आफन्तबाटै बलात्कारका घटना बढ्दै



नेपाल समाचार पत्र, डडेल्धुरा

डडेल्धुरा जिल्लाको भागेश्वर गाउँपालिका–४ सुटिल गाउँमा गत फागुनदेखि १५ वर्षीया किशोरी आफन्तबाटै पटक–पटक बलात्कृत भइन् । दिउँसो गाईबाख्रा चराउन जंगल जाने गरेकी उनी हजुरबुबा र काका नाता पर्ने दुई जना आफन्तबाट निरन्तर बलात्कृत हुन थालेकी हुन् ।

सुस्त मनस्थितिकी ती किशोरीलाई चाउचाउ र चुइङ्गम दिएर ललाईफकाई गत फागुनदेखि आफन्तले बलात्कार गरिरहेको घटना किशोरीको महिनावारी रोकिएपछि सार्वजनिक भएको हो । नियमितरूपमा बलात्कृत किशोरीको स्वास्थ्य चेकजाँच गराउँदा चार महिनाको गर्भ रहेको परिवारजनले थाहा पाएपछि ती बालिकामाथि बलात्कार भएको घटना बाहिर आएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी प्रमुख डीएसपी दधिराम न्यौपानेले जानकारी दिनुभयो ।

आरोपित दुवै जनाविरुद्ध गत शुक्रबार जिल्ला प्रहरी कार्यालयमा पीडित बालिकाका आफन्तले उजुरी दर्ता गराएपछि आरोपीमध्ये एक जनालाई सोही दिन र अर्कालाई शनिबार प्रहरीले पक्राउ गरेको छ । दुवै अभियुक्तलाई पक्राउ गरेपछि जिल्ला अदालत डडेल्धुराबाट १० दिनको म्याद थप गरेर घटनाबारे सूक्ष्म अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

त्यस्तै, घरमा श्रीमती हुँदाहुँदै छोरीलाई बलात्कार गरेको आरोपमा परशुराम नगरपालिका–१ का एक जना सोमबार पक्राउ परेका छन् । उनले घरमा कोही नभएको मौका छोपी १३ वर्षीया छोरीलाई पटक–पटक बलात्कार गरेको घटना सार्वजनिक भएको छ । पीडित छोरीले बुबाले बलात्कार गर्ने गरेको बताएपछि आमाले छोरी बलात्कृत भएको जाहेरी प्रहरीलाई दिएकी हुन् ।

त्यसै गरी, परशुराम नगरपालिका–९ का १८ वर्षीय भीमबहादुर बोहराले गत असारमा स्थानीय १८ वर्षीया युवतीलाई जबर्जस्ती करणी गर्ने प्रयास गरे । युवतीले दिएको जाहेरीका आधारमा प्रहरीले उनलाई पक्राउ गरेर मुद्दा दर्ता गरिसकेको छ ।

घरमा कोही नभएको मौका पारेर जिल्लाको गन्यापधुरा गाउँपालिकाका एक व्यक्तिले आफ्नै १६ वर्षीया छोरीलाई गत माघमा जबर्जस्ती करणी गरेको घटना पनि बाहिर आएको थियो । पीडितले प्रहरीमा जाहेरी दिएपछि उनले ६ महिनादेखि डरधम्की देखाएर पटक–पटक जबर्जस्ती करणी गरेको खुलेको छ ।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराको तथ्यांकअनुसार डडेल्धुरामा बलात्कारका घटना बढ्दै गएका छन् । आर्थिक वर्ष ०७४÷७५ देखि ०७७÷७८ सम्मको अपराध तालिकाअनुसार महिला हिंसा तथा जबर्जस्ती करणी र बलात्कार प्रयासका घटना बढेको देखिन्छ । २०७७ को हालसम्म जबर्जस्ती करणी र करणी उद्योगमा २४ मुद्दा चलाइएको डडेल्धुरा प्रहरीको तथ्यांक छ ।

तथ्यांकअनुसार आर्थिक वर्ष ०७४÷७५ मा जबर्जस्ती करणी र करणी उद्योगका तीनवटा मुद्दा चलाइएको छ । आव ०७५÷७६ मा सातवटा मुद्दा चलाइएको छ भने ०७५÷७६ मा १२ वटा मुद्दा चलाइएको छ । यस्तै, आव ०७७÷७८ को हालसम्म दुई मुद्दा चलाइएको छ ।

बलात्कारमा संलग्न व्यक्तिहरू पीडितका आफन्त नै हुने गरेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराको अपराध अनुसन्धान शाखाका प्रहरी निरीक्षक वीरेन्द्र बोहराले बताउनुभयो ।

आफन्तबाटै किशोरीहरु बलात्कृत हुने घटना बढदै गएकाले समाजमा यौन व्यवहारसम्बन्धी जनचेतना बढाउन र दोषीलाई कडा कारबाही गर्न आवश्यक रहेको स्थानीय अधिकारकर्मी कमला विष्ट बताउनुहुन्छ ।

जिल्लाका विभिन्न ठाउँमा महिला तथा बालबालिकामाथि हुने यौनजन्य हिंसा, बलात्कार र जबर्जस्ती करणीविरुद्धका घटना कम गर्न सातवटै स्थानीय तहसँगको सहकार्यमा जिल्ला प्रहरी कार्यालयले जनचेतनामूलक अभियान चलाए पनि यसमा कमी आएको छैन ।

प्रतिक्रिया दिनुहोस्