बाढी–पहिरोले ल्याएको संकट: सयौं घर डुबानमा, लाखौं रोपनीका धानबाली नष्ट, एक घाइते



इन्द्र गिरी, संखुवासभा
संखुवासभामा सयौं घर डुबानमा परेका छन् । बाढी–पहिरोले लाखौं रोपनीमा लगाएको धानबालीसमेत बगाएको छ भने पहिरोमा परी १ जना घाइते भएका छन् ।

सोमबार रातिदेखि परेको अविरल वर्षाका कारण घर तथा अन्नबालीमा क्षति पु¥याएको प्रहरीले जनाएको छ । अविरल वर्षाका कारण गएको पहिरोले खाँदबारी–६ का शान्तिकुमार खत्रीको घर पुरेको छ । घरसँगै पहिरोले पुरिएका खत्रीलाई सेना र प्रहरीले उद्धार गरेका थिए ।

टाउको, खुटा र हातमा चोट लागी गम्भीर घाइते खत्रीको खाँदबारी अस्पतालमा उपचार भइरहेको प्रहरी नायव उपक्ष्ीाक नवराज मल्लले बताउनुभयो । त्यस्तै पहिरोले खाँदबारी ३ का गीता दर्जी, नारायण बुढाथोकी र खाँदबारी–९ का वीरसुन्दर श्रेष्ठको घर पुरेको छ । घरमा क्षति पुगे पनि मानवीय क्षति नभएको बताइएको छ ।

त्यसै गरी खाँदबारी–९ तुम्लिङटारमा डुबान हुँदा विनोद बाह्रकोटी, कृष्ण श्रेष्ठ र शमशेर मगरको घर भत्किएको छ । डुबानले तुम्लिङटारमा रहेका १ सयभन्दा बढी घरमा पानी पसेपछि क्षति पुयाएको स्थानीय रविन गौतमले बताउनुभयो । भरखरै रोपेको धानबाली भलबाढीले बगाएर बगरजस्तै बनाएको खाँदबारी–३ का ईश्वर घिमिरे बताउनुहुन्छ । उहाँले जथाभावी सडक खनिएकाले अन्नबालीसँगै खेतसमेत बगाएको दुखेसो गर्नुभयो ।

अविरल वर्षाका कारण सिलिचोङ गाउँपालिकाको बेसिन्दा गाउँमा १५ दिनअघि गएको पहिरोले ९ घर बगाएको थियो भने ११ जना पहिरोमा परी अझै बेपत्ता छन् ।

 

प्रतिक्रिया दिनुहोस्