२०८५ सालसम्म १५ हजार मेगावाट जलविद्युत् पुर्याउन जोड



काठमाडौं । कोभिड–१९ को महामारी र लकडाउनको अवधिमा पनि ऊर्जा, जलस्रोत तथा सिँचाइका क्षेत्रमा उल्लेख्य काम भएको ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनको भनाइ छ । मन्त्रालयको तेस्रो चौमासिक र वार्षिक समीक्षा तथा विकास समस्या समाधान समिति बैठकमा आइतबार बोल्दै मन्त्री पुनले सो कुरा बताउनुभएको हो ।

उहाँले ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोशीसहित ठूला जलविद्युत् आयोजना र भेरी–बबई डाइभर्सन तथा सिक्टा सिँचाइ आयोजनाका काम निरन्तर भएको बताउनुभयो । आफ्नै प्रस्तावमा मन्त्रिपरिषद्ले जलविद्युत्सहित ठूला पूर्वाधार आयोजनाका कामलाई अत्यावश्यकमा राखेर निर्माण कार्य अगाडि बढाएको मन्त्री पुनको दाबी छ ।

आर्थिक वर्ष २०७६/०७७ मा मन्त्रालयको वित्तीय प्रगति ७२ दशमलव ९१ प्रतिशत तथा भैतिक प्रगति ७४ दशमलव ३२ प्रतिशत भएको उल्लेख गर्र्र्दै उहाँले चुनौतीपूर्ण अवस्थामा पनि यो तहको कार्य प्रगति हुनु सकारात्मक रहेको बताउनुभयो ।

उहाँले असामान्य अवस्थामा देखाएको स्पिरिटलाई सामान्य अवस्थामा कायम राख्दै चालू आर्थिक वर्षमा थप राम्रो काम गर्न मन्त्रालयका अधिकारीसहित विभिन्न आयोजना, कम्पनी र विभागीय प्रमुखलाई निर्देशनसमेत दिनुभयो ।

प्रदेश २, ३, गण्डकी र प्रदेश–५ यसै आर्थिक वर्षमा र कर्णाली र सुदूरपश्चिम प्रदेशमा आगामी आर्थिक वर्षभित्र र प्रदेश–१ मा आगामी दुई वर्षभित्र पूर्ण विद्युतीकरण गरिसक्ने गरी मन्त्रालयले काम गरिरहेको बताउनुभयो ।

मन्त्री पुनले कुनै पनि बहानामा विकास आयोजनाका काम रोक्न नहुनेमा जोड दिँदै व्यवहारिक, कानुनी, नीतिगत वा जनस्तरबाट आउने समस्याका कारण आयोजनाका काम रोकिए तत्काल आफूलाई जानकारी गराउन निर्देशन दिनुभयो।

आर्थिक वर्ष २०७५ देखि २०८५ सम्मलाई ऊर्जा दशक घोषणा गरिएको स्मरण गर्दै उहाँले उक्त अवधिमा जसरी पनि नेपालको कुल जलविद्युत् उत्पादन क्षमता १५ हजार मेगावाट बनाउनै पर्नेमा जोड दिनुभयो ।

‘१० वर्षमा १५ हजार बिजुली उत्पादन हुनैपर्छ । नीतिगत रुपमा के सुधार गर्नुपर्ने हो । कसरी लगानी आकर्षित गर्ने हो । लगानीकर्तालाई कसरी राहत दिने हो । त्यो प्रस्ताव ल्याउनुस, म सहजीकरण गर्न तयार छु । जसरी पनि काम हुनुपर्छ । मन्त्री पुनको भनाइ थियो ।

संसारका ठूला अर्थतन्त्र भएका मुलुकको अर्थतन्त्रसमेत ऋणात्मक अवस्थामा पुगेका बेला नेपालको अर्थतन्त्रमा थोरै भए पनि वृद्धि हुनु धेरै सकारात्मक पक्ष रहेको उहाँको भनाइ छ । मन्त्री पुनले कोभिड–१९ महामारीमा आर्थिक वृद्धि हासिल गर्ने संसारका १८ मुलुकमध्ये नेपाल पनि एक भएको चर्चा गर्नुभयो ।

 

प्रतिक्रिया दिनुहोस्