नेप्सेमा सामान्य करेक्सन



नेपाल समाचारपत्र, काठमाडौं
लगातार दुई दिन दोहोरो अंकले वृद्धि भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक मंगलबार भने ओरालो लागेको छ । यस दिन नेप्से ६ दशमलव ६१ अंकले घटेर १४२३ दशमलव ८१ बिन्दुमा झरेको छ ।
कुल १९० वटा कम्पनीको ३६ लाख ३० हजार ८४५ कित्ता शेयर १ अर्ब २७ करोड १७ लाख रुपियाँभन्दा बढीमा किनबेच भएको दिन सेन्सेटिभ परिसूचक पनि १ दशमलव ३८ अंकले घटेर २९७ दशकलव २७ बिन्दुमा झरेको छ । मंगलबार कारोबार भएका १२ समूहमध्ये सामूहिक लागनी कोष समूहको परिसूचकमात्रै बढेको छ । सामूहिक लगानी कोष समूहको परिसूचक शून्य दशमलव शून्य २ अंकले बढ्दा बैंकिङ समूहको परिसूचक ६ दशमलव ५४, व्यापार समूहको परिसूचक १९ दशमलव २७, होटल समूहको परिसूचक ४३ दशमलव २३, विकास बैंक समूहको परिसूचक ९ दशमलव ४२ अंकले घटेका छन् ।
त्यस्तै जलविद्युत् समूहको परिसूचक १ दशमलव शून्य ४, वित्त समूहको परिसूचक शून्य दशमलव ६, निर्जीवन बीमा समूहको परिसूचक ३ दशमलव २१, उत्पादन समूहको परिसूचक १६ दशमलव ९९, अन्य समूहको परिसूचक शून्य दशमलव ५७, लघुवित्त समूहको परिसूचक २१ दशमलव ५८ र जीवन बीमा समूहको परिसूचक २३ दशमलव १४ अंकले घटेका छन् ।
मंगलबार पनि कारोबार रकमका आधारमा नेपाल पुनर्बीमा कम्पनी अगाडि रहेको छ । सो कम्पनीको मात्रै १२ करोड १६ लाख रुपियाँभन्दा बढीको शेयर कारोबार भएको छ । समग्र नेप्से परिसूचक घटे पनि सबैभन्दा बढी अजोड इन्स्योरेन्स कम्पनीका लागनीकर्ताले कमाएका छन् । यस कम्पनीको शेयर मूल्य ९ दशमलव ९४ प्रतिशतले बढेको छ । यस्तै साधना लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य ९ दशमलव ८१, युनियन हाइड्रोपावरको शेयर मूल्य ८ दशमलव ७७ प्रतिशतले वृद्धि भएको छ । तर, नेपाल फाइनान्सका लगाीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको शेयर मूल्य ९ दशमलव ८ प्रतिशतले घटेको छ । साथै कालिका माइक्रोक्रेडिट डेभलपमेन्ट बैंकको शेयर मूल्य ५ दशमलव ४६, गुराँस लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य ५ दशमलव ४५ प्रतिशतले गिरावट आएको छ ।

सकभर नेप्सेमा नआउन आग्रह
कोरोना संक्रमण बढ्दै गएपछि नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले अनलाइनबाट काम गर्न आग्रह गरेको छ । नेप्सेले मंगलबार विज्ञप्ति जारी गर्दै ब्रोकरहरूलाई नेप्सेसँग सम्बन्धित काम अनलाइनका माध्यमबाट गर्न आग्रह गरेको हो ।
ब्रोकरहरूले नेप्सेमा पेश गर्नुपर्ने कागजात इमेलमार्फत पठाउन आग्रह गरेको छ । नेप्सेले बैंक ग्यारेन्टी इमेलमार्फत् जानकारी गराउन भनेको छ भने संस्थापक शेयरको कारोबारका बारेमा सम्पूर्ण कागजात संकलन गरेपछि मात्र नेप्सेमा पेश गर्न पनि आग्रह गरेको छ । त्यस्तै सूचीकृत कम्पनीले सूचीकरण नवीकरण वार्षिक शुल्क विद्युतीय माध्यमबाट भुक्तानी गर्न त्यसको जानकारी नेप्से गराउन भनेको छ ।

यसैगरी लगानीकर्तालाई अनलाइनमार्फत कारोबार गर्न प्रोत्सहान गराउन तथा ब्रोकरहरुले कार्यालय सञ्चालन गर्दा सरकार तथा विश्व स्वास्थ्य संगठनले कोरोना महामरी नियन्त्रणको लागि अपनाउनुपर्ने सावधानी भौतिक दूरी कायम गर्ने, माक्स लगाउने, ज्वरो नाप्ने, सनिटाइजर प्रयोग गर्ने जस्ता मापदण्ड कडाईका साथ पालना गर्न पनि भनेको छ ।

प्रतिक्रिया दिनुहोस्