निर्माण व्यवसायीद्वारा अध्यक्षमाथि कुटपिट



सुभेन्द्र दास, लहान
निर्माण व्यवसायीले सिराहाको धनगढीमाई नगरपालिका–१२ नेवार टोल मुसहर बस्तीको उपभोक्ता समितिका अध्यक्ष राजकुमार सदालाई कुटपिट गरेका छन् । उपभोक्ता समितिका पदाधिकारीलाई झुक्याएर पैसा निकास गरेको विषयमा सोधपुछ गर्दा घर निर्माणका लागि सामान तथा मजदुरको आपूर्ति गरिरहेका धनगढीमाई नगरपालिका–१३ भोर्लेनीका हरि मैनालीले अध्यक्ष सदामाथि कुटपिट गरेका हुन् ।
‘खाली चेकमा सही गराएर किन रकम झिक्नुभएको, उपभोक्ताहरूलाई जवाफ दिन गाउँमा हिँड्नुस् भनेको थिएँ, मुसहर भएर मेरै घरमा आएर धम्क्याउने भन्दै उनी र उनको छोराले ममाथि कुटपिट गरे ।’ –अध्यक्ष सदाले भन्नुभयो ।
‘११ असारमा मैनालीको स्वामित्वमा रहेको त्रिदेव ट्रेड एन्ड पोल्ट्री सप्लायर्सको नाममा २४ लाख ४३ हजार ३ सय १५ रुपियाँ सिभिल बैंकको चेक काटिएको थियो । हस्ताक्षर नमिल्ला भनेर दुईवटा खाली चेकमा पनि हस्ताक्षर गरेर मैनालीले लगे ।’ –उपभोक्ता समिति कोषाध्यक्ष मसिनी सदा उनले बताइन् । ‘पहिलेको चेक रद्ध भयो भनेर फेरि ८ साउनमा अर्को चेक मैनालीले मागे’, कोषाध्यक्ष मसिनी सदा भन्छिन्– ‘पुरानो चेकबुकमा बाँकी रहेको एउटा मात्र चेक सही गराएर दिएँ । फेरि बिग्रेला भन्दै पुनः अर्को चेकका लागि आफैं बैंकमा गएर नयाँ चेकबुक ल्याई एउटा खाली चेकमा सही गराएर लगेका थिए । बैंकमा गएर बुझ्दा त्यही चेकबाट १९ लाख ५६ हजार ५ सय ५९ रुपियाँ मैनालीले झिकेका रहेछन् ।’
मैनालीले भने प्राविधिकको मूल्यांकनअनुसार रकम लगेको बताए । ११ असार र ८ साउनमा गरी ४३ लाख ९९ हजार ८ सय ७४ रुपियाँ भुक्तानी लिएको उनको भनाइ छ । ‘मैले निर्माण सामग्री उपलब्ध गराइदिए बापतको रकम समितिले चेक दिएपछि बैंकबाट झिकेको हुँ ।’ –उनले भने ।
वडाध्यक्ष श्रेष्ठले घर निर्माणका लागि मैनालीले सामग्री आपूर्ति गरिदिएको बाहेक कहिले, कसरी, कति रकमको चेक काटियो भन्ने विषयमा गाउँमा हल्ला भएपछि मात्र थाहा पाएको बताए । मुसहर बस्ती निर्माणका लागि तराई–मधेस समृद्धि कार्यक्रमअन्तर्गत ५० लाख रुपियाँमा दुई कोठा, भान्सा, शौचालय, बरन्डासहित जस्ता हालेको आठ घर निर्माण गर्ने उपभोक्ता समितिसँग नगरपालिकाले सम्झौता गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्