६७ अर्ब घाटामा रहेको शोधनान्तर स्थिति यस वर्ष २८२ अर्ब बचतमा



नेपाल समाचारपत्र, काठमाडौं
आर्थिक वर्ष २०७६÷७७ मा चालू खाता घाटा ८७ दशमलव ९ प्रतिशतले घटेर ३२ अर्ब ६ करोड रुपियाँ कायम भएको छ । अघिल्लो वर्ष यस्तो घाटा २६५ अर्ब ३६ करोड थियो । अमेरिकी डलरमा अघिल्लो वर्ष २ अर्ब ३५ करोड रहेको चालू खाता घाटा समीक्षा वर्षमा ३२ करोड ६० लाख रहेको छ ।
आर्थिक वर्ष २०७६÷७७ मा पुँजीगत ट्रान्सफर ८ दशमलव १ प्रतिशतले घटेर १४ अर्ब २१ करोड कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ४९ दशमलव १ प्रतिशतले वृद्धि भई १९ अर्ब ४८ करोड पुगेको छ । अघिल्लो वर्ष पुँजीगत ट्रान्सफर १५ अर्ब ४६ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी १३ अर्ब ६ करोड रहेको थियो ।
त्यस्तै आर्थिक वर्ष २०७६÷७७ मा शोधनान्तर स्थिति २८२ अर्ब ४१ करोडले बचतमा रहेको छ । अघिल्लो वर्ष शोधनान्तर स्थिति ६७ अर्ब ४० करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा शोधनान्तर स्थिति अघिल्लो वर्ष ५९ करोड १० लाखले घाटामा रहेकोमा समीक्षा वर्षमा २ अर्ब ३५ करोडले बचतमा रहेको छ । २०७६ असार मसान्तमा १०३८ अर्ब ९२ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ३४ दशमलव ९ प्रतिशतले वृद्धि भई २०७७ असार मसान्तमा १४०१ अर्ब ८४ करोड पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०७६ असार मसान्तमा ९ अर्ब ५० करोड रहेकोमा २०७७ असार मसान्तमा ११ अर्ब ६५ करोड पुगेको छ ।
कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७६ असार मसान्तमा ९०२ अर्ब ४४ करोड रहेकोमा २०७७ असार मसान्तमा १२२६ अर्ब १२ करोड पुगेको छ । बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७६ असार मसान्तमा १३६ अर्ब ४७ करोड रहेकोमा २०७७ असार मसान्तमा १७५ अर्ब ७१ करोड पुगेको छ । २०७७ असार मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२ दशमलव ८ प्रतिशत रहेका छ ।

प्रतिक्रिया दिनुहोस्