छोरी जन्माउने आमालाई भत्ता



विनोदसिंह विष्ट, बैतडी
बैतडीको दोगडाकेदार गाउँपालिकाले गत आर्थिक वर्षमा छोरी जन्माउने २ सय १३ आमालाई प्रोत्साहन भत्ता वितरण गरेको छ ।

स्वास्थ्य संस्थामै छोरी जन्माएका ती आमालाई १ हजार रुपियाँका दरले प्रोत्साहन भत्ता दिइएको दोगडाकेदार गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नरेन्द्र नाथले जानाउनुभयो । स्वास्थ्य संस्थामै छोरी जन्माएका आमा र शिशुको पोषण अवस्था सुधारका लागि उक्त रकम दिने गरेको उहाँले बताउनुभयो ।

छोरी पनि छोरा समान हुन् भन्ने सन्देश दिन र समाजमा छोरा–छोरी बीचको समानता कायम गर्नका लागि छोरी जन्माउने आमालाई प्रोत्साहन भत्ता दिन थालिएको दोगडाकेदार गाउँपालिकाका उपाध्यक्ष पार्वती कार्कीको भनाइ छ । छोरीले पनि छोरासरह नै काम गर्न सक्छन् भन्ने बुझाउन र समाजले उनीहरूलाई समान दृष्टिकोणले हेर्ने चेतनाको विकासका लागि प्रोत्साहन भत्ताको व्यवस्था गरिएको उपाध्यक्ष कार्कीको धारणा छ ।

नेपाल सरकारले संस्थागत सुत्केरी भए यातायताबापत दिने २ हजार र चारपटक गर्भ जाँच गराएबापत पाउने ८ सय दिँदै आएकोमा गाउँपालिकाले स्वास्थ्य संस्थामा छोरी जन्माउने आमालाई थप १ हजार प्रोत्साहन भत्ता दिएको हो ।

छोरा जन्मँदा मात्रै खुसी हुने हाम्रो समाजका लागि गाउँपालिकाले दिएको प्रोत्साहन भत्ताले छोराछोरी बीच हुने भेदभावमा कमी आउने विश्वास गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्