दुव्र्यवहार बन्द गरौं !



काठमाडौंको नयाँ वानेश्वरको मिलनचोकमा एक होस्टलमा बस्दै आएका डाक्टर र नर्समाथि टोल सुधार समितिकै अध्यक्ष र सचिव सहभागी भएर गरिएको दुव्र्यवारले यतिखेर सबैलाई लज्जित बनाएको छ । कोरोना भाइरसले आक्रान्त भएका नागरिकलाई ज्यानको बाजी थापेर सघाउने व्यक्तिलाई सम्मान र स्वागत गर्नुपर्नेमा उनीहरुमाथि उल्टै दुव्र्यवहार गर्ने मानसिकता नेपालीलाई सुहाउने कार्य होइन ।

नेपालमा कोरोना संक्रमण भएका या संक्रमणको जोखिममा रहेका वा होम आइसोलेसनमा बसेका मानिसहरुलाई हेर्ने नजर कुनै गम्भीर अपराध गरेको अपराधीलाई हेर्नेभन्दा तुच्छ बनाउनेहरु नेपाली नै हुन् भन्दा लज्जाबोध हुन्छ ।

जाने बुझेका तथा पढे लेखेकाहरूको यस्तो पाखण्डी व्यवहारले कोरोना संक्रमण नभएकाहरू र एकल बास बसेकाहरूलाई थप मानसिक तनाबमा पारेको छ । अझ संक्रमितहरुको घर–परिवारको अन्य सदस्यहरूलाई धेरै पर देखे पनि उसलाई देख्यो कि संक्रमण भइहाल्नेजस्तो गरी तर्सिने प्रचलन बढ्दो छ । कोरोना संक्रमण जो कोहीलाई पनि हुनसक्छ । संक्रमण हुने वित्तिकै मर्ने पनि होइन, आत्म विश्वास बलियो बनाउनेहरु कोरोनालाई जितेर घर फर्किरहेका छन् ।

पढेलेखोका भन्दा नपढेका आमा–बुवाहरूको मिठो व्यवहारले कोरोना संक्रमितहरू मानसिक तनावबाट मुक्त भएको देख्दा लाग्छ कोरोना भाइरसभन्दा त पढेलेखेका सामाजिक भाइरसहरूबाट धेरै संक्रमितहरुको ज्यान जाने खतरा रहेको छ । सामन्ती, रूढिवादी व्यवस्थासँगै दलाल भ्रष्ट राजनीतिले कचल्टिएको नेपाली समाजमा कोरोना भाइरससँग भन्दा सामाजिक भाइरसहरूसँग बच्न जरुरी देखिन्छ ।

कोरोना संक्रमण जो कोहीलाई पनि हुनसक्दछ । कोरोनाको कहरले सताइरहेको बेला उता विदेशमा नेपाली अलपत्र हुने र यता देशभित्र विभिन्न क्षेत्रमा बाढी–पहिरो जाने क्रम पनि देखिएको छ । देशलाई रेमिटयान्स तिर्ने आफ्ना नागरिक लिन सरकारले दोब्बर भाडा तोकेर पनि आनाकानी गरिरहेको छ ।

विदेशमा अलपत्र परेका नेपालीहरु तीन–चार महिनादेखि उद्धार हुने आशमा बसेका छन् । तर जहाज नआउँदा आधा पाउरोटी खाएर नेपाल फर्कने सपना देखिरहेका छन् । यता मन्त्रीदेखि कर्मचारी सबैलाई कमिसनको पिरलो छ । कोरोनाका बिमारीलाई उपचार कक्ष, परीक्षण मेसिन, अस्पताल तथा एकल बासको अभाव छ ।

कोरोना संक्रमितहरुलाई गलत नजरले हेर्न दृष्टिकोण बन्द गर्नुपर्छ । समाजका अगुवा बुद्धिजीवी, नेता, शिक्षकहरुले संक्रममितहरुमाथि बनाउने धारणा बदल्नुपर्छ । जनतालाई बुझाउने, बाटो देखाउने अगुवाहरू नै बाटो हगुवाजस्तो सामाजिक भाइरसको रूपमा देखा पर्दा नेपालीहरुको चेतना स्तर कति हो भन्ने गम्भीर प्रश्न पनि जन्मिएको छ ।

दुई तिहाई बहुमत प्राप्त नेकपा नेतृत्वको सरकारले देशमा कोरोनाले थलिएका जनताको जनजीविका, स्वास्थ्य, शिक्षा र रोजगारीको व्यवस्था गर्नुको सट्टा कमिसनमुखी, भागबण्डाको लुछाचुडीमा लागेको देख्दा लाग्छ सरकारको धेरै जिम्मेवारी नै छैन ।

मन्त्री, नेताहरूले कोरोनालाई लैनो गाई सम्झिदै उद्धार र स्वास्थ्य सामग्री खरिदको नाममा, राहतको नाममा, देश र जनताको नाममा कमिसनको खेती चलाइरहेका छन् । स्थानीय, प्रदेश सरकार र संघीय सरकारको काम गर्ने तौरतरिका र निर्णयहरु हेर्दा कोरोना भाइरसभन्दा हजारौँ गुणा घातक सामाजिक भाइरस हुन् भन्ने प्रमाणित भएको छ ।

प्रतिक्रिया दिनुहोस्