उपत्यकाको गम्भीर अवस्था



हिजोबाट काठमाडौं उपत्यकामा दोस्रो चरणको निषेधाज्ञा जारी भएको छ । उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञा गर्ने निर्णय गरेअनुसार यो निषेधको अवस्था सिर्जना भएको हो । उपत्यकामा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि निषेधाज्ञा जारी गरेको बताइए पनि गत सात÷आठ दिनको निषेधको अवस्थामा पनि राजधानीमा संक्रमितको संख्या भने घटेको छैन ।

उपत्यकाका १८ वटा नगरपालिकाका मेयरको साझा संस्था नगरपालिका मेयर फोरमले तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई दोस्रो चरणको निषेधाज्ञा जारी गर्न सिफारिस गरेपछि एक साता लामो निषेधाज्ञा शुरू भएको थियो । उपत्यकामा कोरोना संक्रमितसँग कन्ट्रयाक्ट ट्रेसिङमा रहेका सबैलाई परीक्षण गर्न निषेधाज्ञाको समय एक साता थप गरिएको बताइएको छ । पहिलो चरणको एक सातामा त्यो काम हुन सकेन ।

कामभन्दा पनि कुरा गर्न र योजना बनाउन मात्रै तल्लीन उपत्यकाका स्थानीय तहका अधिकारीले कन्ट्रयाक्ट ट्रेसिङमा परेकाको पीसीआर परीक्षण गर्न शुरुआत नै गरेनन् । अहिले यो साताको निषेधाज्ञामा कन्ट्रयाक्ट ट्रेसिङमा परेका सबैको पीसीआर गर्ने योजना उनीहरूको छ । संक्रमण फैलिएको पाँच महिनामा नियन्त्रण गर्न नसकेको स्थानीय तहले यो एक साताभित्र करिब ४० हजार जनसंख्याको पीसीआर परीक्षण गर्ने तयारी गरेको छ । एक जना संक्रमितले १३ जनासम्मलाई संक्रमण गर्न सक्ने आँकलनसहित स्थानीय तहले ३ हजार ५ सय संक्रमितको कन्ट्रयाक्टमा परेका व्यक्तिको पीसीआर परीक्षण गर्ने योजना बनाएको छ ।

यो सम्भव छ वा छैन त्यसको परिणाम एक सातामा देख्न सकिन्छ । संक्रमितको सम्पर्कमा रहेका व्यक्तिको परीक्षण गरेपछि उपत्यकाको नाकामा थप कडाइ गर्ने योजनामा रहेको मेयर फोरमले अबको एक साता परीक्षण गरेपछि यकिन तथ्याङ्क आउने आँकलन गरेको छ । स्थानीय निकायको जनस्वाथ्य विज्ञसहितको टोलीले कन्ट्याक्ट ट्रेसिङ गरी उनीहरूको कोरोना परीक्षण गर्नेछ ।

कन्ट्रयाक्ट ट्रेसिङमा परेका सबैको सम्बन्धित क्षेत्रमै गएर परीक्षण गर्ने तयारी रहेको छ । त्यसो गरेपछि केही दिनसम्म ह्वात्तै बढेको संक्रमितको संख्या एक सातापछि घट्दै जाने सम्भावना रहेको छ । मेयर फोरमले ल्याएको यो रणनीति एक साताभित्र सकिने हो वा होइन, त्यो भने शंकाको घेरामा छ । पछिल्लो एक सातामा उपत्यकामा कोरोना संक्रमितको संख्या दैनिकजसो बढ्न थालेपछि सरकारसमेत गम्भीर हुन थालेको छ । दैनिक करिब तीन सयको हाराहारीमा संक्रमित थपिएपछि उनीहरूको व्यवस्थापन गर्न स्थानीय तह र सरकारलाई कठिन पर्न थालेको छ ।

संक्रमण शुरू भएको दुई महिनासम्म नगन्य संक्रमित रहेको नेपालमा संक्रमितको संख्या करिब ३५ हजार पुग्न लागेको छ । मृतकको संख्या दुई सयको निकट पुगेको छ । यस्तो अवस्थामा उपत्यकालाई कोरोना संक्रमणबाट जोगाउन कन्ट्रयाक्ट ट्रेसिङमा परेका सबैको तत्काल पीसीआर परीक्षण गर्नुको विकल्प छैन । मुलुकको केन्द्रीय राजधानी रहेको उपत्यकामा कोरोना संक्रमण बढे देशकै अवस्था नाजुक हुनेछ । त्यसका लागि उपत्यका मेयर फोरम र संघीय सरकारको भूमिका महत्वपूर्ण हुनेछ । तर, विगतका प्रतिबद्धताहरूको कार्यान्वयनको अवस्था फितलो देखिएकाले यस योजनाको कार्यान्वयनमा पनि शंका भने बाँकी नै छ ।

प्रतिक्रिया दिनुहोस्