आइसोलेसनको अवस्था : पानी ट्यांकी रित्तै, गेटैभरी मास्क



न्युज अफ नेपाल, हेटौंडा ।

४ घर बताउने ३१ वर्षीय पुरुष कोरोना परीक्षणका लागि कर्रा आइसोलेसन पुगे । मोटरसाइकल पार्किङ गरेर आइसोलेसन छिर्नुअघि हातधुन पानीट्यांकी भएको ठाउँमा पुगे । अनि, धारा खोल्न खोजे ।

तर, पानीट्यांकी त रित्तै पो रहेछ । उनले रिसाउँदै भने–कस्तो अव्यबस्थित हो आइसोलेसन ? न पानी छ, न त हात धुनेसाबुन नै । भुइँभर कत्ति फोहोर हो यो पुरानो मास्कको ? सुरक्षाको कुनै सावधानी नै छैन । महामारीको अबस्थामा पनि सरकारले निर्माण गरेको आइसोलेसनमा हातधुने पानी पनि छैन । उनी रिसाउँदै गेटभित्र छिरे । अनि, त्यहाँका केही कर्मचारीलाई यसबारे जानकारी दिन खोजे । तर, कसैले यसमा ध्यान नदिएको उनले गुनासो गरे ।

हेटौंडा–४, कर्रामा रहेको श्रमिक माध्यमिक विद्यालयमा निर्माण गरिएको कोरोना आइसोलेसन वार्डमा दिनहँ स्वाब संकलन गराउन धेरै मानिसको आवतजावत हुने गरेको छ । कोरोनाको लक्षणसहित एकिन गर्न स्वाब परीक्षण गर्न दिन जाने ठाउँ उक्त आइसोलेसनको गेटमै फालिएका पुराना मास्कको फोहोर देख्दा बिरामीहरु आइसोलेसन जाँदा नै जोखिम बढ्नेमा त्रसित हुन थालेका छन् ।

भित्र छिर्ने गेटवरिपरि प्रयोग गरिएको मास्क यत्रतत्र छरिएको अबस्थामा छन् । यतिमात्र होइन, हातधुन ढोकामै राखिएको पानीट्यांकीमा एक थोपा पानी छैन । जबकि, स्वास्थ्यकर्मीहरु बेलाबेलामा साबुनपानीले हात धुनुपर्ने बताउँदै आएका छन् । कोरोना संक्रमित बिरामीसमेत रहेका आइसोलेसनमा हातधुने पानी पनि नरहेकोमा धेरैले गुनासो गरे ।

स्वाब दिन भित्र जाँदा हातधुन पाइयो भने भित्रका अन्यलाई सर्ला भन्ने डर नहुने र भित्रबाट कीटाणु हातमा आएछन् भने पनि हात धँुदा सुरक्षित भएर घर फर्कन पाइने ४५ वर्षीय एक महिलाले बताइन् । उनले भनिन्–हात धुनुपर्छ भनेर सिकाउने डाक्टर र नर्स बसेर सेवा दिने ठाउँमा नै यस्तो हुने रहेछ । यी फोहोर हटाउने कोही छैनन् कि क्या हो ? हामीलाई त यहाँ आउँदा पो कोरोना लाग्ला भन्ने डर हुने भयो ।

सेवा लिन आइसोलेसन आएका धेरैको भनाइ सुनेपछि हेटौंडा उपमहानगर जनस्वास्थ्य निरीक्षक भोलाप्रसाद चौलागाईंले पानीट्यांकी चुहिने समस्या भएका कारण पानी नराखिएको बताउनुभयो । उहाँले भन्नुभयो–मर्मत गर्ने धेरै कोशिस गरेका थियौं । इन्जिनियरिङ हिसाबले बनाउनुपर्ने समस्या भएका कारण बनाउन मुस्किल भएको र पानी राखेर सेवाग्राहीलाई सेवा दिन सकिएको छैन ।

‘मास्कको फोहोर बेलुका सधैं सफा गर्ने गरिएको छ । तर, विहान उस्तै हुन्छ । बिरामीको स्वास्थ्यलाई ध्यान राखेर व्यबस्थापन गरिनेछ,’ जनस्वास्थ्य निरीक्षक तथा आइसोलेसन वार्ड इन्चार्ज चौंलागाईंले भन्नुभयो ।

उपमहानगरपालिकाको समन्वयमा सञ्चालन हँदै आएको आइसोलेसन तथा स्वाब संकलन केन्द्रको जनप्रतिनिधिले ख्याल नगरेकै हुन् त भन्ने प्रश्न यतिबेला आइसोलेसन पुगेका बिरामीको साझा प्रश्न बन्न पुगेको छ ।

बिरामीको हितमा नै सधैं लागिपरेको उपमहानगर उपप्रमुख मीना लामा बताउनुहुन्छ । उहाँले भन्नुभयो–त्यस्तो छ भन्ने त्यति जानकारी पनि आएको छैन । त्यस्तो समस्या छ भने हामी तुरुन्त व्यबस्थापन गर्छौं । पानीट्यांकी र फोहोर व्यबस्थापनमात्र नभएर जस्तो समस्या परे पनि सहयोग गरिने उहाँ बताउनुहुन्छ ।

आइसोलेसनबाट हरेक दिन कोरोनाको लक्षण देखिएका, संक्रमण पुष्टि भएकाको पुनः परीक्षण तथा कोरोना भाइरसका शंकास्पद बिरामीको स्वाब संकलन गरिँदै आएको छ । यहाँबाट संकलित स्वाब परीक्षणका लागि हेटौंडा–१० स्थित प्रादेशिक प्रयोगशालामा पठाइने गरिएको छ ।
सुरुको समयदेखि हालसम्म ५ हजार ८ सय ४ जनाको परीक्षणका लागि स्वाब संकलन गरिएको जनस्वास्थ्य कार्यालय हेटौंडाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्