कारबाही फिर्ता नगरिए आन्दोलन



नेपाल समाचारपत्र, डोटी
पुख्यौँंली घर डोटीको आदर्श गाउँपालिका भएका नेपाली कांग्रेस कैलालीका नेता तथा पूर्वराज्यमन्त्री पुष्करनाथ ओझालाई पार्टीबाट निष्कासित गरेको प्रति जिल्लाका कांग्रेस नेताहरू रुष्ट भएका छन् ।

ओझालाई बिनाकारण पार्टीबाट निष्कासित गरेको भन्दै कांग्रेस नेताहरू आक्रोशित भएका हुन् । नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिले गएको शनिबार पूर्व राज्यमन्त्री पुष्करनाथ ओझालाई बिनाकारण पार्टीबाट निष्कासित गरेको भन्दै ओझालाई गरिएको कारबाही फिर्ता नगरिए पार्टी शीर्षस्थ नेताविरुद्ध कडा आन्दोन गर्ने नेताहरूले चेतावनी दिएका छन् ।

नेताहरूले कांग्रेस सभापति देउवा पत्नी आरजु राणा देउवालाई धनगढीमा स्थापित गराउन पुष्करनाथ ओझालाई कारबाही स्वरूप पार्टीबाट निष्काशन गरेको गरेको भन्दै अनुशासन विभागको निर्णय नमान्ने चेतावनी दिँदै आएका छन् ।

विसं २०७४ मङ्सिरमा समपन्न प्रतिनिधि सभा सदस्यको निर्वाचनमा कांग्रेस सभापति देउवा पत्नी आरजु देउवालाई हराउन भूमिका खेलेको भन्दै अनुशासन समितिले ओझालाई ५ वर्षसम्म पार्टीबाट निष्कासन गर्ने निर्णय गरेपछि नेताहरु आक्रोशित भएको दिपायल सिलगढी नगरपालिकाका पूर्वनगर प्रमुख तथा कांग्रेस नेता घनश्याम पठाकले बताउनुभयो । ‘अनुशासन समितिले गरेको निर्णय साह्रै गलत र दुःखद छ, पार्टीको हित चाहने हो भने तत्काल निर्णय सच्याउनुपर्छ ।’ –उहाँको कथन छ ।

‘बिनाकारण कसैलाई राजनीतिबाट पन्छाउनका लागि गरिएको निर्णय समग्ररूपमा मान्य हुँदैन, राजनैतिक जीवन सक्नका लागि गरिएको निर्णय कुनै पनि हालतमा स्वीकारिँदैन ।’ –पूर्वडोटी जिल्ला पार्टी सभापति तथा सांसद यज्ञराज पाठकले बताउनुभयो । कांग्रेस पार्टी सभापति शेरबहादुर देउवाले पत्नी आरजु राणा देउवालाई धनगढीमा स्थापित गर्ने उद्देश्यले ओझालाई कारबाही गरीएको कांग्रेस डोटीका पूर्वपार्टी सचिव पदमबहादुर रावतले आरोप छ ।

विसं २०७० सालको उपनिर्वाचनमा कैलालीबाट विजयी हुनुभएका ओझा त्यसपछि विसं २०७४ सालको निर्वाचनमा कैलाली क्षेत्र नं ५ बाट शेरबहादुर देउवाले पत्नी आर्जुलाई टिकट दिएपछि रुष्ट हुनुभएको थियो । ओझासहितका अन्य नेतालाई पार्टीले गरेको कारबाही तत्काल फिर्ता नलिए पार्टीमा झन इगो थपिँदै जाने र पार्टी नै धराशयी हुने कतिपय नेताको बुझाइ छ ।

प्रतिक्रिया दिनुहोस्