पेट्रोलियम पाइपलाइन सेवा सन्तोषजनक



नेपाल समाचारपत्र, काठमाडौं

भारतको मोतिहारीदेखि नेपालको अमेखगन्जसम्म पेट्रोलियम पदार्थ आपूर्तिका लागि शुरू गरिएको पाइपलाइनको सेवाप्रति दुवै मुलुकका अधिकारीहरूले सन्तुष्टि प्रकट गरेका छन् ।

नेपालस्थित भारतीय राजदूतावासले जारी गरेको विज्ञप्तिअनुसार दुवै मुलुक सो सेवाबाट लाभान्वित भएको निष्कर्ष निकालेका हुन् । तेल तथा ग्यास सहयोगसम्बन्धी नेपाल–भारत संयुक्त समूहको दोस्रो बैठक १३ अगष्ट २०२० मा भिडियो कन्फरेन्समार्फत् सम्पन्न हुँदा दुवै देशका अधिकारीले त्यस प्रकारको निष्कर्ष निकालेको विज्ञप्तिमा जनाइएको छ ।

सो बैठकको अध्यक्षता भारतको पेट्रोलियम तथा प्राकृतिक ग्यास मन्त्रालयका सहसचिव एसएचबीएन रेड्डी तथा नेपालको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव प्रेमकुमार श्रेष्ठले संयुक्त रूपमा गर्नुभएको थियो ।

उक्त बैठकमा काठामाडौंस्थित भारतीय दूतावासका प्रतिनिधि, भारतको सरकारी क्षेत्रका तेल तथा ग्यास कम्पनी आईओसीएल, जीएआईएल तथा एचपीसीएल, नेपालका अर्थ तथा परराष्ट्र मन्त्रालय र नेपाल आयल निगमका प्रतिनिधिहरूले भाग लिएका थिए । बैठकले सन् २०१९ को सेप्टेम्बरमा दुवै मुलुकका प्रधानमन्त्रीले संयुक्त रूपमा उद्घाटन गरेको मोतिहारी–अमलेखगन्ज पेट्रेलियम पाइपलाइनको सञ्चालन दक्षिण एसियाकै पहलो भएकोमा गौरवको अनुभूति ग¥यो ।

विज्ञप्तिमा जनाइएअनुसार नेपाल आयल निगमको अमलेखगन्ज डिपोबाट नेपालको ठूलो परिमाणको तेल आश्यकताको पूर्ति भएको छ । सो बैठकमा पेट्रोलियम ऊर्जा क्षेत्रमा भविष्यमा सहयोगका क्षेत्रबारे पनि दुवै पक्षले छलफल गरेका थिए ।

दुई मुलुकबीचको तेल तथा ग्यास क्षेत्रको सहयोगमा विविधिकरण गर्न र लामो समयदेखि आईओसी र एनओसीबीचकोे सहयोगलाई अझै सुदृढीकरण गर्ने उद्देश्यले सन् २०१७ मा जेडब्ल्युजी संयन्त्रको स्थापना भएको थियो । पहिलो बैठक गत जनवरीमा नयाँदिल्लीमा भएको थियो । पेट्रोलियम क्षेत्रको संलग्नता विस्तारका लागि आ–आफ्ना सम्बन्धित कम्पनीलाई दुवै पक्षले प्रोत्साहित गरेको पनि विज्ञप्तिमा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्