सुनको कारोबारमा झिनो सुधार



समाचारपत्र, काठमाडौं । लकडाउन र उच्च मूल्यका कारण सुनको कारोबार ठप्पजस्तै रहेका बेला पछिल्ला केही दिनमा सामान्य वृद्धि भएको व्यवसायीहरूले बताएका छन् । महिलाको चाड तीज नजिकिँदै गएपछि सुनको कारोबारमा सामान्य वृद्धि भएको हो ।
विगतका वर्षमा यतिबेला सुनको सिजन हुने गरे पनि कारोनाको कहर तथा उच्च मूल्यका कारण कारोबारमा मन्दी आएको थियो । कारोबारमा मन्दी आएकै कारण बैंकहरूले नयाँ सुन मगाउन छोडेका थिए । व्यवसायीहरू पनि पुरानो सुनबाट काम चलाउँदै आएका थिए । ग्राहकले बिक्री गर्न ल्याएका पुराना गहनाबाट आवश्यकता पूर्ति हु“दै आएको अहिले थोरै काँचो सुन किन्नु परेको व्यवसायीहरूले बताए । पछिल्लो दुई सातायतादेखि सुनको कारोबारमा सामान्य सुधार देखिन्छ । बैंकरहरूका अनुसार अहिले व्यवसायीहरूले दैनिक २÷३ किलो काँचो सुन खरिद गर्ने गरेका छन् । विगतका वर्षमा यतिबेला दैनिक ३० किलोभन्दा बढी सुनको आवश्यकता पथ्र्यो । विगतको जस्तो कारोबार नभए पनि शून्य रहेको व्यवसायमा थोरै भिल्को देखा परेको छ । एक व्यवसायीले नेपाल समाचारपत्रसँग बताए ।
यसैबीच तोलाको लाख रुपियाँभन्दा बढी पुगेको सुनको मूल्यमा सामान्य गिरावट आउन थालेको छ । सोमबार छापावाला सुनको मूल्य प्रतितोला २ सय रुपियाँले घटे प्रतितोला एक लाख दुई हजार ४ सय रुपियाँमा कारोबार भएकोे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजावी सुनको मूल्य प्रतितोला एक लाख एक हजार ९ सय रुपियाँमा कारोबार भएको छ । यस्तै चाँदीको मूल्य पनि प्रतितोला १५ रुपियाँले घटेर एक हजार ३९५ रुपियाँमा कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्