हालसम्मका कोरोना खोप ५० प्रतिशत पनि प्रभावकारी नभएको डब्ल्यूएचओको दाबी



पेरिस, (एजेन्सी)

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले कोरोना भाइरसविरुद्ध विकसित भइरहेका खोपका सम्बन्धमा निराशा पार्ने बयान दिएको छ। यतिबेला विश्वका कैयौं देश कोरोना खोप परीक्षणको अन्तिम चरणमा छन्। यसरी डब्ल्यूएचओले निर्धारित मापदण्डअनुसार क्लिनिकल परीक्षणको एड्भान्स स्टेजमा पुगेका कुनै खोप ५० प्रतिशत पनि प्रभावकारी नदेखिएको बताएको छ। उक्त विश्व संस्थाले आगामी वर्ष सन् २०२१ सम्म पनि विश्वका सबैले खोपको आवश्यक डोज पाउने आश नभएको पनि जनाएको छ।

विश्व स्वास्थ्य संगठनका प्रवक्ता मार्गरेट ह्यारिसले जेनेभामा विश्वभरि कोरोना भाइसरका कैयौं खोप एड्भान्स क्लिनिकल स्टेजमा रहेको जानकारी दिएका हुन्। तर, कुनै पनि खोपका लागि त्यो पूर्णरूपमा प्रभावकारी भएको भन्न सक्ने अवस्था भने नरहेको उनले बताएका छन्। अर्को वर्षको मध्यसम्म पनि व्यापक खोपको अपेक्षा गर्न नसकिने उनले सचेत गराएका छन्। तेस्रो चरणको परीक्षणमा धेरै समय लागिरहेको छ किनभने ती खोप कोराना भाइरसविरुद्ध कति सुरक्षित छन् र त्यसको कुनै साइट इफेक्ट छ÷छैन भन्ने जस्ता गम्भीर पक्ष हेर्न चाहेको ह्यारिसले बताएका छन्।

हर्ड इम्युनिटीको सम्भावना न्यून
यसअघि विश्व स्वास्थ्य संगठनका आपत्कालीन मामिला प्रमुख डाक्टर माइकल रेयानले हर्ड इम्युनिटी प्राप्त हुने आशामा बस्न नहुने पनि चेतावनी दिएका थिए। विश्वको आवादीका रूपमा भाइरसको प्रसार रोक्न आवश्यक प्रतिरोधात्मक क्षमता विकास हुने स्थितिको अलिकति पनि नजिक नभएको उनले बताएका छन्।

हर्ड इम्युनिटी कुनै समाधान होइन र हामीले जुन कुरा हेर्नुपर्ने हो त्यहाँ यस प्रकारको समाधान नै छैन। हालसम्म भएका धेरैजसो अध्ययनमा पनि १० देखि २० प्रतिशत आवादीमा मात्र सम्बन्धित रोग प्रतिरोधात्मक क्षमता देखिएको छ, ती व्यक्तिहरू नै हर्ड इम्यिुनिटी उत्पन्न गर्न सहायक हुन सक्छन्। तर, यति थोरै एन्टिबडिजको दरबाट हर्ड इम्युनिटी प्राप्त हुन सक्दैन।

संयुक्त राष्ट्रसंघको उक्त स्वास्थ्य एजेन्सीले सुरक्षित र प्रभावकारी प्रमाणित हुनुअघि कुनै पनि कोभिड–१९ खोपको उपयोगका लागि सिफारिस नगर्ने डब्ल्यूएचओका प्रमुखले बताएका छन्। यद्यपि, चीन र रूसले व्यापक प्रयोगको नतिजा नआउँदै आफ्नो खोपको उपयोग गर्न शुरू गरिसकेका छन्।

डब्ल्यूएचओका प्रमुख टेड्रोस अदानामे गेब्रेयसुसले खोपको प्रयोग दशकौंदेखि सफलतापूर्वक गरिँदै आइरहेको बताए। पोलियो र ठेउला उन्मूलनमा यसको योगदान रहेको उनले उल्लेख गरेका छन्। आफूले जनतालाई प्रभावकारी र सुरक्षित नभएको कुनै पनि खोपलाई डब्ल्युएचओले समर्थन नदिने कुरामा आश्वस्त पार्न चाहेकोमा उनले जोड दिएका छन्।

जर्जिया विश्वविद्यालयको भ्याक्सिन र इम्युनोलोजी केन्द्रका निर्देशक टेड रोसले कोरोना शुरूमा विकसित भएका खोप त्यति प्रभावकारी नहुने सम्भावना व्यक्त गरेका छन्। टेड रोस आफै पनि कोरोना भाइरसको एक खोपमा काम गरिरहेका छन् जुन सन् २०२१ मा क्लिनिकल ट्रयायलको चरणमा पुग्नेछ। केही अन्य अनुसन्धानकर्ताहरूले पनि खोप विकसित गर्ने विषयमा एउटै रणनीतिमा धेरै आश गरेर बस्न नहुने बताएका छन्। विश्वभरि प्रयोगशालामा ८८ खोप प्रि–क्लिनिकल ट्रयालको चरणमा छन्। यसमा ६७ खोप निर्माता सन् २०२१ को अन्त्यतिर मात्र पहिलो क्लिनिकल परीक्षण थाल्नेछन्।

रूस र चीनले खोप दिइसके
यसबीच रूसले आफ्ना दुई कोरोना खोपलाई अनुमति प्रदान गरिसकेको छ। यद्यपि, सबैभन्दा पहिलो कोरोना खोप भएको दाबी गरिएको ‘स्पुतनिक भी’लाई लिएर विज्ञहरूले आशंका व्यक्त गर्दै आएका छन्। उक्त खोपलाई मास परीक्षण नहुँदै स्वीकृति दिइएको हो ।

चीनले पनि एक महिनाअघि नै आफ्ना नागरिकलाई खोप दिन थालिसकेको छ। चीनले जुलाई २२ देखि नै आफ्ना नागरिकलाई खोपको डोज दिइरहेको चीनको राष्ट्रिय स्वास्थ्य आयोगले शनिबार खुलासा गरेको हो। यद्यपि, चीनमा क्लिनिकल ट्रायलको अन्तिम चरणमा पुगेका चारमध्ये कुन खोप जनतालाई दिइएको हो भन्ने बताएको छैन। उक्त खोपको कुनै नराम्रो असर नदेखिएको पनि आयोगले दाबी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्