बोली र व्यवहारमा बेमेल



सरकारले ७७ रै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई कोरोना संक्रमण नियन्त्रणका लागि निषेधाज्ञा लागु गर्ने अधिकार दिएको छ । सोही अधिकार प्रयोग गर्दै काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका प्रजिअले आजदेखि एक साताका लागि निषेधाज्ञा जारी गरेका छन् । विगतका लकडाउन खासै सफल नभएको अनुभवका बीच घोषणा गरिएको निषेधाज्ञा व्यवहारमा कति सफल हुनेहो, सबैतिर आशंका छ । नेपालमा कोरोना संक्रमणले निकै चुनौतीपूर्ण अवस्था सिर्जना गरिरहेको छ । सरकारले नाम मात्रको लकडाउन गरेर कोरोना संक्रमण नियन्त्रणमा आउन सक्दैन ।

आम जनतालाई मान्य हुनेगरी सरकारले कार्यक्रमसहित अघि नबढ्ने हो भने फेरि पनि निषेधाज्ञाले आर्थिक नोक्सानी मात्र दिलाउने छ, संक्रमण घटाउने छैन । संक्रमण यही किसिमले बढ्ने हो भने नेपालमा ठूलो दुर्घटना निम्तिन धेरै समय नलाग्ने कोरोनाका विषयमा सूक्ष्म गतिमा अध्ययन गरिहेका थुंग्ची मेडिकल कलेज चीनका रिसर्च स्कलर डा. रमेश आचार्यले आफ्नो अनुभव सहितको सुझाव सरकारलाई दिइसक्नुभएको छ ।

चीन सरकारले कोरोना संक्रमित र सम्भावित संक्रमितलाई कसरी सुरक्षाको व्यवस्था मिलाएको थियो भन्ने विषयमा यस्ता अनुभवी व्यक्तिहरुबाट नेपाल सरकार, सरकारले तोेकेका विज्ञ, राजनीतिक दल, स्वयंसेवी संघ–संस्थाहरु र विशेषगरी युवाहरुले चीनको व्यावहारिक पक्षलाई अँगालेर नेपाल र नेपाली जनतालाई कोरोना संक्रमणबाट थप जोखिम हुन नदिन पहल गर्नैपर्छ ।

खानेकुरा के खाने र के नखाने भनेर चीन सरकारले ३ महिनासम्म माछा, मासु, चराचुरुङ्गी, खशी, विशेषगरी बंगुर, कुखुरा र सिफुडहरु पूर्णरुपमा सिल गरेको र तरकारी र खाद्यान्न घरघरमा वितरण गर्नको लागि पिएलएका भोलेन्टियरहरु खटाएको अवस्थालाई डा. आचार्यले चित्रित गर्नुभएको छ । नेपाल सरकारले दोस्रोपटक पुनः लकडाउन घोषणा गरिरहदा काठमाडौ, ललितपुर, भक्तपुर, वीरगंज, चितवन, बिराटनगर लगायतका थुप्रै जिल्लाहरु कोरोनाको हट स्पट बन्दै गएको अवस्था छ । यो अवस्थालाई न्यूनीकरण गर्न र थप संक्रमित हुन नदिनका लागि नेपाल सरकारले विज्ञहरुलाई फिल्डमै खटाएर योजनाबद्ध रुपमा क्षेत्रगत अध्ययन गरी काम गर्ने–गराउने वातावरण सिर्जना गर्नुपर्छ ।

नेपाल एउटा सानो मुलुक भएकाले ठूला मुलुकले गरेका कामको १० प्रतिशत मात्र काम भएपनि कोरोना नियन्त्रणका लागि सफलता हातपार्न सकिन्छ । कुर्सीको खेल संकटमा हैन फुर्सदमा खेलौं । अहिले देश र जनजीवनलाई स्वस्थ बनाउने अठोटका साथ सबै पक्ष व्यावहारिक रुपमै अघिबढ्ने प्रण गरौं !

राजनीतिक दलहरुले पनि आफ्ना स्वार्थका माग पूरा गर्न मात्र सडक जाम गर्ने र भिड उतार्ने नभै व्यवस्थित र मर्यादित तरिकाले देश र जनताको हितका लागि चीनले गरेजस्तै स्वयम्सेवक कार्यकर्ता घर–घरमा खटाएर दैनिक जीविकोपार्जनका लागि आवश्यक पर्ने खाद्यान्न आपूर्तिमा सहयोग पुर्याउने अठोटका साथ अघि बढ्नसके नेपालमा पुनः लकडाउन गर्नुपर्ने अवस्था सृजना हुनेछैन । कोरोना नियन्त्रणका लागि सरकार त सजग हुनुपर्छ नै, साथमा आम जनता पनि चनाखो हुनुपर्छ । एक–दुई साता जनताले दुख भोग्दा कोरोना सून्यतिर झ¥यो भने त्यसलाई ठूलो उपलव्धि मान्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्