काठमाडौं, (नेस)
युएस बंगला एयरलाइन्सको विमान दुर्घटनामा मृत्यु भएका नेपाली विद्यार्थीका परिवारले क्षतिपूर्ति दाबी गर्दै काठमाडौं जिल्ला अदालतमा दायर गरेको मुद्दाको कारबाही यथास्थितिमा राख्न गरिएको मागलाई सर्वोच्च अदालतले अस्वीकार गरेको छ। विमान कम्पनी र पीडित दुवैतर्फको सुनुवाइपछि सर्वोच्च अदालतले साउन ११ गते अन्तरिम आदेश जारी गर्न नमिल्ने आदेश दिएको हो।
सर्वोच्च अदालतका न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र पुरुषोत्तम भण्डारीको इजालासले अधिकारक्षेत्र र हकदैयाको सम्बन्धमा नियमित अदालतबाट विवेचना गरी निरोपण भएको सन्दर्भमा जिल्ला अदालतमा विचाराधीन मुद्दालाई प्रभाव पर्ने गरी अहिले नै सो मुद्दामा थप काम कारबाही अघि बढाई यथास्थितिमा राख्नु भनी अन्तरिम आदेश जारी गर्नको लागि न्यायोचित र मनासिब आधार विद्यमान नभएको तथा निवेदकलाई अपूरणीय क्षति पुग्ने अवस्था पनि नदेखिएको हुँदा सुविधा सन्तुलनको दृष्टिकोणबाट समेत निवेदकको माग बमोजिम अन्तरिम आदेश जारी गर्न मिलेन भनी आदेश गरेको हो।
सन् २०१८ मार्च १२ तारिखमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको उक्त दुर्घटनाका पीडितलाई नेपालमा मुद्दा गर्न अधिकार क्षेत्र समेत नभएको भन्दै बन्दाबन्दीको अवधिमै विमान कम्पनी एवम् बीमा र पूनर्बीमा कम्पनीसमेत सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।
युएस बंगला एयरलाइन्स र सोको चालकको लापरबाहीबाट दुर्घटना भई उक्त विमानमा सवार नेपाली नागरिकको मृत्यु भएको सम्बन्धमा सात जना पीडितका आमाबाबुले दायर गरेको क्षतिपूर्तिसम्बन्धी मुद्दाको न्याय निरुपण गर्न नेपालमै अधिकार क्षेत्र कायम हुने भनी काठमाडौं जिल्ला अदालतले २०७६ मंसिर १९ गते गरेको आदेश उच्च अदालत पाटनले गत २०७६ फागुन २३ गते सदर गरेको थियो ।














प्रतिक्रिया