६८ व्यासायिक फर्ममाथि कारबाही



काठमाडाैं, (नेस)
पछिल्लो दुई साताको अवधिमा बजार अनुगमन गरी वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले ६८ वटा फर्मलाई कारबाही गरेको छ । सो कारबाहीबाट ४० लाख रुपियाँ जरिवाना असुली भएको विभागले जनाएको छ ।

भदौ १ गतेदेखि १५ गतेसम्म विभागले बजार अनुगमन गर्दा कैफियत फेला परेपछि गरेको कारबाहीमा ती व्यावसाियक फर्मबाट ४० लाख ३५ हजार रुपियाँ राजस्व संकलन भएको हो ।

सो अवधिमा २७३ फर्म अनुगमन गरिएकोमध्ये १४ वटा फर्म सामान्य अवस्था र १५६ फर्ममा सामान्य कैफियत देखिएर तत्काल सुधार गर्न निर्देशन दिइएको थियो ।

नौ वटा फर्मबाट परीक्षणका लागि वस्तुको नमूना संकलन लिइएको, २३ फर्मलाई स्पष्टीकरण सोधिएको, १६ फर्मको कारोबार रोक्का तथा शिलबन्दी गरिएको थियो ।

अनलाइन पसललाई ३ लाख, औषधि पसललाई ३ लाख ९५ हजार, खाद्य तथा किराना पसललाई ५ लाख ८० हजार, गार्मेन्टलाई ५० हजार जरिवाना गरिएको विभागले जनाएको छ ।

त्यस्तै डिपार्टमेन्टल स्टोरबाट २ लाख ६० हजार, तरकारी पसलबाट १० हजार, निर्माण सामग्री पसलबाट ५० हजार र पानी उद्योगबाट ९ लाख जरिवाना संकलन भएको छ ।

साथै पार्टी प्यालेसबाट ३ लाख, फलफूल पसलबाट ५५ हजार, मार्टबाट ७० हजार, मासु पसलबाट ३ लाख, मास्क उत्पादनबाट १ लाख ५० हजार र सर्जिकल सप्लायर्सबाट ५० हजार जरिवाना उठाइएको विभागको तथ्यांक छ ।

प्रतिक्रिया दिनुहोस्