रोपेको एक सातामै धानका गाभा कुहिए



नेपाल समाचारपत्र, पर्वत
धान उत्पादनको पकेट क्षेत्र मानिने बिहादीमा गाभा कुहिने रोग लागेपछि धान किसान चिन्तित भएका छन् । धान रोपेको एक सातामै गाभा कुहिन थालेको छ ।

बिहादी गाउँपालिकाका पिलुवा टिमुरे, लिमसिङमा सयौं रोपानीमा लगाएको धान खेतीमा किराको प्रकोप बढेको छ । उन्नत जातको धानमा यस्तो समस्या देखिएको किसानको भनाइ छ । किसानले रोपेको ६४४४ हाईब्रिड जातको धानमा हिस्पा नामक खपटे किराले गाभा खाइदिने गरेको छ । गाभा नै खाइदिएपछि गाभा कुहिएको जानकारी किसानले दिएका छन् ।

राम्रो उत्पादन दिने भन्दै लगाएको धानमा रोपेको एक सातामै किरा लागेर धानको गाभा कुहिने र मर्ने समस्या देखा परेको स्थानीय कृषक ऋषिराम भुसालले बताउनुभयो । यस वर्ष मकैमा फौजी किरा र सलहलगायतको प्रकोप भइरहेका बेला भर्खर रोपेको धानमा समेत हिप्सा किरा देखा परेपछि समाधानको उचित उपायको खोजी गरेको भुसालले बताउनुभयो ।

अहिले बिहादी मात्र नभई पैयुँका विभिन्न फाँटमा समेत रोगको फैलावट भएको कारण धेरै उत्पादन हुने जिल्लाको उत्पादक क्षेत्रका किसान मर्कामा परेका हुन् । धान पकेट क्षेत्रसमेत रहेको यस क्षेत्रमा धानमा देखिएको समस्याको समाधानको लागि दक्ष प्राविधिकको समेत अभाव हुँदा समस्या समाधान नभएको हो ।

गाउँपालिकाका अध्यक्ष कमलप्रसाद भुसालले गाउँपालिकामा धान रोप्ने क्रम जारी रहेको अवस्थामै किराको प्रकोप बढेका कारण निरास हुनु परेको बताउनुभयो । किसान उन्नत जातमा अग्रसर भई राख्दा रोग र किराको प्रकोप बढन थालेपछि अहिले सयौं किसान निराश हुनुपर्ने अवस्था आएको भुसालले बताउनुभयो । गाउँपालिकामा दक्ष कृषि प्राविधिकको अभाव कारण पनि समस्या समाधान हुन नसकेको गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्