शिक्षामा स्तरीयताको प्रश्न



स्कुले विद्यार्थीको फलामे ढोकाको रुपमा हेरिने विगतको एसएलसी र अहिलेको एसईई परीक्षाको गुणस्तरलाई लिएर तर्कहरु उठ्नेगरेका छन् । २०७६–७७ को एसईईको परीक्षाफल प्रकाशित भएपछि यसबारे एक पटक फेरि चर्चा सुरु भएको छ । कोरोना भाइरसको संक्रमणका कारण राष्ट्रिय परीक्षा बोर्डले परीक्षा लिन नसकेपछि स्कुल–स्कुलले पठाएको मूल्याङ्कन अंकका आधारमा परीक्षा बोर्डले नतिजा सार्वजनिक गरेको छ । हरेक वर्ष बोर्डले विद्यार्थीको श्रेणी निर्धारण गर्ने गरेको भएपनि यस पटक भने परीक्षामा सामेल भएको विद्यार्थीको नतिजामात्रै सार्वजनिक गरेको छ ।

शिक्षा मन्त्रालयले कोरोना संक्रमणका कारण परीक्षा लिनसक्ने अवस्था नभएकाले स्कुलले विगतमा लिएको परीक्षालाई आधार मानेर रिजल्ट पठाउन आग्रह गरेको भएपनि सामुदायिकभन्दा पनि निजी स्कुलहरुले लापरबाही ढंगले रिजल्ट पठाएपछि बोर्डले बाध्य भएर श्रेणी नतोकी नतिजा प्रकाशित गरेको छ । आफ्नो विद्यालयको अवस्था राम्रो देखाउने नाममा भएको यस्ता घटनाले उच्च शिक्षा हासिल गर्ने तयारीमा रहेका विद्यार्थीको भविष्यमाथि नै खेलबाड गर्ने काम विद्यालयले गरेको छ ।

यसअघि सामान्य ढंगले चलेका विद्यालयहरुको यस पटकको रिजल्ट हेर्दा कुनै पनि विद्यार्थीले ‘बी प्लस’मा नझरेको देखिन्छ । अघिल्ला वर्षमा ती विद्यालयमा अध्ययनरत विद्यार्थीले ‘सी’सम्म ल्याएकोमा यस पटक भने ‘बी प्लस’ भन्दा तलको रिजल्ट नआउनुले बिद्यालयले कतिसम्म लापर्वाही गरेका छन् भन्ने प्रमाणित हुन्छ । मौकाको फाइदा उठाएर यस पटक निजी विद्यालयले पठाएको रिजल्टले विद्यार्थीको भविष्यमाथि खेलबाड गरेको भन्दै विज्ञहरुले चिन्ता व्यक्त गरेको अभिव्यक्तिहरु सार्वजनिक भएका छन् ।

सामान्य विद्यार्थीको समेत ‘ए’ र ‘ए प्लस’का मार्कसिटहरु अहिले सामाजिक सञ्जालमा छ्यापछ्याप्ती देखिएका छन् । भलै अभिभावकहरुको अहिले खुसीले सीमा नाघेपनि भोलि सोही अनुरुपको नतिजा आफ्ना सन्ततीले ल्याउन सक्छन् कि सक्दैनन् भन्ने विषयमा भने हेक्का राखेको देखिदैन । अहिले सरकारले कोरोना संक्रमणका कारण विद्यार्थी भर्नालाई भदौ १५ गतेसम्म रोक्न आग्रह गरेपनि केही नाम चलेका निजी विद्यालयले भने राम्रो अंक ल्याएका विद्यार्थीको फोन नम्वर खोजेर आफ्नो कलेजमा भर्नाकालागि आग्रह गर्न शुरु गरेका छन् ।

उनीहरुले आकर्षक स्कीम दिएर अहिलेदेखि नै त्यस्ता विद्यार्थी तान्ने प्रतिस्प्रर्धामा लागेको समेत देखिन थालेको छ । सरकारले विद्यालयलाई विगतको परीक्षालाई मूल्याङ्कन गरेर विद्यार्थीको नतिजा पठाउन भनेपनि विद्यालयले लिएको परीक्षाको कपी नमगाउँदा जथाभावी रुपमा नम्वर हालेर पठाउन निजी विद्यालयहरु सफल भएको देखिन्छ ।

शिक्षा क्षेत्रमा देखिएका यस्ता खाले वेथिति अन्त्यका लागि राज्य निर्मम हुनैपर्दछ । होइन भने अहिले संसारभर देखिएको कोरोना संक्रमण छिट्टै अन्त्य हुने अवस्थामा नरहेकाले पनि आगामी दिनमा हुने परीक्षामा समेत यस्ता लापर्वाही देखिने छन् । यसतर्फ नियामक निकाय चनाखो हुनैपर्दछ । यस्ता खाले विकृतिमा संलग्नहरुमाथि कडा कारवाही गर्नसक्ने हिम्मत राज्यले राख्न सक्नुपर्दछ । शिक्षा नै राज्य निर्माणको आधार भएका कारण शैक्षिक क्षेत्रलाई लापर्बाह छोड्दा योग्य नागरिकको उत्पादन हुनसक्दैन । जुन मुलुक नागरिक नै अयोग्य हुन्छन्, त्यसको भविष्य कसरी उज्ज्वल हुनसक्छ ?

प्रतिक्रिया दिनुहोस्