दमौली–डुम्रे सडक खण्डमा सवारी प्रवेशमा रोक



मिला दरै, तनहुँ

पृथ्वी राजमार्गअन्तर्गत दमौली–डुम्रे सडक खण्डमा सवारी प्रवेशमा रोक लगाइएको छ । अविरल वर्षापछि भासिएको राजमार्गअन्तर्गत उक्त सडक खण्डमा सवारी प्रवेशमा रोक लगाइएको हो ।

सडक भासिएपछि सवारी आवात–जावात हुन नसकेपछि मर्मतका लागि सवारी प्रवेशमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । डाइभसन राखी सञ्चालन गरिएको सडक पुनः अवरुद्ध भएपछि मर्मतका लागि सवारी प्रवेशमा रोक लगाई मर्मतका काम भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख प्रहरी उपरीक्षक अरुण पौडेलले जानकारी दिनुभयो । अविरल वर्षापछि बन्दीपुर गाउँपालिका–१ नाहालामा सडक भासिँदा बनाइएको वैकल्पिक मार्गमा समेत सवारी फसेर अवरुद्ध भएकाले मर्मत गर्न सवारी प्रवेशमा रोक लगाइएको पौडेलले बताउनुभयो ।

वैकल्पिक मार्गमा सवारीसाधन फसेर पुनः राजमार्ग अवरुद्ध भएपछि ग्राबेल गर्ने कार्य भइरहेकाले सवारी रोक्नुपरेको प्रमुख जिल्ला अधिकारी सागर आचार्यले जानकारी दिनुभयो । बरालका अनुसार सवारीसाधनलाई भने शनिबार पूर्णरूपमा सवारी प्रवेशमा रोक लगाई मर्मत कार्य भइरहेको छ ।

पोखराबाट दमौलीतर्फ आउने सवारीलाई दमौलीमा र विपरीत दिशाबाट गएका सवारीलाई आँबुखैरेनी, डुमे्र क्षेत्रमा रोकिएको उहाँले बताउनुभयो । वैकल्पिक मार्ग मर्मतका लागि सडक डिभिजन कार्यालयका इन्जिनियर, सुरक्षाकर्मीसहितको टोली उक्त स्थानमा पुगेर काम थालेको प्रजिअ आचार्यले बताउनुभयो । सडक अवरुद्ध हुँदा करिब पाँच सय सवारी रोकिएका छन् ।

गत साउन ४ र ५ गते पनि उक्त राजमार्ग अवरुद्ध भएर लामो समयपछि डाइभर्सनमार्फत सुचारु गरिएको थियो । वैकल्पिक मार्गमा ग्राबेल नगरेका कारण हिलो हुँदा सवारीसाधन फसेपछि राजमार्ग अवरुद्ध गरी मर्मत् गर्न लागिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्