किसानलाई बाँदर धपाउने यन्त्र



नेपाल समाचारपत्र, दोलखा

किसानले लगाएको बालिनाली बाँदरले नष्ट गर्न थालेपछि दोलखाका विभिन्न पालिकामा बाँदर धपाउने यन्त्र वितरण गर्न थालिएको छ । किसानको आग्रहकै आधारमा भीमेश्वर नगरपालिकाले बाँदर धपाउने यन्त्र वितरण गरेको हो ।

राष्ट्रिय आविष्कार केन्द्र काठमाडौंबाट खरिद गरी ल्याएको यन्त्र नगरपालिकाको नौवटै वडामा वितरण गरिएको नगरप्रमुख भरत केसीले बताउनुभयो । उक्त यन्त्र पड्काउँदा ठूलो आवाज आउने र त्यसले ध्वनि प्रदूषण गर्ने सम्भावना रहेकाले नगरपालिकाले वडाको जिम्मामा आवश्यकता अनुसार मात्र पड्काउने सर्तमा वितरण गरेको नगरप्रमुख केसीले बताउनुभयो ।

नगरपालिकाले शुरूमा ३० वटा यन्त्र खरिद गरेको र सो यन्त्र वडा नम्बर २, ५ र ९ मा ४–४ वटा तथा बाँकी ६ वटा वडामा ३–३ वटा वितरण गरिएको नायव पशु सेवा प्राविधिक शङ्कर पाठकले बताउनुभयो । ३० वटा यन्त्रले अपुग भएपछि फेरि २० वटा थप गरिएको र त्यसलाई आवश्यकताअनुसार विभिन्न वडामा वितरण गरिएको पाठकले जनाउनुभयो ।

नगरपालिकाले प्रतिगोटा २५ सय रुपियाँमा खरी गरेको उक्त यन्त्रमा बारुद भरेर पट्काउने र त्यसले बाँदर भाग्ने पशुसेवा प्राविधिक पाठकको भनाइ छ । उक्त यन्त्र पड्काउँदा २० वटा बन्दुक पड्काए जति आवाज आउने पाठकले बताए । उक्त यन्त्र पड्काएपछि बाँदर पहिलेको ठाउँबाट भागेर नयाँ ठाउँमा जाने भएकाले केही चुनौती भने देखिएको छ ।

नगरपालिकाले वितरण गरेको बाँदर धपाउने यन्त्र निक्कै प्रभावकारी देखिएको वडा नम्बर ७ मकैबारीका किसान हरिबोल बस्नेत बताउनुहुन्छ ।

त्यसै गरी दोलखाको शैलुङ गाउँपालिका–७ मा रहेको भद्रेश्वर कृषि सहकारी संस्थाले शेयर सदस्यहरूलाई बाँदर भगाउने यन्त्र वितरण गरेको छ । सहकारी संस्थाले २५ सय रुपियाँका दरले खरिद गरेको १० थान बाँदर धपाउने यन्त्र शैलुङ गाउँपालिका–६ मा पर्ने फस्कुका ९ वटा टोल र मेलुङ गाउँपालिका–१ पवटीको सिम्टेमा वितरण गरेको हो ।

त्यस्तै, दोलखाको शैलुङ गाउँपालिका–६ फस्कुले पनि बाँदर धपाउने यन्त्र खरिद गरेको छ । वडाले १० थान बाँदर धपाउने यन्त्र खरिद गरेको वडाध्यक्ष राजु खड्काले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्