लकडाउनमा सल्यानबाट ७ करोडको तरकारी बिक्री



सरिता चलाउने, सल्यान
जिल्लाको कपुरकोट गाउँपालिकाका उज्जरसिंह पुनले यस वर्ष पाँच–पाँच रोपनीमा अदुवा टमाटर खेती गर्नु भएको थियो । उहाँ कोरोनाका कारण लकडाउन हुँदा तरकारी बिक्री हुँदैन कि भन्ने चिन्तामा हुनुुहुन्थ्यो । तर, हाटबजार सञ्चालन भएपछि तरकारी बिक्री गर्न उहाँलाई समस्या छैन ।

लकडाउनले भारतीय तरकारी नआउँदा र तराईमा बाढीका कारण यस वर्ष स्थानीय तरकारीले राम्रो बजार पाएको किसान पुनले बताउनुभयो । कपुरकोट बेमौसमी तरकारी खेतीका लागि परिचित छ । पुनका अनुसार कोरोनाको डरले तरकारी बिक्री गर्न पाइदैन भनेर धेरै किसानले थोरै तरकारी लगाएका थिए । उत्पादन कम भए पनि बजार मूल्य भने यस वर्ष सन्तोषजनक रहेको उहाँको भनाइ छ ।

कपुरकोटकै अर्का किसान खडकबहादुर वलीलाई पनि ३ रोपनीमा लगाएको तरकारी बिक्री हुँदैन कि भन्ने चिन्ता थियो, हाटबजार सञ्चालन भएपछि उहाँले अहिलेसम्म १ लाख ९० हजार कमाई गर्नुभएको छ । कोरोनाका कारण सरकारले लागू गरेको लकडाउनमा पनि कपुरकोट क्षेत्रका किसानलाइ निर्वाध रुपले बेमौसमी तरकारी बिक्री गर्ने वातावरण स्थानीय सरकार र कृषि उपज बजार केन्द्रले बनाइदिएको छ ।

सल्यानको प्रमुख व्यापारिक केन्द्र कपुरकोटबाट तीन महिनाको अवधिमा ७ करोडको ताजा तरकारी निकासी भएको छ । कृषि उपज बजार केन्द्र कपुरकोटबाट जेठ २० गतेदेखि साउनसम्म ७ करोड ६५ लाखको ताजा तरकारी निकासी भएको हो ।

बन्दाबन्दीका कारण शुरुमा तरकारी बिक्री नहुँदा किसानमा समस्यामा परे पनि अहिले भने तरकारीले उचित मूल्य पाइरहेको कृषि उपज बजार केन्द्र सञ्चालक समितिका सचिव तिलक शर्माले बताउनुभयो । विगतका वर्षमा भन्दा यो वर्ष किसानले सोचभन्दा राम्रो मूल्य पाएको भएता पनि उत्पादन भने कम रहेको उहा“को भनाइ छ ।

उहाँले भन्नुभयो लामो समयसम्मको बन्दाबन्दीका कारण किसानले समयमै तरकारी उत्पादन गर्न नसक्दा र लगातारको वर्षाका कारण तरकारीमा रोग लाग्दा उत्पादनमा भने केही कमी आएको छ ।

गत वर्ष कपुरकोटबाट मात्रै २६ करोडको तरकारी निकासी भएकोमा यो वर्ष भने १० करोडको मात्र ताजा तरकारी निकासी हुने अनुमान गरिएको शर्माको भनाइ छ । कपुरकोटका अन्य २८ सहायक बजारबाट पनि तरकारी निकासी भइरहेको उहाँले बताउनुभयो । कपुरकोटबाट बुटवल, नेपालगन्ज, धनगढी, महेन्द्रनगर, दाङ तुलसीपुरलगायतका बजारमा जाने गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्