होटल, रेष्टुरेन्टमा बसेर खानपिन गर्न रोक



नेपाल समाचारपत्र, काठमाडौं

होटल, रेष्टुराँमा बसेर खानपिन गर्न सरकारले रोक लगाएको छ । कोरोना संक्रमण बढदै गएपछि सरकारले होटल र रेष्टुराँमा बसेर खानपिन गर्न रोक लगाउने निर्णय गरेको हो ।
होटल, रेष्टुराँमा बसेर खान नपाइने तर खाना बनाउन र लिएर जान भने पाइने गरी ‘टेक अ वे’ व्यवस्था लागू गरिएको छ । अबदेखि होटल, रेष्टुराँमा ग्राहक बसेर खानपिन नगरी प्याकिङ लिएर जान पाउनेछन् । मन्त्रिपरिषदको सोमबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । सरकारका प्रवक्ता डा. युवराज खतिवडाले होटल तथा रेष्टुराँबाट कोरोना संक्रमणको जोखिम बढेको भन्दै अब ‘टेक अ वे’ लागू गरिएको जानकारी दिनुभयो । लकडाउन खुकुलो भएपछि होटल, रेष्टुराँमा भीडभाड बढ्न गएको थियो । विभिन्न बहानामा मानिसको जमघट बढ्दै गएपछि जोखिम देखिएको थियो ।
यसैगरी साइकल, ठेलागाडालगायत फुटपाथको व्यापार व्यवसायलाई पनि सरकारले रोक लगाएको छ । साइकल, ठेलागाडाबाट हुने फलफूल, तरकारीलगायतका अन्य व्यवसाय गर्दा कोरोनाको संक्रमण समुदायस्तरसम्म फैलिन सक्ने जोखिम बढेको भन्दै सरकारले यस्तो कारोबारमा रोक लगाएको हो ।
काठमाडौं उपत्यका नगरपालिका फोरमको आग्रहपछि सरकारले साइकल, ठेलागाडा व्यवसायलाई तत्कालका लागि रोक लगाएको छ । साइकल, ठेलागाडाबाट टोल–टोलमा गएर फलफूल, तरकारी, भाँडा, कपडा बिक्री गर्ने क्रममा संक्रमण फैलिन सक्ने भन्दै फोरमले यस्तो व्यापार व्यवसायलाई रोक लगाउन आग्रह गरेको थियो । सरकारको निर्णयपछि स्ट्रि फूड र ठूला रेष्टुरेन्टलाई असर गरे पनि डेलिभरी सिस्टममा आधारित होटल रेष्टुरेन्टलाई खासै ठूलो असर नगर्ने व्यवसायीहरू बताउ“छन् ।

प्रतिक्रिया दिनुहोस्