टेलिकमद्वारा एसईईका विद्यार्थीलाई अफर प्याकसहित निःशुल्क सिम



काठमाडौं, (नेस)
नेपाल टेलिकमले यस वर्ष एसईईका विद्यार्थीका लागि विद्यार्थी अफर प्याकसहितको सिम निःशुल्क उपलब्ध गराउने भएको छ । कुनै विद्यार्थीसँग पहिलेदेखि नै नेपाल टेलिकमको सिम छ भने त्यही सिममा अफर उपलब्ध गराउनेसमेत कम्पनीले जनाएको छ ।

नयाँ सिम लिनका लागि विद्यार्थीले एसईई प्रवेश–पत्रको फोटोकपी, एकप्रति फोटो र आफ्नो वा अभिभावकको नागरिकता वा अरु परिचय पत्रको फोटोकपी संलग्न गरी फाराम भर्नुपर्नेछ । सिम लिइसकेपछि अफर प्राप्त गर्नका लागि नयाँ मोबाइल नम्बरबाट एस्ट्रिक १६०० ह्यासमा डायल गरी प्राप्त निर्देशन बमोजिम सिम्बोल नम्बर र जन्म मिति (विक्रम सम्वत) उल्लेख गर्नुपर्दछ ।

नयाँ लिइएका सिमकार्ड एक्टिभ भए पश्चात् उनीहरुलाई स्टुडेन्ट रजिष्ट्रेसन प्याक योजनाअन्तर्गत टेलिकमको नेटवर्कभित्र दैनिक १० मिनेट कुराकानी र ५ वटा एसएमएस गर्न तथा १०० एमबी डाटा प्रयोग गर्न सकिने गरी मासिक ३ हजार एमबी डाटा, ३५० मिनेट टकटाइम र १५० वटा एसएमएसको सुविधा प्राप्त हुनेछ ।

त्यस्तै नयाँ सिममा ५० वा सोभन्दा बढी रकम रिचार्ज गर्दा प्रत्येक रिचार्जमा जुनसुकै समयमा पनि ५०० एमबी डाटा चलाउन, टेलिकमकै नेटवर्कभित्र ५० मिनेट कल र ५० वटा एसएमएस पठाउन सकिने बोनस सुविधासमेत उपलब्ध हुनेछ । यो बोनसवापत पाइएको सुविधा ३ दिनभित्र प्रयोग गरिसक्नुपर्नेछ । हरेकपटक रिचार्ज गरेपश्चात् प्राप्त हुने सो सुविधा एक वर्ष अवधिसम्म उपयोग गर्न सकिनेछ ।

कोभिडका कारण कम्पनीका कार्यालयमा उपस्थित हुन सहज नहुने भएकाले विद्यार्थीले पहिलेदेखि नै प्रयोग गरिरहेको टेलिकमको मोबाइल नम्बरमा विभिन्न प्याक उपलब्ध गराउनेछ । यसका लागि पहिलेदेखि नै प्रयोग गरिरहेको कम्पनीको मोबाइलबाट एस्ट्रिक १६०० ह्यासमा डायल गरी प्राप्त निर्देशन बमोजिम सिम्बोल नम्बर र जन्म मिति उल्लेख गर्नुपर्दछ ।त्यसपछि टेलिकमले प्राप्त सूचनाका आधारमा उक्त सिमलाई विद्यार्थी सिमका रुपमा रजिष्टर गर्दछ । यसरी रजिष्टर भएका सिमकार्डबाट विद्यार्थी रजिष्ट्रेसन प्याक प्राप्त गर्न सक्नेछन् ।

एसईईका विद्यार्थीहरुका लागि कम्पनीले निःशुल्क प्रदान गरेका वा पहिलेदेखि नै प्रयोगमा रही विद्यार्थी सिमका रुपमा रुपान्तरण गरिएका सिमकार्डमा माग बमोजिम स्वतः ई–शिक्षा प्याकेजसमेत उपलब्ध गराउनेछ । यसअघि ई–शिक्षा प्याकेजमा प्रदान गरिएको बिहान ५ बजेदेखि बिहान १० बजेसम्म मात्र प्रयोग गर्न सकिने समयावधिलाई थप गरी अबदेखि विहान ५ बजेदेखि साँझ ५ बजेसम्म प्रयोग गर्न सकिने बनाइएकोछ ।

नयाँ सिम प्राप्त गरेका विद्यार्थीले सिम कार्डमा मेन व्यालेन्सको रुपमा उपलब्ध हुने १० रुपियाँबाट जुनसुकै नेटवर्कमा कल गर्न, एसएमएस पठाउन वा डाटा चलाउन सक्नेछन् भने यो बाहेक ४० मिनेट टक टाइम र २० वटा एसएमएस सहितको सुविधा एक महिनाभित्र नेपाल टेलिकमको नेटवर्कमा प्रयोग गर्न सक्नेछन् । त्यसैगरी सोही अवधिमा ६० एमबी डाटा पनि चलाउन सकिनेछ । यी अफर सहितका सिम हाललाई तीन महिनासम्म उपलब्ध गराउने कम्पनीले जनाएकने छ ।

प्रतिक्रिया दिनुहोस्