सवारीको नम्बरप्लेट



मुलुकको भाषा संस्कृतिलाई जोगाउन जे–जस्तो उपाय अपनाउन पनि सरकार पछाडि हट्नु हुँदैन । भाषा संस्कृति मुलुकको पहिचान हो । यसले सम्बन्धित राष्ट्रको गौरव बढाउँछ । कुनै पनि राष्ट्रको सान नै भाषा संस्कृति हो । आफ्नो मौलिकतालाई बिर्सिएर विदेशीको इशारा वा अन्य कुनै कारणले भाषा संस्कृतिलाई वास्ता नगर्ने मुलुकलाई छिमेकी वा अन्य राष्ट्रले हेप्छन् । जसले आफ्नो गौरव बढाउने भाषा संस्कृति तथा रींति रिवाजलाई जगेर्ना गर्छ, सो राष्ट्रले अन्यबाट हेपिन पर्दैन ।
सवारीसाधनको नम्बर प्लेटमा अंग्रेजी अक्षर राख्ने परम्परा शुरू गरेर सरकारले प्रत्यक्ष÷अप्रत्यक्षरूपमा नेपाली भाषालाई धावा बोलेकै मान्नुपर्छ । सवारीसाधनको इम्बोस्ड नम्बर प्लेटमा अङ्ग्रेजी भाषालाई स्थान दिएपछि यस बारेमा बहस पनि शुरू भएको थियो, तर सरकारले यसलाई वास्ता नगरी सम्पूर्ण सवारीसाधनमा नम्बर प्लेटमा अङ्ग्रेजी भाषा प्रयोग गर्ने नै दृढता व्यक्त गरेको थियो । तर, ढिलै भए पनि प्रधानमन्त्री केपी शर्मा ओलीले त्यस्ता नम्बर प्लेटमा देवनागरी लिपि नै प्रयोग गर्न आफू दृढ रहेको बताएर नेपाली भाषाले मान्यता पाउँछ कि भन्ने आस जागेको छ । केही दिनअघि मात्र नेपाल प्रज्ञा प्रतिष्ठानले सवारीसाधनको नम्बर प्लेटमा अङ्ग्रेजी भाषाको सट्टा देवनागरी लिपि प्रयोग गर्न प्रधानमन्त्री ओलीलाई सुझाव दिएको थियो । सो सुझावप्रति आफू गम्भीर भएको र सवारीसाधनको नम्बर प्लेटमा देवनागरी लिपि नै प्रयोग गराउने वचन दिनुभएको छ । नेपालको संविधानको धारा ७ को उपधारा (१) मा देवनागरी लिपिमा लेखिने नेपाली भाषा नेपालको सरकारी कामकाजको भाषा हुने भनी स्पष्टरूपमा उल्लेख गरिएको छ । झट्ट सुन्दा र हेर्दा सवारीसाधनको नम्बर प्लेटमा राखिने भाषा सरकारी कामकाजको होइन भन्ने अर्थ गर्न सकिएला, तर विदेशीलाई लेखिनेबाहेक नेपालभित्र लेखिने वा निर्णय गरिने विषय जुनसुकै पनि नेपाली भाषा हुनुपर्छ । यसो भयो भने संविधानसम्मत हुन्छ । सरकारले यसअघि सवारीसाधनको नम्बर प्लेटमा लेखिने भाषा अङ्ग्रेजी हुने भनी गरिएको निर्णय संशोधनीय नै थियो ।
प्रधानमन्त्री ओलीले ढिलै भए पनि सवारीसाधनको नम्बर प्लेटमा देवनागरी लिपि नै राख्ने गरी दिएको वचन पूरा गर्नु अब सरोकारवाला सबैको कर्तव्य हुनुपर्छ । भन्नेहरूले नम्बर प्लेटमा अङ्ग्रेजी भाषा राख्ने कार्यको शुरुआत विदेशी दबाबले हो भनी आरोप पनि लगाउन थालेका थिए । अब जे–जस्तो भए पनि नम्बर प्लेटमा देवनागरी लिपि राखेर नेपाली भाषा, राष्ट्रियता, राष्ट्रिय सुरक्षा, संविधान, मौलिकताको जगेर्ना गर्नुपर्छ । गाउँघरमा अङ्ग्रेजी अक्षर र अङ्क बुझ्न केही कठिन हुन सक्ने यथार्थलाई पनि निर्णयकर्ताहरूले बुझ्न आवश्यक छ । कहिले काहीं सामान्य लेखपढ गर्न सक्नेले पनि नम्बर प्लेटमा भएको अक्षर र अङ्कलाई खुट्याउन आवश्यक हुन्छ । विशेषगरी सवारीसाधनको दुर्घटना हुँदा यस्ता कुराको आवश्यकता खड्किने गर्दछ । यस्ता विविध कारणले गर्दा नेपाली सवारीसाधनमा देवनागरी लिपिको प्रयोग गरी नेपाली भाषाको जगेर्ना गर्नु आवश्यक भएको छ । प्रधानमन्त्रीको भनाइले सार्थकता पाओस् ।

प्रतिक्रिया दिनुहोस्