्याजदरमा ऋण प्रवाह गरेर कृषिसहित उद्यमशीलता प्रवद्र्धन गरिने भएको छ । प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले उद्योग, व्यापार व्यवसाय, पर्यटन उद्योग, शैक्षिक कार्यक्रम, लघु तथा साना उद्योग, वन तथा वातावरणजन्य उद्योग, फोहरमैला व्यवस्थापन, सामाजिक क्षेत्रसँग सम्बन्धित उद्योगलगायत उत्पादन र रोजगारी सिर्जना हुने कार्यक्रमका लागि सहुलियतपूर्ण ब्याजदरमा ऋण उपलब्ध गराउन तीन अर्बको कोषको निर्माण गर्न प्रदेश सरकारले बजेट व्यवस्था गरेको जानकारी दिनुभएको छ ।

पौडेलले कोषमार्फत् उद्यमशीता प्रवद्र्धन गर्न चाहने तथा उत्पादनमा काम गर्न चाहनेले सहूलियतपूर्ण ब्याजदरमा ऋण प्राप्त गर्ने बताउनुभयो । कृषि उपजमा प्रदेशलाई आत्मनिर्भर बनाउन सरकार लागिपरेको उहाँको दाबी छ । कृषिउद्यम अनुगमनका क्रममा हेटौंडाका विभिन्न क्षेत्र पुग्नुभएका उहाँले सरकारले उद्यमशीलता वृद्धि गरी उत्पादन बढाउन तथा रोजगारी सिर्जना गर्न प्रभावकारी कार्यक्रम तयार पारेको बताउनुभयो ।

अनुगमनका क्रममा मुख्यमन्त्री पौडेल हेटौंडा–७ मा रहेको वनदेवी कृषि उद्यमी समूह, सूर्योदय बहुउद्धेश्यीय कृषक समूहलगायत कृषि फार्म पुग्नुभएको थियो । कृषि ज्ञानकेन्द्र चितवनको अनुदान सहयोगमा सञ्चालित दुई कृषि फार्ममा ४० कृषक आबद्ध रहेको हेटौंडा–७ अध्यक्ष राजन थापाले जानकारी दिनुभयो । कृषि उपजमा प्रदेशलाई आत्मनिर्भर बनाउन लागिपर्नुभएका मुख्यमन्त्री पौडेलले प्रदेशका विभिन्न जिल्लामा सरकारमार्फत् अनुदानप्राप्त गरी सञ्चालन भएका कृषि उद्यमको नियमितरुपमा अनुगमन गर्दै आउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्